arrow

सत्ताधारी तीन दलका प्रमुख बालुवाटारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
deuba-prachanda-nepal-1353.jpg
तस्बिर– फाइल

काठमाडौं । सत्ताधारी तीन दलका प्रमुखहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । 

राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन् । 

प्रधानमन्त्रीले गठबन्धनका नेताहरूसँग यसबारे छलफल गर्ने जानकारी गराएका थिए । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधान अनुसार बनाउने बताइरहेका छन् । 

उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन् । 

एमालेसहित कांग्रेसमै पनि स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने आवाज प्रबल बन्दै गएको छ । 

यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दिउँसो बस्दैछ । देउवाले दिउँसो ३ बजे बोलाएको बैठक भर्चुअल माध्यमबाट बस्नेछ । बैठकमा कार्यसम्पादन समिति गठन सम्बन्धी टुङ्गो लगाइने भनी कार्यसूची रहे पनि राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे पनि छलफल हुने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ