arrow

करोडौंको सरकारी लगानीमा निर्मित भवन व्यक्तिका नाममा, सरोकारवाला मौन 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७८ माघ १६ आइतबार
punarbas-hatbazar-samiti.jpg

कञ्चनपुर । सम्पत्तिको संरक्षण गर्नुपर्ने समितिले नै आर्थिक लाभ लिन सार्वजनिक जग्गामा करोडौं सरकारी लगानीमा निर्मित हाटबजारका भवन यतिबेला व्यक्तिका नाममा कायम हुन पुगेका छन् । सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित कृषि हाटबजारको नाममा रहेको जग्गा तत्कालीन व्यवस्थापन समितिले धमाधम बेच्न शुरु गरेपछि नेपाल सरकारका विभिन्न मन्त्रालय र विभागको करोडौं लगानीमा निर्मित भवनहरु निजी स्वामित्वमा पुगेका हुन् । 

तत्कालीन ग्रामीण आवास कम्पनी लिमिटेडले २०५८ चैत १२ गते पुनर्वास हाटबजार समितिको नाममा १७ कठ्ठा जग्गा नामसारी गरिदिएको थियो । जग्गाको एकल स्वामीत्व पाएको  हर्कबहादुर थापाको अध्यक्षतामा रहेको हाटबजार सञ्चालन समितिले निर्णय गरी जग्गा बेच्न शुरु गरेको पाइएको छ । 

हाटबजार समितिको ऋण तिर्ने नाममा २०५९ देखि हाटबजारको जग्गा बेच्न शुरु गरिएको बुझिएको छ । अध्यक्ष थापाले समितिको बहुमत निर्णयबाट हाटबजारको जग्गा बेच्न कानूनी अड्चन नआए पनि सार्वजनिक सम्पत्तिको दोहन गलत मनसायबाट गरिएको स्थानीयहरुले बताउँदै आएका छन् । 

हाटबजार सञ्चालन समितिको बहुमत निर्णयबाट सार्वजनिक जग्गा बेच्ने कार्य गलत नियत र बेइमानी भएको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङले बताए  । ‘ऋण छ भन्दैमा हाटबजारको जग्गा बेच्नु नै समितिको बेइमानी हो’, उनले भने । 

संस्थाको सम्पत्तिको संरक्षण गर्दै हाटबजारलाई व्यवस्थित गर्नुपर्ने व्यक्तिहरुले जग्गानै बेचेर निजी सम्पत्ति जोड्नु अक्षम्य अपराध भएको स्थानीय मेनुका उप्रेतीले बताइन् । तत्कालीन अध्यक्ष हर्कबहादुर थापाको नेतृत्वको समितिले बेचेको जग्गा पुनः हाटबजारको नाममा स्थापित गराउन सर्वपक्षीय पहल कदमी हुनुपर्ने स्थानीय जीतराज तामाङले बताए । 

बेचिएको जग्गालाई पुनः हाटबजारको स्वामित्वमा ल्याउन शनिबार पुनर्वास नगर स्तरीय सर्वपक्षीय भेलाको आयोजनासमेत गरिएको थियो । भेलाले मेनुका उप्रेतीको अध्यक्षतामा हाटबजार समिति गठन गरेको छ । समितिका अन्य पदहरुमा उपाध्यक्ष जीतराज तामाङ, सचिव हिमाल मल्ल, कोषाध्यक्ष माया खड्का र सदस्यहरुमा राजकुमार श्रेष्ठ, जन्तरा बिष्ट, परी बोहरा, वीरबहादुर तामाङ र रामबहादुर विश्वकर्मालाई चयन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ