arrow

निजी सचिवालयलाई पूर्णता दिँदै प्रधानमन्त्री देउवा, चर्चामा को को ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
sher-bahadur-deuba-pm1.JPG
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि निजी सचिवालयलाई पूर्णता दिने गरी गृहकार्य शुरु गरेका छन् । अहिलेसम्म औपचारिक रूपमा प्रधानमन्त्रीको निजी सचिवालय गठन भइसकेको छैन ।

निजी सचिवालयले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवाका हरेक गतिविधिबारे मिडिया र नागरिक जानकारविहीन बन्न पुगेका छन् । प्रधानमन्त्री देउवाले अहिलेसम्म स्वकीय सचिवमा भानु देउवा, कानूनतर्फ केशवराज जोशी, जनसम्पर्कतर्फ जनार्दन नेपाललाईमात्र औपचारिक रूपमा नियुक्त गरेका थिए । 

सोमबार प्रधानमन्त्री देउवाको सूचना, प्रविधि एवं सञ्चार विज्ञमा इन्जिनियर दिपेश विष्ट नियुक्त भएका छन् । यस्तै, प्रधानमन्त्री देउवाको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेल नियुक्त भएका छन् । देउवाले मंगलबार नुवाकोटका गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेका हुन् ।

अझै प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार नियुक्त हुन बाँकी छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको मिति तोकेपनि निर्वाचन आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै निजी सचिवालयलाई पूर्णता दिन लागेको बुझिएको छ । 

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने मोटामोटी सहमति भइसकेकाले अब बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएको छ ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा।प्रकाशशरण महत र रमेश लेखकको चर्चा छ । तर, कांग्रेस उच्च स्रोतले लेखकलाई पार्टी प्रवक्ता बनाउने तयारी भएकाले डा. महत नै प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुने छन् ।

परराष्ट्र सल्लाहकारमा डा दिनेश भट्टराई नै पुनः दोहोरिने भएका छन् । उनी यसअघि सुशील कोइराला र देउवाको परराष्ट्र सल्लाहकार भइसकेका छन् । पत्रकार गेजा शर्मा वाग्लेले पनि परराष्ट्र सल्लाहकार बन्ने इच्छा व्यक्त गरेका छन् ।

सबैभन्दा बढी चासो भने प्रधानमन्त्रीको प्रेस सल्लाहकार को बन्छ भन्ने देखिएको छ । अहिले प्रधानमन्त्रीको प्रेसको काम पत्रकार गोविन्द परियारले गर्दै आएका छन् । अघिल्लोपटक परियार देउवाको सञ्चार विज्ञ नियुक्त भएका थिए । यसपटक उनले प्रेस सल्लाहकार बन्ने इच्छा राखेका छन् ।

प्रेस सल्लाहकारमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको पनि चर्चा छ । यसपटक देउवा सिग्देललाई कुनै न कुनै भूमिका दिने मनस्थितिमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ