arrow

समुद्रपारि होइन आफ्नै धर्तीमा 'गणेश' खोज्दै छन् मोती

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ माघ २५ मंगलबार
ganesh-raikal.PNG

पुनर्वास , कञ्चनपुर । पैसा कमाउने अभिलाषामा नेपालका शिक्षित युवाहरु कोही सात समुद्र पारी त कोही मुगलान पस्ने होडबाजीका बीच 'गणेश रैकाल' नाम पृथक् रहेको छ । 

कञ्चनपुरको पुनर्वास नगरपालिका ३० वर्षीय 'गणेश रैकाल' न्यु श्री गणेश सिमेन्ट तथा कङ्क्रिट उद्योग सञ्चालन गर्दै पुनर्वासको औद्योगिक विकासमा इँटा थप्ने अभियानमा होमिएका हुन । गाउँमै उत्पादन क्षेत्रमा आफ्नो मन, बैँस र पसिना खर्चिने प्रण लिएका युवा हुन । रोजगारीको अवसर आफ्नै आँगनमा सृजना गर्दै मालिक बन्ने सुनौलो सपना 'गणेश' ले देखेर साकार पार्ने अभियानमा लागेका छन् । 

बिएस्सी उत्तीर्ण युवा हुन । स्नातक तहको पढाइ पूरा गरेपछि अधिकांश युवाहरूको रोजाइ जागिर हुने गरे पनि गणेशले भने अलि फरक बाटो रोजे । केही समय अघि सम्म उनी शिक्षण पेशामा समेत आबद्ध थिए । 

शिक्षा जागिर खाने माध्यम मात्रै नभई जागिर ख्वाउने माध्यम बन्न सक्ने प्रस्ट्याए उनको यो पहलबाट हुन पुगेको छ । यसै माघ महिना देखि सञ्चालनमा आएको गणेशको उद्योगले हाल ४ जना स्थानीय लाई रोजगारी दिएको छ । 

२५ लाखको लगानीमा सञ्चालनमा ल्याइएको उनको उद्योगले घर निर्माणका लागि ब्लक इँटा , खाँबा , घर सजावटका विभिन्न सामाग्री , शौचालय रिङ , आँगन टायल लगायतका सामाग्री उत्पादन गर्दै आएको छ । 

आफ्नो उत्पादनको बजार हाललाई पुनर्वास नगरपालिका स्तरीय रहे पनि भविष्यमा आसपासका क्षेत्रहरूमा बिस्तार गर्ने सोचाइमा गणेश रहेका छन् । उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने दृढ सङ्कल्प बोकेका गणेशले सूक्ष्म सम्भाव्यता अध्ययन गरेर सिमेन्ट कङ्क्रिट उत्पादनमा लागेको बताउँछन् । 

विपन्न समुदायका जुनसुकै मान्छेले पनि नयाँ घर निर्माण गर्न आर्थिक भार खेप्न नपरोस् , सस्तो र थोरै लगानीमा आकर्षक घर निर्माण गर्न सकिने भएकाले सिमेन्ट कङ्क्रिट उद्योगमा आफुले लगानी गरेको गणेशले बताउँछन् । 

धुवाँ , धुलो रहित उद्योग भएकाले वातावरणीय सन्तुलन कायम राख्न समेत आफ्नो उद्योगले भूमिका निर्वाह गर्ने र बलियो , आकर्षक , सस्तो उत्पादन भएका कारण सबै आर्थिक स्तरका मान्छेहरूका लागि सिमेन्ट तथा कङ्क्रिटका उत्पादन रहने युवा उद्यमी 'गणेश' बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ