arrow

लोसपा पनि फुट्दै,  तमलोपा जन्माउने गृहकार्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
mahantha-rajendra.jpg
तस्बिर– फाइल

काठमाडौं । यो साता दुई वटा साना राजनीतिक दल फुट्ने निश्चित भएको छ । राष्ट्रिय  प्रजातन्त्र पार्टी फुटाएर नयाँ पार्टी घोषणा गर्ने तयारी कमल थापाले गरेका छन् । यसैगरी गत भदौ १ गते निर्वाचन आयोगमा दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी पनि फुट्ने भएको छ । 

लोसपा फुटाएर पुरानो तराई मधेस लोकतान्त्रिक पार्टीलाई सक्रिय बनाउन लोसपाका केही शीर्ष नेताहरुले गृहकार्य शुरु गरेका छन् । यसमा अगुवाइ गरिरहेका नेताहरूले फागुनको पहिलो हप्ता संयुक्त रुपमा लोसपाबाट राजीनामा दिने र त्यसको भोलिपल्टै तमलोपा गठन गरेको घोषणा गर्ने तयारीमा जुटेका छन् । 

पूर्व राजपाका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य विर्खेशचन्द्र लाल, पूर्व राजपाका  उपाध्यक्ष विजय सिंह लगायतका नेताहरुको अगुवाइमा तमलोपालाई सक्रिय बनाउने तयारी भएको छ । 

लाल र सिंह दुवै लोसपाका कार्यकार्यकारिणी समितिका सदस्य हुन् । उनीहरुले तमलोपाको विधान, घोषणा पत्र तथा अवधारणापत्र समेत तयार गरेका छन् । 

निर्वाचन आयोगमा कसैले तमलोपा नाम दर्ता गर्न नपाओस् भनेर लालले आफू निकट एक व्यक्तिलाई तमलोपा दर्ता गराउन लगाएका थिए । 


तराई मधेसका जनता तमलोपा र जसपाको व्यवहारबाट दिक्क भइसकेको भन्दै तराई मधेसका जनताले मधेसका मुद्दालाई सम्बोधन गरेर नयाँ पार्टी गठन होस् भन्ने चाहेको लालले बताए । 

फागुनको पहिलो हप्तासम्म आफूले केही नयाँ घोषणा गर्ने पनि उनले जनाए । नयाँ पार्टी घोषणा गर्न अगुवाइ गरिरहेका लोसपाका नेताहरू अहिले लोसपाको पार्टी कार्यालय बबहरमहल जान छाडेका छन् । 

जनता समाजवादी पार्टीमा विवाद शुरु भएपछि महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरूले लोसपा गठन गरेका थिए । 

गठन भएको ६ महिनामै लोसपामा ठाकुर र महतोवीच विवाद शुरु भयो । विवादको कारण लोसपाले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । 

यसैगरी केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति तथा भ्रातृ संगठनहरु बनाउन सकेको छैन । 

लोसपाको यस्तो विवाद र निष्कृयताको कारण नयाँ पार्टी घोषणा गर्ने निष्कर्षमा आफूहरु पुगेको ती नेताहरुको भनाइ छ ।  

तमलोपा पुरानो पार्टी हो । २०६३ सालको मधेस आन्दोलनपछि महन्थ ठाकुरले यस पार्टीलाई जन्माएका थिए । 

तर २०७७ साल बैशाख १० गते तत्कालीन तमलोपा सहित तराई मधेस केन्द्रीत ६ राजनीतिक दलवीच एकीकरण भइ राष्ट्रिय जनता पार्टी गठन गरेपछि तमलोपा विघटन गरिएको थियो । 

विघटन गरिएको तमलोपालाई लाल लगायतका नेताहरुले अहिले सक्रिय बनाउन लागेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ