arrow

रारा साइकल लेन निर्माणमा आर्थिक चलखेलको शङ्का 

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७८ माघ २७ बिहिबार
rara-track.jpg

मुगु । रारामा साइकल लेन निर्माणको लागि डिभिजन वन कार्यालयले खोलेको ठेक्कामा कमिसनको चलखेल भएको आरोप लागेको छ । कमिसनमा ठेक्का स्वीकृत गर्न लागेको निर्माण व्यवसायीहरूले वन कार्यालयमाथि आरोप लगाएका छन् । उक्त ठेक्कामा क्याराभान थोदुङ, खडका निशान जेबी र लामा हिमाल बुद्ध कम्पनीको फर्म दर्ता भएपछि आन्तरिक मिलेमतोमा हिमाल बुद्धको फर्म झिक्न लगाएर क्याराभान र खडका निशानलाई प्रतिस्पर्धी बनाएर आर्थिक चलखेलमा क्याभानलाई नै ठेक्का दिन लागिएको स्रोतले जनाएको छ । 

साइकल लेन बनाउन कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ४५ करोड आर्थिक सहयोगमा डिभिजन कार्यालयले खोलेको ठेक्कामा मन्त्रालयका सचिवदेखि कार्यालय प्रमुख समेतको मिलेमतो र आर्थिक चलखेलमा गलत मापदण्ड बनाएर ठेक्का सम्झौता गर्न लागेको निर्माण व्यवसायीको आरोप छ । कार्यालयले १३ प्रतिशत भ्याट कटाएर ४५ करोडमा ठेक्का खोलेको हो । जिल्लामा अहिले सम्म यत्रो ठुला लागतमा ठेक्का खोलिएको पहिलो रेकर्ड हो । 

वन तथा वातावरण मन्त्रालयदेखि वन कार्यालय समेत मिलेर प्रदेश र जिल्लाकै ठुला लागतमा खोलिएको उक्त ठेक्कामा जिल्लाका सम्पूर्ण निर्माण व्यवसायीलाई पन्छाउने गरि आफ्नो आर्थिक चलखेलमा ठेक्का अघि बढाएर ठेक्का दिन लागेको भन्दै जिल्लाका अधिकांश निर्माण व्यवसायीहरू आक्रोशित भएका छन् । 

रारा साइकल लेन निर्माणका लागि गत आर्थिक वर्ष छुटाइएको ३ करोड रकमले राम्रोसँग काम नै नगरी कार्यालयले निर्माण कम्पनीलाई भुक्तानी दिएको र यो आर्थिक वर्षको ठुला लागतमा पनि स्वयं कार्यालयले गोप्य सेटिङ्ग रहेको देखिएको जिल्लाका ठेकेदारको भनाई रहेको छ । 

रारा साइकल रोड ठेक्कामा प्रदेश मन्त्रालयदेखि वन डिभिजन सम्मको मिलेमतो देखिएको महादेव झयारी निर्माण सेवाका सञ्चालक हरि रावलले आरोप लगाएका छन् । जिल्ला भित्रका कम्पनीलाई पन्छाउने गरि गलत मापदण्ड बनाएर ठेक्का सम्झौता गर्न लागेको उनको आरोप छ । 

वन कार्यालयले खोलेको उक्त ठेक्कामा जिल्ला भित्र एउटा फर्म पनि मापदण्ड भित्र नरहने देखिए पछि व्यवसायीले विरोध जनाएका छन् । कार्यालयले खोलेको ठेक्कामा क्याराभान, लामा, हिमाल बुद्धलाई प्राथमिकता राखेपछि शङ्का उब्जिएको हो । सार्वजनिक खरिद ऐनमा ठेक्कापट्टामा जति धेरै कम्पनीको प्रतिस्पर्धा भयो उति धेरै राजश्व पनि सङ्कलन हुने र पारदर्शिता पनि देखिने भए पनि वन कार्यालयले तीन वटा कम्पनी मात्र दर्ता गराएको पाइएको छ ।

आर्थिक चलखेलमै रारा साइकल रोडको ठेक्का सम्झौता गर्न लागिएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष हिमाल टमाटाको आरोप छ । उक्त ठेक्का सार्वजनिक खरिद ऐन विपरीत देखिएको उनको भनाइ छ । २५ करोड सडकमा काम गरेको २३ सय घटमिटर ढुङ्गा बिछ्याएको अनुभव भएको फर्मले मात्र ठेक्का हाल्न सक्ने सूचनामा उल्लेख गरे पछि जिल्लाका व्यवसायीहरूका फर्म दर्ता गर्न सकेका थिएनन् । 

अर्कोतिर डीपीआरमा भन्दा बजेट चौबर बढाएर मन्त्रालय सित बजेट मागी ठेक्का खोलेको आरोप छ । करिब १२ करोडमा सकिने काम ४५ करोड पुर्‍याइएकोले जिल्लादेखि मन्त्रालयसम्मको संलग्नतामा मिलेमतो रहेको आशङ्का निर्माण व्यवसायीले गरेका छन् । ठेक्कामा मिलेमतो कसैको छैन,आफ्नो योग्यता नपुगेपछि त्यसको रिसमा कार्यालयलाई मनगणन्ते आरोप व्यवसायीहरूले लगाएको वन डिभिजन प्रमुख भरतबहादुर बुढथापाले बताए । 

डीपीआर बमोजिम ठेक्का अघि बढाइएको हो उनले भने डीपीआर अनुसार क्राइट एरिया नपुग्ने फर्मले त ठेक्का हाल्नै पाउदैनन नि । अहिले सम्म कुनै पनि कम्पनीलाई स्वीकृति गरिएको छैन दुबै वटा फर्म मूल्याङ्कनकै प्रक्रियामा छन् डिभिजन प्रमुख वुडथापाले भने । वन तथा पर्यटन मन्त्रालयमा मेरो अथक प्रयासले यत्रो बजेट ल्याएर ठेक्का आह्वान गरिएको हो बुढथापाले भने जिल्लावासीलाई स्वीकार्य हुँदैन भने क्यान्सील गर्न सकिन्छ ।

 राराको पर्यटन विकासको लागि कर्णाली प्रदेश सरकारले पहिलो वर्षको प्रदेश सभामै रारामा साइकल रोड निर्माण गर्ने भनेर प्रस्ताव पारित गरि ४ करोड छुटाएको थियो पहिलो र दोस्रो वर्ष सम्म उक्त बजेट कार्यान्वयन हुन नसक्दा अलपत्र परेको साइकल रोड तेस्रो वर्षमा ३ करोड बजेटमा निर्माण थालनी गरिएको छ । साइकल रोड सडक उद्घाटनमा तत्कालीन प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाही रारामै पुगेर शिलान्यास गरेका हुन् ।

रारा साइकल रोड ठेक्काको विषयमा आफूलाई कुनै जानकारी नभएको र डिभिजन प्रमुख बुढा थापालाई कार्यालयमा बोलाएर अनियमित भए नभएको बारेमा आफुले बुझ्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । 

तीन वर्ष भित्र रारा वरिपरि १३ किलोमिटर लम्बाई ३ मिटर चौडाइ रोड निर्माण गरि सक्नु पर्ने कार्य योजनामा तोकिएको भए पनि निर्माण प्रक्रियामा ढिलासुस्ती हुँदा समय मै साइकल लेन निर्माण कार्य सम्पन्न हुनेमा आशङ्का उब्जिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ