- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भगवान् बुद्ध एउटा गाउँमा उपदेश दिइरहेका थिए । उनले भने, “हरेक मानव धर्ती माता जस्तै सहनशील र क्षमाशील हुनुपर्छ । क्रोध यस्तो आगो हो जसमा क्रोध गर्नेवालाले अरूलाई पनि जलाउँछ र आफू पनि जल्छ ।"
सभामा सबैले शान्तिपूर्वक बुद्धको वाणी सुनिरहेका थिए, तर त्यहाँ स्वभावले अति क्रोधी व्यक्ति थिए, जसलाई यी सबै कुराहरू बेतुकका लागे। केही बेर सबै सुनिरहे त्यसपछि एक्कासि रिसले भन्न थाले, “तिमी पाखण्डी हौ। ठुला कुरा गर्नु तिम्रो काम हो। तिमि मानिसहरूलाई भ्रमित गर्दै छौ। आजको जमानामा तिम्रो यी भनाइले केही फरक पर्दैन।
यस्ता धेरै कठोर वचन सुनेर पनि बुद्ध शान्त रहे । उनका शब्दहरूबाट बुद्ध न दुःखी भए, न उनले प्रतिक्रिया दिए; यो देखेर ती व्यक्ति झनै रिसाए र बुद्धको मुखमा थुकेर त्यहाँबाट गए ।
भोलिपल्ट जब ती व्यक्तिको रिस शान्त भयो, उनी आफ्नो नराम्रो व्यवहारको कारण पश्चात्तापको आगोमा जल्न थाले र बुद्धलाई खोज्दै त्यही ठाउँमा पुगे । तर बुद्धलाई भेटेनन् , उनी आफ्ना चेलाहरूसँग नजिकैको अर्को गाउँ पुगिसकेका थिए ।
ती व्यक्तिले मानिसहरूलाई बुद्धको बारेमा सोध्दै खोज्दै प्रवचन दिँदै गरेको ठाउँमा पुगे। बुद्धलाई देखेर, उनी चरणमा परेर भने, "मलाई माफ गर्नुहोस् प्रभु!"
बुद्धले सोधे : भाइ तिमी को हौ ? तिमिलाई के भएको छ ? किन माफी माग्दै छौ?"
उसले भने, ‘के तपाईँले बिर्सिनु भयो ? ... म त्यही हुँ जसले हिजो तपाईँसँग नराम्रो व्यवहार गरेको थिए । मलाई ग्लानि छ म आफ्नो दुष्ट आचरणको लागि माफी माग्न आएको हुँ।"
भगवान् बुद्धले प्रेमपूर्वक भने– “बितेको समय त मैले त्यही छोडेर आए र तिमि अहिले पनि त्यही रोकिएका छौ । तिमीलाई आफ्नो गल्तीको आभास भएको छ । तिमीले पश्चात्ताप गर्यौ; तिमी निर्मल बनेका छौ। अब तिमी आजमा प्रवेश गर। नराम्रो कुरा तथा नराम्रो घटनालाई सम्झनाले वर्तमान र भविष्य दुवै बिग्रन्छ । हिजोको कारणले आज नबिगार।
ती व्यक्तिको सबै बोझ हट्यो। भगवान् बुद्धको पाउमा लडेर, उनले क्रोध त्यागे र क्षमाशीलताको सङ्कल्प गरे ; बुद्धले उसको शिरमा आशीर्वादको हात राखे। त्यस दिनदेखि उनमा परिवर्तन आयो र उनको जीवनमा सत्य, प्रेम र करुणाको धारा बग्न थाल्यो ।