arrow

मुखमा स्थानीय तहको निर्वाचन

दल अदलबदलको होडमा लुम्बिनीका जनप्रतिनिधि

logo
नारायण वली,
प्रकाशित २०७८ फागुन ५ बिहिबार
20220217_085749.jpg


रुपन्देही । आगामी स्थानीय तहको निर्वाचन आउन तीन महिना पनि बाँकी छैन । चुनावी गतिविधि बढ्न थालेको छ । विशेषगरी ग्रामीण क्षेत्रमा भेला, कार्यक्रम आयोजना हुने र अवसरका लागि वर्षौंदेखि योगदान दिँदै आएका पार्टीलाई परित्याग गर्दै अर्को पार्टीमा प्रवेश गर्न रुपन्देहीका जनप्रतिनिधिहरुको होडबाजी नै चलेको छ ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) तत्कालीन भूमिगत पार्टी माओवादीका पूर्व जनमुक्ति सेना हुन् । सत्ता परिवर्तन र नीति बदल्ने संकल्प लिएर राइफल बोकेर जीवन बाजीमा राखेर युद्ध लडेका राहुल अन्ततः उक्त पार्टी छोडेर एमालेमा प्रवेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भइ ओमसतिया गाउँपालिका अध्यक्ष बनेका राहुलको एकाएकको पार्टी परित्यागले स्थानीयवासीमा अनेक शंका पैदा गरेको छ । जनतामुखी राजनीतिभन्दा अवसरमुखी राजनीति गरेको स्थानीयको भनाइ छ ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम, नेपालबाट पालिका प्रमुखमा निर्वाचित भएका व्यक्ति हुन् । उनले पनि आफ्नो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै जनप्रतिनिधिहरुलाई अवसर सुरक्षितका लागि पार्टी परित्याग गर्ने हतारमा व्यस्त छन् । तर निर्वाचनको बेला चल्ने यो क्रम भने पुरानै मानिन्छ । 

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका ३ धकधईमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमतीकुमारी हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन् । 

अवसरकै लागि पार्टी प्रवेश गरेका अर्का एक पात्र हुन् कपिलवस्तुको कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाह । 

माघ २२ गते कपिलवस्तुको कृष्णनगरमा आयोजित कार्यक्रममा शाहले नेपाली कांँग्रेस पार्टीमा प्रवेश गरेका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा फोरमबाट उम्मेदवारी नपाएपछि स्वतन्त्रबाट उठेर विजयी भएका शाहले जसपा, नेकपा तथा एमालेमा आफ्नो स्थान पक्का गर्न निकै प्रयास गरे पनि । तर अन्ततः काँग्रेसमा छिरे । 

लुम्बिनी सांँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी पनि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवारबाट अघिल्लो निर्वाचनमा नगरप्रमुख बनेका चौधरीले अवसर प्राप्तिका लागि जसपामा प्रवेश गरेको बताइएको छ ।

अर्घाखाँचीको पाणिनीकी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम पनि पुस १९ गते दुर्गाफाँटमा अयोजित कार्यक्रममा नेपाली कांँग्रेसमा प्रवेश गरिन् । नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी उनी पछिल्लो पटक एकीकृत समाजवादी पार्टीमा थिइन् । 

रुपन्देहीकै सम्मरीमाई गाउँपालिका अध्यक्ष  जितेन्द्रनाथ शुक्ला माओवादी प्रवेश गरेका छन् । गत निर्वाचनमा फोरमबाट जितेका उनी अहिले आफ्नो टिकट सुरक्षित बनाउन पार्टी परित्याग गरेको टिप्पणी हुन थालेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ