arrow

एमसीसी, बानेश्वरको दृश्य, सामाजिक संजाल र दिमाग भुट्ने काम

logo
डिकेन्द्र ढकाल,
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
dikendra-dhakal.jpg
तस्बिर– फाइल

आधुनिक मनोविश्लेषण सिद्धान्तमा ‘धारणा निर्माण’ सम्बन्धी एउटा पदावली छ । यसलाई राजनीतिमा ‘गोएबल्स शैली’ वा गोयबल्सवाद पनि भन्ने गरिएको छ । गोयबलिज्मको जन्मदाता जर्मन तानाशाह एडोल्फ हिटलरको विश्वस्त सहयोगी जोसेफ गोयबल्स हो । गोयबल्स बोल्नलाई कति खरो र चलाख थियो भने विरोधीका जस्तोसुकै सत्य कुरा पनि झुट साबित गरिदिन्थ्यो । ऊ कडा तरिकाले सयौँ पटक उही कुरा दोहोर्याइ राखेर आफ्ना झुट्टा कुरालाई सुनाएर जनतालाई साँचो कुरा हो भन्ने पार्थ्यो ।

हिटलरले प्रोपोगान्डा मन्त्री बनाएको हिटलरको प्रियपात्र गोयबल्सले के विश्वास गर्दथ्यो भने ‘ठूलै गफ दिने हो र त्यही झुटो कुरोलाई  दोहोर्याइ दोहोर्याइ रहने हो भने मान्छेले हो कि क्या हो भनेर साँच्चै नै त्यो कुरा पत्याउन पुग्छन् । त्यसैले फरक विचारलाई दबाउनको लागि हर सम्भव श्रोत प्रयोग गरेर भए पनि सत्यलाई दबाउनु पर्छ र झुट्टो कुरोलाई स्थापित गर्नुपर्दछ ।’

जब जनतामा गोयबल्स प्रोपोगान्डाको असर पर्दछ, जनताले तथ्य जाँच नगरिकन नै बजारमा चलेका कुरा पत्याउन उत्तेजित हुन्छन् । अहिले सामाजिक संजाल, विशेष गरेर फेसबुक, युट्युब र ट्वीटर झुटा प्रचार गर्ने गोयबल्स साबित भएको छ । यो चर्चा एमसीसीको बचाउ वा पक्षधरता होइन । यसरी एमसीसी बाहिरका विषयबारे पनि गोयबल्स शैलीमा लेख्ने र खुइल्याउने काम हाम्रो समाजमा पटक पटक हुने गरेको छ र गोयबलिज्म हाबी भैरहेको छ । 

नेताका हावा कुरा र खराब कामलाई विरोध गर्नु, उनीहरु सच्चिउन् भनेर व्यंग्य गर्नु एउटा कुरा हो । तर हुँदै नभएका कुरा कल्पेर सामान्य जनताको दिमाग भुट्न सामाजिक संजाललाई प्रयोग गर्नु सर्वथा गलत काम हो । यसले समाज भड्किन्छ, अराजकता हाबी हुन्छ । यसको बढवाले सज्जनहरु सिद्धिन्छन् । पलायन हुन्छन् । तर गोयबल्सहरुको पतन पनि लज्जा, मानसिक खेद र आत्मग्लानीले गलेर चाँडै नै हुन्छ । उम्लिनेहरु पोखिन्छन् । आवेगमा दौडनेहरु लड्दछन् ।

बुधबार एमसीसीबारे बानेश्वरको सडकमा देखिएका दृश्यले हाम्रा सामाजिक संजाल जनताहरुको मनोभावना बदल्न र ब्रेनवासिंग अर्थात् दिमाग भुट्ने काम गर्न कति भयानक साधन भैरहेको छ भन्ने चरितार्थ गर्दछ ।

भ्रमको खेती र ‘आले गाली’
नेपालमा जस्तो नेताहरुले भ्रमको खेती अन्त सायदै गर्छन् होला । २०४६ सालको आन्दोलन पछिको चुनावमा सहरका चोकमा नेताहरुले भाषण गरेको अझै याद छ । एकथरी नेताको भाषणको मुख्य हाइलाइट हुन्थ्योः यी अग्ला अग्ला घरहरु अब सुकुम्बासी र बुकुरामा बस्नेलाई बाँडिन्छन् । पम्फादेवीको पैसा स्वीट्जरल्याण्डबाट ल्याएर सबै नेपाललाई बाँडिन्छ र प्रत्येक नेपालीलाई लाखभन्दा बढी भाग लाग्छ । अब हाम्रो दलको सरकार बनेपछि नेपाल पाँचै वर्षमा स्वीट्जरल्याण्ड बन्छ । र त्यसो भन्ने नेताहरुलाई स्वीट्जरल्याण्ड कुन राजनीतिक प्रणाली अपनाउने मुलुक हो भन्ने हेक्का हुँदैनथ्यो ।

अहिले अर्को थरी भाषण चल्या छ । अमेरिकाले नेपाललाई एमसीसी लाद्दै छ र नेपालमा अमेरिकी सेना पठाउँदै छ । नेपालको संविधान र कानूनमाथि अमेरिकी कानून हाबी हुँदैछ । नेपालका परियोजना चलाउन भारतलाई सोध्नुपर्दछ । 

शुरुमैं भनुँ, एमसीसी नलिएर नेपाल नबन्ने र लिएर नेपाल झकास भइहाल्ने होइन । तर कुरो के हो भने गलत कुरा गर्नु, पत्याउनु र अरुलाई नभएको फत्तुर लगाउनु अनुचित काम हो । 

खासमा एमसीसी सहायता प्राप्त गर्न चाहने देशहरूले एमसीसीको सहायता पाउनलाई सरकारले निवेदन दिनुपर्छ । यो निवेदन बाबुराम भट्टराईको सरकारले  सन् २०१२ मा दिएको थियो र त्यसपछि बनेका सबै सरकारले यो सहायता भित्र्याउने प्रकृयाका बाँकी काम गरेका थिए । 

पछिल्लो पटक सन् २०१९ मा त्यो बेलाको नेकपाको सरकारका अर्थमन्त्री युवराज खतिवडालाई सरकारले संसदमा पास गर्न दर्ता गर्न लगाएको थियो । हो, त्यसैबेलादेखि एमसिसीलाई खासगरी प्रचण्ड र बिनासित्तिका अमेरिकी विरोधीहरुले एमसिसीलाई गिजोल्न शुरु गरे ।

मलाई चैँ ती विरोध गर्नेहरु र तिनका पक्षधरहरुले एमसीसी आफैंले पढेका जस्तो लाग्दैन । अथवा पढे पनि बुझे जस्तो लाग्दैन ।

सबैभन्दा हल्ला फैलाइएको कुरो एमसीसी सम्झौता गरेपछि यो सम्झौता नेपालको संविधान र कानूनभन्दा माथि हुन्छ भन्ने छ । कुरो त्यो होइन । एमसीसी सम्झौताअनुसार परियोजनाको काम गर्दै जाँदा पछि नेपालको कानून बाझिएमा एमसीसी सम्झौतामा भएका बुँदा अनुसार हुनेछ भनिएको हो । एमसीसी सम्झौता गर्दा त अहिलेको नेपालको कानूनअनुसार नै हुन्छ । 

अनि अर्को भ्रम फैलाइएको कुरो परियोजना संचालन गर्न भारतलाई सोध्नु पर्ने वा अनुमति लिनु पर्ने भन्ने हो । यो पनि त्यस्तो होइन । कुरो खासमा के हो भने भारतको गोरखपुर जोड्ने प्रसारण लाइनको लागि मात्रै भारतको अनुमति लिने हो । हाम्रो तोरीबारीमा हामीलाई नसोधिकन र अनुमति नलिइकन हामीले छिमेकीलाई कुलो खन्न दिन्छौँ र ?

अहिले देशमा जे भइरहेको छ राम्रो र शोभनीय काम भइरहेको छैन । हाम्रा सरकारहरुले हाम्रा लागि भनेर नै अमेरिकालाई बिन्ती गरी गरी सहायता माग्ने अनि सरकारमा रहेकाहरु र अरु नेपालीले पनि स्याल हुइँया गर्दै एमसीसीको विरोध गर्ने ? 

एमसीसीलाई लिएर अमेरिकालाई ‘आलेगाली’ गर्नु न कुटनीतिक हिसाबले उचित छ न त नैतिक हिसाबले । ‘माग्नी बानी परेकोले हात पसारिइ हालियो । सरी, झुक्किएर मागिएछ’ भनेर एमसिसी नलिए भयो त ! आफै माग्ने अनि दिन आएकोलाई ‘आले’ अपमान किन ?



नयाँ