arrow

नेपालको विश्वकप यात्रा मंगलबार तय हुने, राष्ट्रपति र प्रधानमन्त्रीको बधाईसहित शुभकामना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
cricket-nepal-2022-2222.jpg

काठमाडौं । नेपाल ओमानमा जारी टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले क्यानाडालाई ८ विकेटले पराजित गर्दै सतप्रतिशत नतिजासहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

सेमिफाइनलमा नेपालले मंगलबार युनाइटेड अरब इमिरेट्स यूएईसँग खेल्नेछ । यूएई अर्को समूहको उपविजेता हो । सेमिफाइनल मंगलबार दिउँसो ३ः४५ बजेदेखि शुरु हुनेछ । 

यो खेल जितेर छनोटको फाइनलमा पुग्न सके नेपालले अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउने छ । 

कस्तो होला खेल ? 
नेपाल फर्ममा देखिएको छ । नेपालले लगातार तीन खेल जितेको छ । नेपालको मनोबल पनि उच्च देखिएको छ । 

अर्कातर्फ यूएई समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपाल र यूएईबीचको हेड टु हेडको चर्चा गर्ने हो भने मंगलबारको खेल रोमाञ्चक एवं प्रतिस्पर्धात्मक हुनेछ । 

किनकि पछिल्ला चार खेलको तुलना गर्ने हो भने आपसमा दुई खेल नेपालले र दुई खेल यूएईले जितेको छ । 

पछिल्लो खेल यूएईले १२ फेब्रुअरीमा २५ रनले जितेको थियो । त्यसअघि ३ फेब्रुअरी सन् २०१९ मा भएको खेलमा नेपालले १४ रनले जितेको थियो । 

त्यसअघि १ फेब्रुअरीमा भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । 

र चौथो अन्तिम खेलमा सन् २०१९ को जनवरी ३१ मा यूएई २१ रनले विजयी भएको थियो । यो आँकडाले भने दुवै टिमबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

नेपालका लागि महत्वपूर्ण खेल
नेपालका लागि मंगलबारको खेल निकै महत्वपूर्ण छ । विश्वकपमा पुग्ने एकमात्र बाटो त्यही नै हो । नेपालले यसअघि बंगलादेश विश्वकपमा खेल्न पाएको थियो । त्यतिबेलाका प्रशिक्षक पुबुदु दासानायके यसपटक पनि नेपाली टिमको मूख्य प्रशिक्षक छन् । 

त्यसले गर्दा पनि नेपाली टिमको आशा बढेको छ । र सबै नेपाली प्रशंसकको दृष्टि मंगलबारको यूएईविरुद्धको खेलमै हुनेछ । 

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सेमिफाइनलमा पुगेको नेपाली टिमलाई बधाई दिँदै यूएईमाथि जित हासिल गर्नका लागि शुभकामना दिएका छन् । 

दुवैले ट्वीटरमार्फत बधाई तथा शुभकामना दिएका हुन् । 

यस्तो छ राष्ट्रपति भण्डारीको ट्वीटर–
‘ओमानमा जारी टी२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ! नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्‚ अग्रिम शुभकामना !’

यस्तो छ प्रधानमन्त्री देउवाको ट्वीटर–
‘क्यानडाविरुद्ध जित निकाल्दै ‘टि२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई। भोलि हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुवेच्छा सहित सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ