arrow

कांग्रेस र एमाले आन्तरिक छलफलमा, प्रचण्ड–माधव पनि छलफलमै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
congress-uml-baluwatar-2078-11-12.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीचको संसद चालु गरेर जाने विषयमा करिब करिब सहमति भएपछि दुवै तर्फका नेताहरु यतिबेला आन्तरिक छलफमा जुटेका छन्  । 

एमालेले राखेका मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक बनेपछि संसदको अवरोध हटाउने विषयमा करिब करिब सहमति भएको तर कुन ‘मोडेल’ बाट संसद खुलाउने भन्ने बारेमा प्रधानमन्त्रीको औपचारिक धारणा नआएको एमालेले पनि कुन विधिमा संसदभित्र रहने भन्ने बारेमा धारणा तय नगरिसकेका कारण दुवैतर्फ आन्तरिक छलफलमा लागेका हुन् । 

‘प्रधानमन्त्री देउवाले एमालेको मागलाई सम्बोधन गर्ने र त्यसको बदलामा संसदको अवरोध खोल्ने सहमति भएको छ, यसका लागि कांग्रेसले आन्तरिक छलफल गर्ने र एमाले आफैंले पनि आन्तरिक छलफल गर्ने गरी बालुवाटारको बैठक सकिएको थियो । हामीले बिहीबार राति पनि सामान्य छलफल गर्यौं । अहिले पनि छलफल चलिरहेको छ’, एमालेका एक उपाध्यक्षले भने । 

उनका अनुसार सबै विषयहरुमा सहमति भने भैसकेको छैन तर सभामुखलाई हटाएर सदन चलाउने वा महाभियोग लिएर जाने भन्ने विषय तय नभएकाले एमाले आन्तरिक छलफलमा जुटेको हो । शुक्रबार बिहानबाटै कांग्रेस र एमाले आन्तरिक छलफलमा लागेका थिए । माओवादी केन्द्रले पनि शुक्रबार बिहान खुमलटारमा आन्तरिक छलफल गरेको थियो । 

एमालेले उठाएका माग सम्बोधन गर्ने विषयमा कांग्रेसका शीर्ष नेताहरु बिहीबार बिहान छलफलमा लागेका थिए । त्यस्तै एमाले नेताहरु बालुवाटारको बैठक सकेर बालकोट पुगेका थिए । शुक्रबार बिहान पनि सुवास नेम्वाङ लगायतका नेताहरु बालकोट पुगेका थिए । 

विष्णु रिमाल पनि छलफलमा सहभागी भएका छन् । कांग्रेसले बोलाउने बित्तिकै आज पनि द्विपक्षीय छलफल हुने बताइएको छ । ‘अध्यक्षसहितका नेताहरु छलफलमा हुनुहुन्छ आजै केही भइहाल्छ जस्तो मलाई लाग्दैन, एमालेले आफ्नो अडान छाडेको छैन’, एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने । 

उनका अनुसार एमालेका माग पूरा हुने अवस्थामा संसदको अवरोध खोल्न सकिने नेताहरुले बताएका कारण बिहान पनि छलफल र भेटघाट जारी रहेको हो । 

प्रधानमन्त्रीसँग के के विषयमा सहमति नजकि नजिक भयो भन्ने बारेमा एमाले नेताहरुले केही बताएका छैनन् । के के विषयमा  छलफल भयो र सकारात्मक बन्यो भन्ने बारेमा केही खुलाइएको छैन । 

बालुवाटारको बैठक सकिएपछि एमाले नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । एमाले नेताहरु ओली निवास बालकोट पुगेर आन्तरिक छलफलमा जुटेपनि बेलुका अबेर सबै नेताहरु घर फर्केका थिए । बिहान पुनः बालकोटमा जुटेका थिए । 

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन वा एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदको कारबाहीको विषयलाई बटमलाइन बनाएको छ । 

बालुवाटारको बैठकमा प्रधानमन्त्रीले यो विषयलाई कसरी अघि बढाउने भन्ने बारेमा थप छलफल गर्ने र शुक्रबार बिहानसम्ममा निर्णयमा पुग्ने बताएका थिए । पछिल्लो छलफलमा एमालेले सभामुखको राजीनामा वा बहिर्गमन, चार वटा प्रदेश सरकार फिर्ता, अर्ली चुनाव जस्ता विषयलाई पनि प्राथमिकतामा राखेर छलफल अघि बढाएको छ । करिब २ घण्टा चलेको बालुवाटार बैठक एमसीसी अनुमोदन र एमालेको संसद अवरोध हटाउने विषयमा केन्द्रित रहेको थियो । 

एमाले नेताहरुले समग्रमा प्याकेजमा सहमति गर्ने गरी अघि बढौं भनेका थिए । तर प्याकेजभित्र के के छ भन्ने बारेमा केही खुलाइएको छैन । स्रोतका अनुसार प्याकेजभित्र सभामुखको बहिर्गमनसहित प्रदेश सरकारमा एमालेको नेतृत्वको विषय पनि रहेको स्रोतको दाबी छ ।
 
एमाले र कांग्रेस आन्तरिक छलफलमा जुटेपछि शुक्रबार बिहान माओवादी केन्द्रले पनि पूर्व स्थायी समितिका सदस्यहरुसँग छलफल गरेको थियो । प्रचण्ड निवास खुमलटारमा जम्मा भएका माओवादी नेताहरुले एमाले र कांग्रेसबीच भैरहेको वार्ताको बारेमा छलफल गरेका थिए । 

माओवादी केन्द्रका नेताहरुबीच छलफल भैरहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डले फोन गरेर काठमाडौँ बोलाएका थिए । पूर्वनिर्धारित कार्यक्रम भनेर कैलाली गएका अध्यक्ष नेपाल काठमाडौं आइसकेका छन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष एमालेबीच सहमति हुने करिब निश्चित भएपछि माधव नेपाललाई पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं बोलाइएको हो । 

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादपछि नेपाल काठमाडौं आएको स्रोतले जनाएको छ । नेपालसँगै नेकपा एसका नेता एवम् पर्यटनमन्त्री प्रेम आले र नेतृ गरिमा शाह पनि गएका थिए । 

उनीहरु हिजो धनगढीमा आयोजित युवा संघ र महिला संघको कार्यक्रममा सहभागी थिए । आज माधव नेपाल पार्टीको बुद्धिजिवी परिषद्को कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम तय थियो ।

नेताहरुले एमसीसीको विषयलाई एकैपटक नै वारपार गर्ने हिसाबले अगाडि बढ्न खोजेका छन् । सरकारको आग्रहमा संसद बैठक आइतबार फागुन १५ गतेसम्मका लागि स्थगित गरिएको छ । 

अमेरिकाले फागुन १६ गतेसम्ममा एमसीसी पारित गर्न गरेको आग्रह बमोजिम नै आइतबार बैठक बसेर एमसीसी पारित गर्ने सरकारको योजना छ । यसबीचमा कस्तो समीकरण बन्छ हेर्न बाँकी छ । 



नयाँ