- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरुको बैठकमा लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएर अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्ने सहमति भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को प्रकृया टुंग्याउन र अहिले देखिएको अन्तर्राष्ट्रिय सम्बन्धको अन्योल हटाउन दुवै दल सहमत भएका हुन् ।
शुक्रबार राति सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । बालकोटमा एमाले अध्यक्षले पुरानै माग दोहोर्याएको कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री (सरकारका प्रवक्ता) ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
‘प्रमले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ, प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छ, हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुस् त्यसपछि हामी निर्णय गर्छौं भन्नुभयो’, मन्त्री कार्कीले भने ।
छलफलका क्रममा ओलीले लोकतान्त्रिक मूल्य मान्यताका लागि आफूहरु (कांग्रेस–एमाले) एक ठाउँ उभिनुपर्ने प्रस्ताव गरेको कार्कीको भनाइ छ । ‘ओलीले अर्को कुरा गर्नुभएको छ, हामीले धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं, लोकतन्त्रको यात्रामा हामी सहयात्री हौं, लोकतान्त्रिक मूल्य मान्यताका लागि हामी एक ठाउँमा उभिनुपर्छ, हामीलाई संसदभित्र प्रवेश गर्ने द्वार खुलेको छैन, त्यो द्वार खोलिदिनुस् भन्नुभो,’ सञ्चारमन्त्री कार्कीले भने ।
त्यस क्रममा ओलीले अहिलेको संकट टार्न ‘अर्ली इलेक्सन’ गरेर जानुपर्नेसमेत बताएका थिए । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताउँदै सहमतिको खास प्रस्ताव नआएकाले शुक्रबारको बैठक विना निष्कर्ष टुंगिएको बताए ।
एमाले उपमहासचिव ज्ञवालीका अनुसार कांग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव नआएका कारण एमालेले आफ्नो अडानलाई कायम राखेको र सो माग पूरा नभई अर्को विषयमा प्रवेश गर्ने कुनै सन्दर्भ नभएकाले शुक्रबार रातिको बैठक सकिएको हो ।
‘आज ठोस प्रस्ताव आएन । अर्को बैठकमा आउँछ कि !’ ज्ञवालीले भने ‘अर्को बैठक भोलि पनि बस्ने कुरा भएको छ ।’
एमालेले १४ सांसदको कारबाही वा सभामुखको बहिर्गमनलाई मूख्य शर्त बनाएको छ । एमालेले संसदको अवरोध हटाउनका लागि कांग्रेसले यी दुई माग पूरा गर्नुपर्ने अवस्था छ ।
तर कांग्रेसले यी मागबारे छलफल गर्ने भन्दै एमालेलाई अल्मल्याउन खोजेको एमाले नेताहरुको आरोप छ ।