arrow

म्याग्दीका ग्रामीण वस्तीमा विकासको रौनक

logo
रासस
प्रकाशित २०७८ फागुन १५ आइतबार
Myagdi-hamrakura.jpeg

म्याग्दी । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै म्याग्दीका दुर्गम ग्रामीण वस्तीमा पछिल्लो समय रौनक छाएको छ । सहजरूपमा आफ्नै गाउँघरमै ती  सुविधा प्राप्त हुँदै गएपछि गाउँलेको जीवनस्तरमा समेत परिवर्तन आएको छ । 

विकासले केवल सुविधामात्रै होइन, वर्षौँदेखि ओझेलमा परेका गाउँवस्तीलाई उजिल्याइदिएको छ भने जीवन जिउने नयाँ-नयाँ आधारसमेत पहिल्याइदिएको स्थानीयवासीले बताएका छन् ।

घर-आँगनमै गाडी, नजिकै विद्यालय, वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, आफन्तको सञ्चोबिसञ्चो बुझ्न र कुराकानी गर्न हातहातमा मोबाइल, खेतबारीबाट अन्नपात र घाँस-पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल जिल्लाका गाउँवस्तीमा अहिले जताततै देख्न पाइन्छ । 

चार-पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँमा पछिल्लो समय विकासको लहर चलेको छ । यातायातको पहुँचसँगै विकासको परिभाषालाई बुझ्न थालेका म्याग्दीका ग्रामीण भेगका बासिन्दा सडक, शिक्षा, स्वास्थ्य र सञ्चारको सुविधा पनि गाउँमा नै पाएपछि दङ्ग परेका छन् । म्याग्देली ग्रामीण जनताको जीवनशैलीमा नै परिवर्तन देखिएको छ ।

स्थानीय तह हुनुभन्दा अगाडि दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपर्ने म्याग्दीका मुना, कुइने, ठाडाखानी, रुमलगायतका गाउँमा सडक सञ्जाल जोडिएको छ । विकासको महत्वपूर्ण आधारमध्येको एक सडक भएका कारण आफूहरुले प्राथमिकताका साथ योजना छनोट गरेर सबै वडामा सडक पुर्याइएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । 

जिल्लाका छवटा स्थनीय तहमध्ये धवलागिरि गाउँपालिका-३ गुर्जामा मात्रै सडक सञ्जालको पहुँच पुगेको छैन । गुर्जामा सडक विस्तारका लागि पनि स्थानीय तह र प्रदेश सरकारबाट काम भइरहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए । 

स्थानीय तह गठन भइसकेपछि गाउँ-गाउँमा सडक आएकाले जिल्ला सदरमुकाम बेनीबजार पुग्न तीन दिन लाग्ने ठाउँबाट अहिले दिनमा जाउआउ गर्न सकिने भएको कुइनेमङ्गलेका हरि छन्त्यालले बताए ।

“सडकले गाउँको स्वरुप नै परिवर्तन गरिदिएको छ, विकासका पूर्वाधारसँगै मानिसको चेतनास्तरमा पनि सुधार आएको छ”, रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीका वडासदस्य टेकजीत छन्त्यालले भने । शिक्षा क्षेत्रमा पछि परेको ठाडाखानीलाई  प्राथमिकता दिएर चुहिने विद्यालयलाई पक्की विद्यालयका रूपमा स्तरोन्नति गर्दै आएको छन्त्यालको भनाइ छ । 

दिनभर हिँडेर पाखापानीसम्म पुगेर उपभोग्य सामानको जोहो गर्नुपथ्र्यो । गाउँमा कोही बिरामी पर्दा भरिया लगाएर डोकोमा बोकेर उपचार गर्न बेनी पुर्याउनुपर्ने बाध्यता हुन्थ्यो, अहिले वडा-वडामा स्वास्थ्य सेवाको सहज पहुँच पुगेकाले सहज भएको स्थानीयवासी हिमाली छन्त्यालले बताए । विकाससँगै सचेतनामूलक कार्यक्रममार्फत बालविवाह रोकथाममा पनि सहयोग पुगेको स्थानीयवासीको भनाइ छ । 

अहिले जिल्लाका छवटै स्थानीय तहका वडामा रहेका विद्यालयको भौतिक संरचना निर्माण तीव्ररुपमा भइरहेको छ । स्वास्थ्यचौकीमा चिकित्सक र औषधिको पहुँच छ । सञ्चारको पहुँच नपुगेको कुनै वडा नै छैन । सामान्य बिरामी पर्दासमेत सदरमुकाम वा काठमाडौँ पोखरा पुग्नुपर्ने बाध्यता हट्दै गएको स्थानीयवासीले बताएका छन् । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानीका कारण त्यहाँका नागरिकलाई निकै सहज भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

कहिल्यै मोटर गाडी नदेखेका वृद्धवृद्धा पनि गाउँघरमा सरर्र... गाडी गुड्दा दङ्ग छन् । हप्तौँ लगाएर नुन, चामल बोकेर उपभोग गर्ने गरेको बूढापाका अहिले गाउँमै सबै सुविधा पाउँदा हर्षित बनेका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । 

स्थानीय टेकबहादुर छन्त्याल भन्छन्, “पहिले हाम्रो जमानामा यस्तो सुविस्ता थिएन, हामी नुन, चामल लिनका लागि खसौली बटौली पुग्ने गथ्र्यौँ, अहिले त घरघरमै दोकान छन्, उतिबेलाको जस्तो दुःख छैन अहिले ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ