- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन भएपछि माओवादी पार्टीभित्र चर्को विवाद भएको छ । पार्टीका नेताहरूले संसद् बहिष्कार गर्नेदेखि सार्वजनिक रूपमै कालो दिनको घोषणा गरेपछि पार्टीभित्र चर्को विवाद भएको हो । तर पार्टीभित्र विवाद हुँदा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने एमसीसी संसद्बाट अनुमोदन भएकोमा आफू निकै खुसी भएको बताएका छन् ।
सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफूले सुरूदेखि नै एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेकाले एमसीसी पारित हुँदा खुसी भएको बताएका हुन् । एमसिसीसँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने भन्दै उनले यसले नेपालको राष्ट्रिय सुरक्षालगायत विषय स्पष्ट पारेको बताए ।
तर सोही पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदन भएपछिको दिनलाई कालो दिन घोषणा गरे । ‘ अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराई छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔँ र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको सङ्घर्षलाई निरन्तर जारी राखौँ’, उनले सामाजिक सञ्जालमा भने ।
श्रेष्ठको सो भनाइलाई सोमबार पार्टी अध्यक्ष प्रचण्डले वामदेव गौतम हुने सङ्केत गरिदिए । अझ यसलाई दुई नेताको जुहारीकै रूपमा पनि लिन सकिन्छ । सामाजिक सञ्जालमा श्रेष्ठको भनाई आएपछि प्रचण्डले सार्वजनिक रूपमै आपत्ति जनाए । ‘नारायणकाजीले विमतिलाई बाहिरै त्यसरी लैजानु हुँदैन भन्ने लागेको थियो, तर बाहिर लैजानुभयो, उहाँ(नारायणकाजी)लाई एमसीसीको विरोध गर्दा भोट आउला भन्ने लाग्या होला, वामदेव गौतम नै हुने भए भन्नु केही छैन स्वतन्त्र ढङ्गले पनि राजनीति गर्न सकिन्छ,’ प्रचण्डले भने । उनको यो भनाइले श्रेष्ठले पार्टीभित्र राखेको असहमतिप्रति प्रचण्ड निकै आक्रोशित भएको अनुमान गर्न सकिन्छ ।
प्रचण्डले महाकाली सन्धिको प्रसङ्ग उठाउँदै वामदेव गौतमले एमाले विभाजन गरेर पार्टी बनाउँदा चुनावमा एक सिट पनि नजितेको पनि स्मरण गराए । ‘महाकालीका कारण भोट आउँछ भनेर वामदेवजीले एमाले विभाजन गर्नुभयो, छुट्टै पार्टी बनाउनु भयो तर एउटा सिट जित्नुभएन’, प्रचण्डले भने । उनले राष्ट्रियताको कुरा उठाएर भोट नआउने बताउँदै यस्ता कुराप्रति आफ्नो विश्वास नभएको पनि बताए ।
प्रचण्डले एमसीसीका कारण शान्ति सम्झौता, संविधान र अहिलेको व्यवस्था नै उल्टिने जस्तो देखिएपछि आफूले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याएको दाबी गरे पनि त्यसलाई उनकै असल मित्रका रूपमा रहेका कृष्णबहादुर महराले समेत पत्याएनन् । महरासहित पाँच सांसदले पार्टीको ह्विप नै उल्लङ्घन गरे भने अन्य दुई सांसदले विपक्षमा मत हालिदिए । महरासँग, रेखा शर्मा, यशोदा गुरुङ, जयपुरी घर्ती र अमृता थापा मगरले संसद् बहिष्कार गरे । त्यस्तै नारायणकाजी श्रेष्ठ निकट रहेका गिरिराजमणि पोखरेल, अञ्जना विसंखेले विपक्षमा मत दिएर पार्टीको ह्विप नै उल्लङ्घन गरेका थिए । जसका कारण पार्टीभित्र ठुलो विवाद भएको विषयलाई प्रचण्डले नकार्न सकेनन् । ‘पार्टीभित्र केही विमतिहरू छन् केन्द्रीय समितिको बैठकमा छलफल गर्छौ’, सोमबार यति भनेर प्रचण्डले पत्रकारहरूसँगबाट बिदा भएका थिए । उनले पार्टीभित्रको विवादको विषयमा खासै धेरै नबोले पनि देव गुरुङले विरोध नगरेको दाबी गरेका थिए ।
पार्टीको बैठकमा हरिबोल गजुरेल, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल लगायतका धेरै नेताहरूले असहमति राखेका थिए । त्यसको नेतृत्व नारायणकाजी श्रेष्ठले गरेका थिए । संसद् बहिष्कारको नेतृत्व भने महरा आफैले गरेका थिए । तर अध्यक्ष प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित पास भएकोमा भने आफूलाई खुसी लागेको धारणा राखेर पार्टीभित्रको विवादलाई पनि हल्का लिएका छन् । तत्कालीन नेकपाका अध्यक्षका केपी शर्मा ओलीका पालामा नै आफूले वैकल्पिक विषय सुझाएको र अहिले त्यही विषय ल्याएको प्रचण्डको भनाइ छ । आफूले त्यो प्रस्ताव तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग राखेको बताउँदै पार्टीभित्र केही विमति हुन स्वाभाविक भएको बताएका छन् ।