- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संसदबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनको निर्णय लिएपछि नेकपा माओवादी केन्द्रभित्र विवाद बढेको छ । पार्टी महाधिवेशनको निर्णय विपरीत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट एमसीसी सम्झौता अनुमोदनको निर्णय लिएको भन्दै पार्टीभित्र विवाद चर्किदै गएको हो ।
विवाद चर्केपछि मंगलबार दिउँसो नारायणकाजी श्रेष्ठ आफू निकट रहेका नेताहरुसँग भर्चुअल बैठक गरी अब म के गरुँ प्रचण्डले स्वतन्त्र हुन छुट भनिसकेका छन् तपाईहरुको सल्लाह चाहियो भन्दै बैठकको आरम्भ गरेका थिए ।
श्रेष्ठले भर्चुअल बैठक राखेको थाहा पाएपछि अध्यक्ष प्रचण्ड श्रेष्ठलाई फकाउन उनी निवास पुगेका थिए । एमसीसी प्रकरणले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता श्रेष्ठका बीचमा विवाद चर्किएपछि पार्टीका अन्य नेताहरुले पनि पार्टी छाड्न सक्ने संभावना बढ्दै गएको छ ।
विवाद चर्किदा वरिष्ठ नेता श्रेष्ठले एमसीसी अनुमोदनको दिनलाई ‘कालो दिन’ को घोषणा गरिसकेका छन् । उनले संघर्षलाई निरन्तर जारी राख्न आह्वान गरेका थिए । तर प्रचण्डले एमसीसी अनुमोदनले आफु खुशी भएको भन्दै यसले शान्ति प्रक्रिया र संविधानको रक्षा भएको टिप्पणी गरेका थिए ।
यो विषय महाधिवेशनको म्याण्डेट विपरीत भएको र प्रचण्ड स्वेच्छाचारी भएको दाबी गर्दै श्रेष्ठ पक्षले अनुशासनको कारबाही गर्नुपर्ने बताउन थालिसकेको छ । सोमबार प्रचण्डले भने महाकाली सन्धिका बेला वामदेव गौतमलाई जस्तै लोकप्रिय हुन्छ भने जसरी लागेको र पार्टी छाड्ने मन भए नरोक्ने मनसायको अभिव्यक्ति दिएपछि श्रेष्ठ निकै तनावमा परेका थिए ।
फागुन १६ गते सोमबार झलनाथ खनालको निवास डल्लुमा नारायणकाजी श्रेष्ठ र वामदेव गौतम पुगेर नयाँ परिस्थितिबारे छलफल भएको विषयमा पनि नेताहरुले भर्चुअल बैठकमा छलफल गरेको स्रोतको दाबी छ ।
श्रेष्ठलाई उनका समूहका नेताहरुले तत्कालै माओवादी केन्द्रको सदस्यबाट राजीनामा दिनुपर्ने, फागुन २० बाट बोलाइएको केन्द्रीय समिति बैठकमै समेत जान नहुने र नयाँ ढंगले पार्टी पुनःनिर्माणमा लाग्नुपर्ने दबाब एिका छन् ।
‘प्रचण्डले सधै यसरी नै हेप्न थालेपछि बस्न सकिन्न, हुकुमी शैली छ, पार्टीभित्र एउटा कुरा गर्ने बाहिर गएपछि सम्झौता परस्त बन्ने यही कारणले पार्टीका नेता कार्यकर्ताले प्रचण्डको साथ छाड्दै गएका छन्’, माओवादी केन्द्रका एक पूर्व स्थायी समिति सदस्यले भने ।
मंगलबारको भर्चुअल बैठकमा कार्यकर्ताहरुले श्रेष्ठलाई पार्टी छाडेर नयाँ पार्टी पुनर्गठन गर्न दबाब दिए पनि श्रेष्ठले भने पार्टीको बैठकमा जाने, त्यहीँ आफ्ना कुरा ब्यवस्थित रुपमा राख्ने र त्यहाँ राखिएका कुराको सम्बोधन के कति हुन्छ त्यसलाई हेरेर मात्र अघि बढ्न सक्ने किसिमको धारणा राखेको स्रोतले जनाएको छ ।
श्रेष्ठ समूहले केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डमाथि महाधिवेशनको निर्णय उल्लंघन गरेको आरोपमा अनुशासनको कारवाही गर्न माग गर्ने र त्यसमा चित्त बुझ्दो जवाफ नआए अघि बढ्ने मुडमा पुगको छ ।
माओवादीको महाधिवेशनले यथास्थितिमा एमसीसी सम्झौता सदनबाट पारित गर्न नसक्ने निर्णय लिएको थियो । एमसीसी पारित गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए ।
त्यस्तै लिलामणि पोखरेलले पनि एमसीसी पास गर्ने निर्णयमा असन्तुष्टि जनाएका थिए । कृष्णबहादुर महरा, यसोदा सुवेदी, रेखा शर्मा, जयपुरी घर्तीले संसद बैठक नै बहिष्कार गरेका थिए ।
आइतबार राति वरिष्ठ नेता श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएपछि सामाजिक सञ्जलमा असन्तुष्टि व्यक्त गरेका थिए ।
‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं,’ श्रेष्ठले भनेका थिए ।
यो विषयलाई लिएर प्रचण्डले श्रेष्ठमाथि पार्टी छाडेर गए वामदेव गौतम हुने चेतावनी दिएका थिए ।