arrow

पोखराका दुई स्थानमा भेटियो बर्डफ्लू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
bird-flue.jpeg
फाइल तस्वीर

पोखरा । पोखराका दुई स्थानमा बर्डफ्लू भेटिएको छ । पोखरा महानगरपालिका वडा नंं. १५ र १७ मा बर्डफ्लू भेटिएको हो । पोखरा-१५ का खुसीमान गुरुङ र पोखरा-१७ का खेमबहादुर क्षेत्रीले पालेका कुखुरामा बर्डफ्लू पुष्टि भएको हो । 

बर्डफ्लू पुष्टि भएसंगै जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर दुवै क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । समितिका सूचना अधिकारी डा.गृष्म न्यौपानेका अनुसार पंक्षीजन्य कारोबारमा पनि बन्देज लगाइएको छ । 

फार्मका कुखुरा मरेपछि त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशालामा लगिएकोमा आरडीटी परीक्षणमा पोजिटिभ देखिएको बताइएको छ । जिल्ला प्रयोगशालामा पोजिटिभ देखिएपछि काठमाडौं पठाएको र त्यहाँ पनि एउटै रिपोर्ट आएको न्यौपानेले बताए । 

बर्डफ्लू पष्टि भएपछि १५ गते नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट प्रभावित क्षेत्र तोकिएको छ भने संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको छ । अब ४ किल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम हुने उनले बताए । 

बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानहरुलाई सचेतनाका सामग्री प्रकाशन प्रशारण गरिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । अधिकतम प्राविधिकहरू खटाएर जोखिम क्षेत्रलाई निगरानीमा राखिएको छ ।



नयाँ