- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संसदबाट व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएपछि माओवादी केन्द्रभित्र चुलिएको मतभेदबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेका छन् । शुक्रबारबाट शुरु हुने केन्द्रीय समितिको बैठकमा असन्तुष्ट पक्षले लिखित रुपमा असहमतिको राख्ने र त्यहाँ कुरा नमिले विकल्प खोज्ने सोचमा पुगेपछि प्रचण्ड अप्ठेरोमा परेका हुन् ।
माओवादीले आफ्नो पकड क्षेत्र मानिएको तराई मधेस, चितवन र सिन्धुली जस्ता जिल्लामा नारायणकाजी श्रेष्ठ निकट रहेका पूर्व जनमोर्चाहरुको राम्रो जनमत रहेको र श्रेष्ठ पक्षले पार्टीभित्र कुरा नमिली बाहिरिनु पर्ने अवस्था आएमा माओवादीले ती क्षेत्र गुमाउनु पर्ने अवस्था आउने हुँदा प्रचण्ड निकै अप्ठेरोमा परेका हुन् ।
प्रचण्डले निर्वाचन क्षेत्र माडीमासमेत श्रेष्ठ निकट रहेका मेयर निर्वाचित भएको र त्यहाँ जनमोर्चाका पूर्व नेता अमिक शेरचनको क्षेत्र भएका कारण श्रेष्ठले माओवादी पार्टी छाडेमा प्रचण्डलाई अप्ठेरो पर्ने अवस्था रहेको माओवादी निकट एक नेताले भने ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको महाधिवेशन पास गरेको म्याण्डेटभन्दा बाहिर गएर एमसीसी पास गर्न सहयोग गरेको आरोप लगाउँदै लिखित रुपमा फरक मत प्रस्ताव गर्ने र त्यहाँबाट समाधान नआए पार्टी छोड्ने तहको निर्णय गर्नसक्ने भएकाले पनि प्रचण्डको निर्वाचन क्षेत्र समेत धरापमा पर्ने स्थितिमा पुगेको स्रोतको दाबी छ ।
महोत्तरी, सर्लाही, धनुषा लगायतका जिल्लामा श्रेष्ठ निकट रहेका नेता कार्यकर्ताहरु बढी छन् । सिन्धुलीमा पनि श्रेष्ठ निकटका नेता कार्यकर्ता रहेका छन् । साथै श्रेष्ठ समूह बिच्किएमा चितवनस्थित प्रचण्डको निर्वाचन क्षेत्रमा पनि श्रेष्ठ निकट रहेका नेता कार्यकर्ताहरु रहेका कारण प्रचण्डलाई आगामी निर्वाचन निकै महंगो पर्नेछ ।
आजबाट राष्ट्रियसभा गृहमा बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठकमा असन्तुष्ट रहेको वरिष्ठ नेता श्रेष्ठ पक्षले लिखित असहमति राख्नेछ । गत आइतबार राति संसदबाट एमसीसी अनुमोदन हुँदा उक्त पक्षले संसदमै बसेर त्यसको विरोध गरेको थियो ।
त्यतिमात्र होइन श्रेष्ठ स्वंयले पनि संघर्ष जारी राख्ने बताउँदै एमसीसी अनुमोदन भएपछि कालो दिनको रुपमा चित्रण गरेका थिए । तर पार्टी अध्यक्ष प्रचण्डले श्रेष्ठको त्यस्तो टिप्पणीप्रति असहमति जनाउँदै राजनीतिक स्वतन्त्र ढंगले गर्न पनि छुट रहेको बताउँदै पार्टी एमसीसी विरोधी धारणा राख्दा पपुलर नहुने र नेता कार्यकर्ता श्रेष्ठको पछि नलाग्ने जनाएका थिए ।
अध्यक्ष प्रचण्डले श्रेष्ठको सो अभिव्यक्तिले वामदेव गौतमकै जस्तो हाल हुने भएको टिप्पणीसमेत गरेपछि नेता श्रेष्ठले आफू निकटका नेताहरुसँग मंगलबार, बुधबार, बिहीबार र शुक्रबार मध्यान्हसम्मै आन्तरिक छलफल गरेका छन् ।
श्रेष्ठ निकटका नेताहरुले पनि श्रेष्ठलाई प्रचण्डको अभिव्यक्तिले पार्टीभित्र बस्न असहज भएको भन्दै विकल्प सोच्न सुझाव दिएका थिए । ‘अधिकांश साथीहरुले विकल्प रोज्न सुझाव दिनुभएको छ, प्रचण्डले साह्रै ज्यादती गरेको र हेपेको कारण सहेर बस्न नहुने, साथै राष्ट्रियताको सवालमा प्रचण्डले सम्झौतापरस्थ र आत्मसमर्पणवादी निर्णय लिएका कारण पनि त्यहाँ बस्नुभन्दा बाहिर बसेर संघर्ष गर्नुपर्ने धारणा छ’, श्रेष्ठ निकट एक नेताले भने ।
श्रेष्ठ निकट रहेको पूर्वमन्त्री गिरिराजमणी पोखरेलले अहिले नै विकल्प नसोचिएको बताउँदै बैठकमा आफ्ना कुरा राख्ने बताए ।
‘कमरेड प्रचण्ड बदलिँदा अरुलाई बदल्न र रुपान्तरण गर्न सकिन्छ भन्ने लगातार भनिरहिएको छ । हाम्रो पार्टीको आठौं महाधिवेशनमा अध्यक्षले थुप्रै विषय राख्नु भएको छ । उहाँले आफ्नो कार्यशैली विगतमा पनि खुलस्त नभएको कुरा राख्नुभएको छ। अहिले उहाँ महाधिवेशनमा व्यक्त भएको विषयमा जानु भयो कि भएन भन्ने प्रश्न उठि नै हाल्छ । यो पार्टी प्रचण्ड कमरेडको मात्रै हो भने उहाँले कसलाई राख्ने, कसलाई जाउँ भन्ने एउटा कुरा भयो । यो कम्युनिस्ट पार्टी हो, सामूहिक ढंगले अगाडि बढ्ने हो । यो पार्टीलाई क्रान्तिकारी र देशभक्त पार्टी बनाउने हो भने यसरी हुँदैन। उहाँले महाधिवेशनपछि जुन ढंगले निर्णय गर्नु भएको छ, त्यसमा उहाँले नै आत्मसमीक्षा गर्नु पर्ने विषय हो जस्तो लाग्छ’, पूर्वमन्त्री पोखरेलले भने ।
श्रेष्ठले एमसीसीको विषयमा अभिव्यक्त गरेको धारणालाई लिएर प्रचण्डले आपत्ति जनाएपछि श्रेष्ठले आफू निकटका नेताहरुसँग निरन्तर छलफल थालेका थिए । त्यसपछि प्रचण्डले त्यसलाई रोक्न पहल गरे पनि छलफल निरन्तर भइरहेको थियो । प्रचण्डले बुधबार र बिहीबार दुई दिन श्रेष्ठलाई पार्टी छाडेर नजान आग्रह गरेका थिए । त्यसका बाबजुद बिहीबार श्रेष्ठले पार्टीभित्रको विवादलाई धेरै अतिरञ्जना नगर्न आग्रहसमेत गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले संसदमा ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको निर्णय लिएर पार्टीको म्याण्डेटसमेत उल्लंघन गरेको आरोप श्रेष्ठ पक्षले लगाइएको छ ।
विवाद उत्कर्षमा पुगेका बेला पार्टीका शक्तिशाली नेता मानिएका वर्षमान पुनले श्रेष्ठसँग भेटघाट गरेका थिए । त्यसक्रमा पार्टीभित्रै असहमति राख्न आग्रह गरिएको थियो । त्यसपछि श्रेष्ठले शुक्रबारको केन्द्रीय समितिको बैठकमा लिखित रुपमा लिखित रुपमा असमति राख्न लागेका हुन् ।
यही तनावबीच बैठक बिहान ११ बजे बस्ने भनिएको भए पनि १ बजेलाई सारिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने छ । तर त्यसअघि एमसीसीको विवाद तथा विद्रोहमा जाने नेताहरुको माग सम्बोधन गर्नुपर्ने देखिएको छ ।