- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीभित्र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रकरणले उठाएको विवाद समाधान गर्ने विषयमा फरक मतलाई आउँदो विशेष महाधिवेशनमा प्रवेश दिने गरी टुंग्याउन लागिएको छ । तीन तहको निर्वाचन सकिएपछि विशेष महाधिवेशन गर्ने र त्यहाँ फरक मतलाई छलफलका लागि प्रवेश दिने गरी अहिलेलाई विवाद टुंग्याउन लागिएको एक पूर्व स्थायी समिति सदस्यले भने ।
पूर्व स्थायी समितिका सदस्यहरुबीच दुई दिनसम्म चलेको बैठकले सो निष्कर्ष निकालेको हो । साथै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा एमसीसीबारे अझै प्रष्ट धारणा राख्ने र त्यसमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफ्ना कुरा राखेपछि सो विषयमा प्रतिवेदन तयार गर्न एउटा समिति बनाउने गरी विवादलाई निरुपण गर्न लागिएको हो ।
‘हिजोसम्म भएको सहमतिचाहि एउटा समिति बनाएर विवाद निरुपण गरौ भन्नेछ तर केन्द्रीय सदस्यहरुले समिति मात्रै बनाएर जानु हुँदै यसलाई फरक मतकै आधारमा अघि बढाउनु पर्छ भन्ने कुरा पनि आएको छ, पार्टी हेडक्वार्टरले यो विषयमा निर्णय लिनेछ’, माओवादीका पूर्व स्थायी समिति सदस्यले भने ।
अध्यक्ष प्रचण्डले गत फागुन १५ मा संसदबाट १२ वुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको पक्षमा लिएको निर्णय विरुद्ध पार्टीभित्र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेताहरुले असहमति राखेका थिए । केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने लगायतका दर्जन नेताहरुले यो विषयमा असहमति राखिरहेका छन् ।
शुक्रबारबाट काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकमा अधयक्ष प्रचण्डले एमसीसी प्रकरणमा पार्टीले लिएको निर्णय अनुमोदनका लागि प्रस्ताव गरेपछि वरिष्ठ नेता श्रेष्ठले मौखिक रुपमा तथा महरा, गुरुङ र पोखरेलले लिखित रुपमा फरक मत राखेका थिए । त्यसपछि शनिबार र आइतबार दुई दिन बैठक स्थगित भएको थियो ।
महरा, गुरुङ र पोखरेलले लिखित फरक मत राखे पनि पार्टीभित्र विग्रह र विभाजन ल्याउने गरी छलफल नचलाएको भए पनि श्रेष्ठको असन्तुष्टि ले पार्टीलाई संकटतर्फ धकेलेको आशंका गरिएको थियो ।
संसदबाट एमसीसी अनुमोदन भएपछि पार्टी अध्यक्ष प्रचण्डले श्रेष्ठप्रति गरेको टिप्पणी र श्रेष्ठले पनि सार्वजनिक रुपमा सामाजिक सन्जालमार्फत गरेको टिप्पणीले माओवादीमा विग्रहको वातावरण तयार भएको शंका थियो ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका बीचमा भएको दुई तीन चरणको छलफलपछि पार्टीलाई एकताबद्ध बनाउने र एमसीसीमा नेताहरुले राखेको फरक मतलाई पनि स–सम्मान कसरी ब्यवस्थापन गर्ने भन्नेमा छलफल भएको थियो ।
मातृका यादव लगायतका नेताहरुले पार्टीमा श्रेष्ठले बार्गेनिङ गरेको आरोप लगाएका बेला प्रचण्ड र श्रेष्ठले विवादलाई समाधान गर्ने तहमा लगेको एक केन्द्रीय सदस्यले बताए ।
‘माओवादीको जारी केन्द्रीय समिति बैठकबाट सकभर केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्यूरो, स्थायी समिति तथा पदाधिकारी टुंगो लगाउने र निर्वाचन केन्द्रीत रणनीति निर्माण गरेर पार्टीलाई एकताबद्द बनाएर सम्पूर्ण शक्ति निर्वाचनमा जाने र आवश्यक परे विशेष महाधिवेशन बोलाउने, स्थानीय, प्रदेश र संघको २०७९ सालमा हुने तिनै तहको चुनाव सकेपछि नेताहरुले अहिले एमसीसीमा रहेका मतलाई आवश्यकताका आधारमा पार्टी पंक्तिभित्र बहसमा लैजाने र पार्टीले गर्ने भनेको विशेष महाधिवेशनमा पनि लैजाने गरी समझदारी बनेको छ’, स्रोतले भन्यो ।
मओवादी केन्द्रको गत पुसमा सम्पन्न महाधिवेशनले नै विचारको तहमा विकास गर्न वैचारिक छलफल गर्ने गरी पार्टीको विशेष महाधिवेशन तीनै तहको चुनाव सकेपछि गर्ने निर्णय गरिसकेको छ ।
त्यही महाधिवेशनमा आवश्यकताका आधारमा एमसीसीमा अहिले श्रेष्ठ लगायतका नेताहरुले राखेको फरक मतको बारेमा पनि छलफल गर्ने गरी जान सकिनेमा सहमति गरेपछि श्रेष्ठले पनि सामाजिक सञ्जालमा आन्तरिक मतभेदलाई अतिरञ्जनापूर्ण समाचार सम्प्रेषण नगर्न आग्रह गरेको एक केन्द्रीय सदस्यको दाबी छ ।
ती नेताका अनुसार अहिले जारी केन्द्रीय समितिमा फरक मत राख्न चाहने नेतालाई सम्सम्मान राख्न दिने र त्यसरी राखिने फरक मतलाई स्वभिावक रुपमा लिँदै सम्मान गर्ने सहमति बनेका स्रोतले जनाएको छ ।
प्रचण्डले एमसीसीलाई देशभक्तिपूर्ण आन्दोलनको बलमा कार्यान्वयन नै हुन दिन नपाए हुन्थ्यो भन्ने आफ्नो चाहना भएपनि संसदमा घोषणा भएको १२ बुँदे ब्याख्यात्मक घोषणालाई आधार बनाएर त्यसैको जनदवावमा देश हितको पक्षमा जागरण अभियान भने निरन्तर जनताका वीचमा गरिरहनु पर्ने निष्कर्षमा आइपुगेको भन्दै आफ्नो कामको बचाउ गरेका छन् ।
माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकमा केन्द्रीय कमितिलाई पूर्णता, पोलिटब्युरो, स्थायी कमिटी गठनलगायतका एजेण्डामाथि छलफल गरी टुंग्याउने भएको छ ।
माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । तर महासचिव र अन्य पदाधिकारीको विषय भने टुंगिन केही समय लाग्ने बताइएको छ ।