arrow

कोरोना महामारी

पीसीआर परीक्षणको तथ्यांक मात्रै किन सार्वजनिक गर्छ मन्त्रालय ?

एन्टिजेनबाट संक्रमण पुष्टि भएकाहरुको मृत्यु, निको र सक्रियको तथ्यांक किन छैन ?

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ फागुन २६ बिहिबार
health-ministry.png

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा सार्वजनिक गर्ने कोभिड-१९ सम्बन्धी तथ्यांकमा एन्टीजेन विधिबाट संक्रमण पुष्टि हुनेको संख्यालाई प्राथमिकता दिएको देखिँदैन । मन्त्रालयले सक्रिय संक्रमितको संख्यामा एन्टिजेन विधिबाट परीक्षण गरिएकाहरुको तथ्यांक समावेश गर्ने गरेको छैन । 

यस्तै मन्त्रालयले नयाँ थपिएका संक्रमितहरुमा पनि पीसीआरबाट संक्रमण पुष्टि भएका संक्रमितहरुलाई प्राथमिकताका साथ सार्वजनिक गर्ने गर्छ । यसरी एन्टिजेन विधिबाट नमुना परीक्षण गरेर संकमण पुष्टि भएकाहरुको तथ्यांकलाई मन्त्रालयले मध्य नजर गर्ने गरेको देखिन्छ ।

यस बिषयमा मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एन्टिजेन विधिबाट परीक्षण गरिएकाहरुको तथ्यांक पूर्णरुपमा प्राप्त नहुने गरेको बताएका छन् ।

'टाँढा टाँढाका स्थानीय तहमा लाखौंको संख्यामा एन्टिजेन परीक्षणको किट पठाइएको हुन्छ । त्यहाँ परीक्षण गरिएका व्यक्तिको पूर्ण तथ्यांकको टिपोट भएको हुँदैन र मन्त्रालयसँग यति संख्या जनालाई संक्रमण पुष्टि भयो भन्ने तथ्यांक मात्रै मिल्छ', उनले भने ।

यस्तै अर्काे समस्या भनेको समयमै तथ्यांक नपुग्नुसमेत रहेको सहप्रवक्ता अधिकारीले बताए । 

विभिन्न स्थानीय तहबाट एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएकाहरुको तथ्यांक केही दिन ढिला आइपुग्ने हुँदासमेत तथ्यांकलाई विस्तृत रुपमा समावेश गर्न कठिनाइ भएको उनको भनाइ छ ।

कतिपय मानिसहरु आफैले घरमै समेत एन्टिजेन परीक्षण गर्ने गरेको भएका कारणसमेत उनीहरुबाट पनि समयमै तथ्यांक नपाइने गरेको मन्त्रालयको भनाइ छ । 

घरमै परीक्षण गरेकाहरुलाई तथ्यांक समावेश गर्न मन्त्रालयले सुचित गराउँदै आए पनि समयमै र पूर्ण विवरण नपाइने गरेको मन्त्रालयको भनाइ छ ।

पीसीआर विधिबाट हुने परीक्षण पूर्णरुपमा प्रयोगशालाको मापदण्डमा आधारित रहेर हुने सहप्रवक्ता अधिकारीको भनाइ छ । पीसीआर विधिबाट हुने परीक्षणका क्रममा व्यक्तिको पूर्ण विवरण सहितको तथ्यांक २४ घण्टामा मन्त्रालयसँग सबै प्रयोगशालाबाट आइपुग्छ । देशभरका करिब ९० वटा प्रयोगशालामा पीसीआर विधिबाट नमुना परीक्षण हुने गर्छ । 

कुन मितिमा परीक्षण गरियो, व्यक्तिको नाम, उमेर लगायतका महत्वपूर्ण विवरण र समयमै तथ्यांक नआइपुग्दा पीसीआरबाट संक्रमण पुष्टि हुनेको तथ्यांकमा एन्टीजेनविधिबाट परीक्षण भएकाहरुको तथ्यांक समावेश गर्न नमिलेको मन्त्रालयको भनाइ छ ।

यद्यपि, एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएपछि धेरै जसो व्यक्तिले पीसीआरबाट समेत परीक्षण गर्ने र्गछन् । यस्तै कतिपय भने केही दिन आइसोलेसन बसेर अर्काे परीक्षण नै गर्दैनन् ।

फागुन २५ गतेसम्मको तथ्यांक हेर्दा नेपालमा एन्टीजेनविधिबाट १ लाख ३९ हजार ८ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण अर्थात् कोभिड-१९ पुष्टि भएको छ । यसमा कति जना निको भइसके, कति सक्रिय अवस्थामा छन् भन्ने थप तथ्यांक छैन ।

पीसीआर विधिबाट भने हालसम्म ९ लाख ७७ हजार ७ सय ९ जनामा संकमण पुष्टि भएको छ । यीमध्ये ९ लाख ६० हजार ६८ जना संक्रमणमुक्त भएका छन् । ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ ।

५ हजार ६ सय ९२ जना सक्रिय संक्रमणको अवस्थामा छन् । एन्टिजेनबाट संक्रमित हुनेको तथ्याङ्क नभएसँगै सक्रिय संक्रमितहरु कयौं धेरै रहेको बुझ्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ