एमसीसीबारे भ्रम छरियो, नयाँ पुस्ताले आफैँले नपढ्दा असर गर्यो
निलम दाहाल,
प्रकाशित २०७८ फागुन २६ बिहिबार
970
Shares
एउटा विकास परियोजनामा केही विवादास्पद विषय भलै थिए होला तर यसरी नेपालको अस्तित्व नै सकिसकेको जस्तो कुरा ठूला र कथित विद्धानले गर्दा नयाँपुस्तामा अत्यावश्यक ज्ञानको अभाव देखिएको छ । भलै उसको देशभक्ति स्वभाविक नै थियो र हुन्छ नै । तर यसरी अनावश्यक राष्ट्रभक्ति देखिने गरी उस्काउन त भएन नि ।
आज प्रविधिले छलाङ मारिसक्दा हरेक किशोर किशोरीको हातमा मोबाइल र इन्टरनेटको पहुँछ छ । ऊ आफ्नो पढाइ र करियरतर्फ भन्दा सामाजिक संजाल र भिडियो गेमतर्फ मोडिन थालिसकेको छ । जसको प्रभावले विषयगत ज्ञानको खडेरी प्रष्ट रुपमा रहने नै भयो । विद्यार्थी सम्पूर्ण रुपमा शिक्षकमा निर्भर हुन्छ । त्यही नोट पढ्छ । तर आफू विषयवस्तुको गहन अध्ययन गर्ने र मनन गर्ने धृष्टता गर्दैन भने उसमा विषयवस्तुको अभाव अवश्य खड्किने नै भयो ।
अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का हरेक विवादास्पद बुँदालाई सूक्ष्म ढङ्गले अध्ययन गर्ने हो भने ती विवाद अवश्य हैनन् । त्यहाँ कुनै सार्वभौमसत्ताको विषयमा हामी पछि पर्दैनौँ । तर तिनै विषयलाई गिजोलेर नयाँ पुस्ताको मनोविज्ञानलाई अन्त मोडिदिएर देशलाई मनोविज्ञानिक हिसाबले दुई भागमा बाँड्न तल्लीन तथाकथित राष्ट्रवादीको सकृयता धेरै भएको त हैन ? यसबारे पनि सोच्ने कि !
नयाँ पुस्ताले यो सम्झौतालाई राम्रोसँग पढेर मनन गर्दा कतै यस्तो अवस्था पो आउँदैन थियो कि ! उसले आफैँ अध्ययन गरे लगभग ९० प्रतिशत भ्रम त सम्भवतः चिरिन्थ्यो । किनकि एमसीसी पास भए अमेरिकी सेनाले परेड खेल्छन् भन्ने कुरा कतै लेखिएको छैन । तर एमसीसीका विरोधीले यसलाई बडो संवेदनशील र राष्ट्रवादी बनेजस्तो गरेर उठाउँछन् । नयाँ पुस्ताले पनि त्यही बुझ्छ । किनकि उसले त्यही सुनेको छ । पढेको छैन । जुन विषय एकदमै जटिल छ । विषय यससँग मात्र सम्बन्धित रहन्न । उसको भविष्यतर्फ पनि तेर्सिन्छ ।
भोलिको भविष्य बोक्न सक्षम हुनुपर्ने हाम्रो यो पुस्ता यसरी अरुका कुराका पछि लागेर तर्क गर्ने काममा लाग्नु बिल्कुल राम्रो संकेत भने हैन । यस्ता विषयमा हामीले गहन अध्ययन गरेरमात्र आफ्ना तर्क राख्ने गर्नुपर्छ । किनकि यस्तै कुरामा यो पुस्ताको भविष्य जोडिएको छ । हामीले सही र गलत आफैँ छुट्याउन सक्नुपर्छ । (१८ वर्षे लेखक दाहाल एमबीबीएसको तयारीमा छन्)