arrow

निर्वाचन : कर्णालीमा दलहरूले बढाए गतिविधि

logo
प्रकाश अधिकारी,
प्रकाशित २०७८ फागुन ३० सोमबार
nepal-poltical-party.jpg

कर्णाली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरुले विभिन्न गतिविधि थालेका छन् । सरकारले मिति घोषणा गरेसँगै दलहरुले प्रदेशदेखि टोलस्तरीयसम्म भेला, प्रशिक्षण, पार्टी प्रवेश लगायतका अभियान सञ्चालन गरिरहेका छन् । 

यतिबेला दलका नेता-कार्यकर्ताले प्रदेश राजधानी सुर्खेतमा मात्र नभइ वडा र टोलस्तरसम्म कार्यक्रम केन्द्रीत गरिरहेका छन् ।  नेकपा (एमाले) ले फागुन १४ र १५ गते स्थानीय तह निर्वाचन केन्द्रीत प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न गर्‍यो । पार्टीका उपाध्यक्ष रामबहादुर थापा, पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालसहितका नेताको उपस्थितिमा वीरेन्द्रनगरमा सम्पन्न उक्त बन्द प्रशिक्षण निर्वाचनमा कसरी जित हासिल गर्ने भन्ने विषयमै केन्द्रीत थियो । 

प्रशिक्षणमा सहभागी एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाका अनुसार विगतको चुनावी समीक्षा, आगामी निर्वाचनका लागि गर्नुपर्ने तयारी, पार्टीले तय गर्नुपर्ने एजेण्डालगायतका रणनीतिका विषयमा विज्ञसहित नेताहरुले प्रशिक्षण दिएका थिए । प्रदेशस्तरीय प्रशिक्षणपछि अगुवा नेता यतिबेला आ–आफ्नो गाउँ-नगर केन्द्रीत अभियानमा संलग्न छन् । प्रचार विभाग प्रमुख तिमिल्सेनाले सुर्खेतका नौ वटै स्थानीय तहका वडा र टोल–टोलसम्म पुगेर भेला, बैठक, प्रशिक्षण लगायतका गतिविधि सञ्चालन भइरहेको बताए ।  

नेपाली कांगे्रसले पनि आइतबारदेखि देशभर एकैसाथ निर्वाचन अभियान शुभारम्भ गरेको छ । कर्णालीका सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर कांग्रेसले एक महिने अभियान सञ्चालन गरेको हो । केन्द्रीय कार्यक्रम अनुसार यहाँका सबै जिल्लामा यो अभियान शुरु भइसकेको छ । 

केन्द्रीय अभियानका अतिरिक्त कांगे्रसका विभिन्न गाउँ-नगर कमिटी, भ्रातृ सङ्गठनले पनि भेला बैठक, पार्टी प्रवेशलगायतका कार्यक्रम जारी राखेका छन् । कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित घोषणा गरेको अभियान अन्तर्गत आइतबार केन्द्रीय महामन्त्री गगनकुमार थापाको उपस्थितिमा वीरेन्द्रनगरमा प्रशिक्षण सम्पन्न भयो । जिल्ला पार्टी सचिव देवकुमार सुवेदीले स्थानीय तह निर्वाचनका लागि सबै खाले तयारीहरु गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिइसकेको बताए ।

“घर घरमा पुगेर कांगे्रस कार्यकर्ताले आफ्नो पार्टीको नेतृत्वमा भएका कामहरुको प्रचार गर्न, विपक्षी पार्टीले फैलाएका भ्रम निवारण गर्न सबै तहका कमिटीलाई सक्रिय बनाएका छौं,” वीरेन्द्रनगरका नगर प्रमुखसमेत रहेका सुवेदीले भने, “मुलुकका लागि कांगे्रस किन आवश्यक छ ? हामीले के काम गर्‍यौं ? भनेर जनतालाई बुझाउने कोसिस गर्छौं ।” 

नेकपा (माओवादी केन्द्र) ले पनि स्थानीय तह निर्वाचनको तयारी थालेको छ । माओवादी केन्द्रले शुक्रबार वीरेन्द्रनगरमा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न गर्‍यो । यसअघि अधुरो रहेको पार्टीको प्रदेश कमिटीलाई पूर्णता दिनुका साथै प्रशिक्षण मुख्य गरी आसन्न स्थानीय तह निर्वाचन लक्षित नै थियो । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले पनि निर्वाचन लक्षित आफ्ना गतिविधि बढाउँदै गएको छ ।

वडा तहसम्म पार्टी कमिटी निर्माण, भ्रातृ सङ्गठनको कमिटी गठनमा सो पार्टीले जोड दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताको उपस्थितिमा शनिबार वीरेन्द्रनगरमा सभा सम्पन्न गर्‍यो । पार्टीका केन्द्रीय सदस्य सन्तोषी सिंह ठकुरीले गणतन्त्रवादी दलहरुबाट भएका विसङ्गतिपूर्ण क्रियाकलापको भण्डाफोर गर्दै हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनालाई मुख्य एजेण्डा बनाएर जनतामाझ जान केन्द्रीय नेतृत्वले निर्देशन दिएको बताए । 

सभालाई केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्तीकुमारी शाही लगायतका नेताले सम्बोधन गर्नुभएको थियो । यसैबीच, स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुको चर्चा शुरु हुन थालेको छ । कतिपय नेताले सामाजिक सञ्जालमार्फत प्रचार गर्न थालिसकेका छन् । 

विशेष गरी प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा जित हासिलका लागि दलहरुले आफ्नो सक्रियता तीव्र पार्नुका साथै सम्भावित आकांक्षीबारे चर्चा चलाइएको छ । स्थानीय तह जितेमा स्रोतसाधनको अधिकतम परिचालन गर्न सकिने र राष्ट्रियसभा निर्वाचनमा पनि मद्दत पुग्ने भएकाले दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । कर्णालीमा ७९ स्थानीय तह छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ