- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो समय तराई–मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेताहरुसँग निरन्तर छलफल र संवादमा छन् । पछिल्लो एक–डेढ हप्ताको बीचमा देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच तीन पटक कुराकानी भएको छ ।
यी दुई नेताबीच दुई पटक प्रत्यक्ष तथा एक पटक टेलिफोनमा कुराकानी भएको छ । गत शनिबार बिहान देउवा र लोसपाका पाँच शीर्ष नेता ठाकुर, राजेन्द्र महतो, शरत्सिह भण्डारी, अनिल झा र सर्वेन्द्रनाथ शुक्लबीच करिब एक घण्टा कुराकानी भएको थियो । कुराकानी लगत्तै लोसपाका नेताहरूले आन्तरिक छलफल गरेका थिए ।
लोसपा स्रोतका अनुसार स्थानीय तहको चुनावअघि नै सरकारमा जाने पक्षमा भण्डारी र अनिल झा छन् । प्रधानमन्त्री पनि लोसपालाई चुनावअघि नै सरकारमा ल्याउने विषयमा सकारात्मक भएको लोसपा स्रोतको भनाइ छ ।
लोसपालाई सरकारमा ल्याउन सके आगामी स्थानीय तहको चुनावमा एमाले र लोसपाबीच सहकार्य नहुने, चुनावमा एमाले एक्लिने र यसको फाइदा कांग्रेसलाई पुग्ने प्रधानमन्त्रीको बुझाइ रहेको स्रोतको भनाइ छ । देउवा र लोसपाका नेताहरुबीच भएको संयुक्त भेटमा सरकारमा जाने विषयमा पनि कुराकानी भएको थियो ।
यद्यपि लोसपाका नेताहरु प्रधानमन्त्रीसँगको भेट सरकारमा जाने भन्दा पनि लोसपाले उठाएका माग मुद्दा सम्बोधन गराउने विषयमा केन्द्रित रहेको बताउने गरेका छन् ।
लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले देउवा र लोसपाका नेताहरुबीच भएको भेटवार्तामा लोसपाले उठाएमा माग सम्बोधन गराउने विषयमा छलफल भएको बताए ।
तर लोसपा स्रोत भन्छ, बाहिर जे भने पनि चुनावअघि नै सरकारमा जान भण्डारी र झाले तीब्र पहल गरेका छन् ।
महतो उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा जाने पक्षमा छन । ठाकुर भने आफू नगइ आफू निकट एक व्यक्तिलाई सरकारमा पठाउने चाहनामा छन् ।
स्रोतका अनुसार लोसपाले देउवासँग कम्तीमा ती वटा मन्त्रालयमा मागेको छ । देउवा भने तत्काल दुई वटा मन्त्रालयमा दिन तयार रहेको स्रोतको भनाइ छ ।
अहिले उद्योग वाणिज्य, आपूर्ति तथा रक्षा मन्त्रालय खाली छ । उद्योग त बीचमा दुई दिन बाहेक झण्डै एक वर्षदेखि खाली छ । खाली भएको ठाउँमा प्रधानमन्त्रीले नयाँ नियुक्ति गरेका छैनन् । नयाँ नियुक्ति नगर्नुले पनि लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको चाहना रहेको लोसपाका नेताहरुको बुझाइ छ ।
देउवा प्रधानमन्त्री हुँदा लोसपाले देउवाको पक्षमा भोट दिएको थियो । एमसीसी लगायतका मुद्दामा लोसपाले देउवालाई साथ दिँदै आएको छ । तराई मधेस केन्द्रित अर्को दल जनता समाजवादी पार्टी जसपा सरकारमा रहे पनि देउवाले लोसपाका नेताहरुसँग सम्बन्ध राम्रो बनाएका छन् ।
लोसपाका एक दर्जन नेताहरू केपी शर्मा ओली प्रधानमन्त्री प्रधानमन्त्री भएको बेला सरकारमा गएका थिए । तीमध्ये कोही १९ र राजकिशोर यादव १३ दिनपछि सरकारबाट बाहिरिएका थिए ।