- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा ६ दिनदेखि फोहर उठेको छैन । ल्यान्डफिल साइट क्षेत्रका प्रभावित नागरिकले आफ्ना माग सम्बोधन नगरेको आरोपसहित सडक बन्द गरिदिएपछि पोखरा दुर्गन्धित बनेको छ ।
महानगर पटक पटक वार्तामा बस्ने, सम्झौता गर्ने तर कार्यान्वयन गर्न नसकेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । आफ्नो क्षेत्रमा सडक राम्रो नबनाएको, स्वास्थ्य चौकी नबनाएकोलगायत समस्या उनीहरूले राख्ने गरेका छन् ।
आफ्नो घरको फोहर फाल्न पोखरेलीले सरकारलाई पैसा पनि तिर्छन् । व्यवसाय र घरको कोठा हेरेर फोहर शुल्क लिने गरेको पोखराले राम्रो सेवा भने दिन सकेको छैन । सातामा मुस्किलले एक पटक फोहर लिने गाडी पठाइन्छ ।
त्यसमाथि धेरै जागिरे भएका कारण महानगरले पठाएको गाडी भेट्न सकिँदैन । पोखराको फोहोर १४ नम्बर वडामा रहेको ल्यान्डफिल साइटमा लगेर थुपारिन्छ । कुहिने नकुहिने सबै फोहोर एकै ठाउँमा राख्दा ल्यान्डफिलको आयु लगभग सकिएको छ ।
‘ल्यान्डफिल करिब करिब भरिएको छ । अब नयाँ ठाउँको खोजी गर्नुपर्छ,’ ल्यान्डफिल साइट इन्चार्ज नेत्र तिमल्सिना भन्छन्, ‘फोहर वर्गीकरण गरेको भए केही वर्ष अझै चल्न सक्थ्यो ।’
पोखरेलीले कुहिने र नकुहिने सबै फोहर एउटै पोको बनाएर कन्टेनरमा पठाउँछन् । कहिलेकाहीँ यहाँको फोहरबाट बिजुली निकाल्नेदेखि ब्रिक बनाउनेसम्मका योजना पोखरा महानगरले बनायो ।
तर कुनै पनि योजना टुङ्गोमा पुगेन र फोहरको दीर्घकालीन व्यवस्थापन अघि बढ्न सकेन । बरु पोखरामै केही सहकारीले नकुहिने फोहरको व्यवस्थापनमा नयाँ प्रयोग सुरु गरेका छन् ।
पोखरा १६ अर्मलामा रहेको ग्रिन भ्याली सहकारीले नागरिकसँग फोहर किनेर बेच्न थालेको हो । ‘सडकका छेउछेउमा फोहर छ । तीमध्ये ७० प्रतिशत फोहर नकुहिने खालको छ,’ सहकारीका अध्यक्ष प्रकाश आचार्यले भने, ‘नकुहिने फोहर छुटाइदिएको भए हामी लिन्थ्यौँ ।’
उनले सबैका घरघरै पुगेर नकुहिने फोहर सङ्कलन गर्न सकिने बताए । ‘हामीसँग दैनिक तीन टन फोहर उठाउन सक्ने क्षमता छ । तर फोहर छुटाइदिनुपर्छ,’ उनले भने, ‘पैसा तिरेर पनि सफासँग बस्न नपाएको पोखरेलीको फोहर हामी पैसा दिएर किन्छौँ ।’
सहकारीले गएको एक वर्षदेखि फोहर सङ्कलन गर्न थालेको हो । दैनिक एक टन फोहोर सङ्कलन गर्दै आएको उनले बताए । सहकारीले प्लास्टिक प्रतिकेजी ८ रुपैयाँ, कागज प्रतिकेजी १० रुपैयाँ, फलाम प्रति केजी ४० रुपैयाँ, कपडा प्रति केजी ४, तामा प्रति केजी ६ सय ५० रुपैयाँ र बियरको बोतल प्रतिगोटा ५० पैसामा खरिद गर्ने गरेको छ ।
सहकारीमा एक सय ४३ जना सेयर सदस्य छन् भने ५० लाख पुँजी सङ्कलन भएको छ । पोखराबाट मासिक ४० करोडको कवाडीजन्य वस्तुको व्यापार भइरहेको छ । मेटलबाहेक कवाडीजन्य सामग्रीबाट आठ करोडको व्यापार हुने गरेको छ ।
अहिलेको फोहर सङ्कलन प्रणालीलाई सुधार गर्न सके अझै धेरै कारोबार हुने बताइएको छ । ग्रिन भ्यालीजस्तै फोहरको कारोबारका लागि पोखरामा थप दुई वटा सहकारी पनि स्थापना गरिएका छन् ।
शीतलादेवी र राम बजारमा नयाँ सहकारी दर्ता भएर कवाडी सङ्कलनको काम सुरु गर्ने तयारी थालेका हुन् । केही समयअघि प्लास्टिकबाट सडक पिच गर्ने अभ्याससमेत पोखरामै भएको थियो ।
अहिले पोखराको टाउको दुखाइको विषय बनेको छ ‘फोहर’ । पोखराबाट दैनिक एक सय १० टन फोहोर उत्पादन हुन्छ । त्यसको सबैजसो ल्यान्डफिलमा लगिन्छ ।
पोखराले फोहर व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रमअनुसार निजी क्षेत्रलाई ठेक्कामा दिएको छ । उक्त कम्पनीहरूले नगरवासीबाट उठाएको रकममध्ये ८० प्रतिशत आफू राखेर २० प्रतिशत मात्रै नगरपालिकालाई दिन्छ ।