- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल कराँते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा हुने प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गर्ने भएको छ ।
सम्झनाकी निर्देशक रजना श्रेष्ठ जोशी र प्रतियोगिता संयोजक समेत रहेका आठौं सागमा कराँतेका स्वर्ण विजेता रवि महर्जनले सो सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरे । सम्झनाले १० लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने कार्यक्रममा जानकारी गराइयो । त्यसमा ८ लाख ५ हजार नगद र बाँकी खेलाडी प्रारम्भिक जाँच र अन्य स्वास्थ्य सामग्री रहेका छन् ।
प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते एकेडेमीको हलमा हुने छ । सातै प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका १ सय १० पुरुष र १ सय महिला खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
टिम च्याम्पियनले १ लाख तथा दोश्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष–महिला खेलाडीलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ । तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ४७ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने जानकारी गराए ।
यद्यपि अध्यक्ष गुरुङले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय प्रतियोगिता आयोजना गरेको खण्डमा राष्ट्रिय प्रतियोगितालाई नै अन्तिम आधार बनाइने बताए । उनले १ स्पर्धामा ४ खेलाडीको प्रारम्भिक छनोट गरिने अवगत गराए ।
सम्झनाकी निर्देशक जोशीले कराँते र खेलाडीलाई प्रोत्साहन गरौं भन्ने आयोजकको प्रस्तावलाई सहर्ष स्वीकार गरी प्रायोजन गरेको बताइन् । राखेपका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले प्रतियोगितालाई आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए ।