- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पार्टीको नीतिगत सिद्धान्त भन्दा बाहिर नगएको स्पष्ट पारेका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति देउवाले झोँक्किदै भने, ‘कांग्रेसको नीतिगत सिद्धान्त भन्दा म कसरी बाहिर जान सक्छु ? मलाई नसिकाउनुस् । तपाई भन्दा बढी कांग्रेसमा लागेको मान्छे हो म ।’ उनले ‘माओवादीलाई आफूले नभइ गिरिजाबाबुले ल्याएको हो भन्दै त्यतिबेला गिरिजाबाबुलाई केही भन्नुभयो ? अहिले मलाई भन्ने ?’ भन्दै प्रश्न गरे । देउवाले ‘कांग्रेसको नीति र सिद्धान्तमाथि मलाई प्रश्न नगर्नुस् यसकै लागि जीवन काटेको मान्छे हो’ भनी जवाफ दिएका छन् ।
देउवाले सहज हुँदै भने, ‘कम्युनिस्ट फुटेका छन् हामीले जितिहाल्छौं भन्ने साथीहरूलाई लागेको छ। म त गठबन्धनको पक्षमा थिइनँ साथीहरूले नै मलाई यहाँसम्म ल्याएको हो । म प्रधानमन्त्री हुन खोजेको होइन, तपाईंहरूले नै होइन मलाई प्रधानमन्त्री बन्न दबाब दिएको ? हाम्रो पार्टीमा गम्भीर रोग छ अन्तर्घातको । त्यो समाप्त भए गठबन्धन गर्न पर्दैन नत्र त जित्न पर्यो नि ।’
आफ्नो सम्बोधनका क्रममा सभापति देउवाले उसभापति र महामन्त्रीहरूलाई देखाएर पार्टीमा अनुशासन कायम गराउनुस् अन्तरघात गर्नेलाई कारबाही गर्नुस् भनेर निर्देशन दिएका छन् ।
महामन्त्री गगनकुमार थापाले ‘भोलि संसदीय चुनावमा माओवादी हामीसँगै रहन्छ भन्ने के ग्यारेन्टी छ ? यसको जिम्मेवारी कसले लिन्छौं ? रोल्पामा कोही कोही मिल्न आउने भनेकाले गठबन्धन गर्ने भनेको हो नत्र एक्लै लड्थ्यौं प्रचण्डले आजै मात्र भनेका छन् । यसलाई कांग्रेसले नोट गर्न पर्छ कि पर्दैन ?’ भनी प्रश्न गरे ।
उनले अगाडि भने, ‘हामी कमजोर भएर किन जाने ? गठबन्धनको कुरा भइरहँदा सरकारको डेलिभरि भएन। सन्तुष्ट हुन सक्ने अवस्था छैन। भोलि प्रश्न उठ्दा के जवाफ दिने ? भोलि सरकारले गलत निर्णय गर्दा त्यसको भारी हामीले बोक्न सक्दैनौं । भोलि कम्युनिस्ट मिल्छन् मिल्छन्, भन्ने हो भने कम्युनिस्टहरू लोकतन्त्र विरोधी हुन्, संविधान विरोधी हुन् भन्ने एजेन्डा लिएर जान किन नसक्ने ?’
त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्ट एक हुन नदिने र कोही न कोहीलाई साथ लिएर जाने विकल्प भएको बताए । उनले सभापति देउवाको भनाइप्रति टिप्पणी गर्दै भने, ‘सभापतिजी एमाले बलियो छ भन्न हुन्थेन ।’
नेता शर्माले भने, ‘तथ्यले गठबन्धन गरेर जान पर्छ तर मापदण्ड बनाउनुपर्छ । भरतपुर जस्ता ठाउँमा मापदण्ड बनाएर जान पर्छ।
त्यस्तै डा. शेखर कोइरालाले गठबन्धन किन र केका लागि गर्ने भन्दै गठबन्धन गर्न नहुनेमा फेरि जोड दिएका छन् । उनले सभापति देउवातर्फ इंकित गर्दै भने, ‘गठबन्धन कोसँग गर्ने भनेर भन्न सक्नुहुन्न कि बोल्न डराउनु भएको छ कि आँट गर्नु भएको छैन ?’
चितवन कांग्रेसको गढ भएको स्मरण गर्दै डा. कोइरालाले ‘२०४८ साल बाहेक ५१, ५६, ७० मा चितवन हामीले जितेका हौं’ भनेका छन् ।
उनले पार्टीभित्र आफ्ना कार्यकर्तालाई सम्बोधन नगरी बाहिर मिल्ने भन्दै हिँडेर परिणाम राम्रो नआउने भन्दै आफूहरुको गठबन्धनले मात्र नहुने स्पष्ट पारे । उनले देउवालाई सम्झाउँदै भने, ‘कम्युनिष्टहरु उत्तिर किन गए बुझ्नुस् ।’
सभापति देउवाले एमाले धेरै बलियो भनेर भनेपछि कांग्रेस कार्यकर्ताहरुको मनोबल के हुन्छ ? भनी प्रश्न गर्दै डा कोइरालाले केन्द्रले लादेको गठबन्धन सफल नहुने दाबी गरे ।
फेरि दोहोर्याउँदै भने, ‘नेकाँको विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर गर्ने गठबन्धन स्वीकार्य हुन सक्दैन ।’
उपसभापति धनराज गुरुङले पनि एमाले र माओवादी केन्द्रका नेताहरु चीन गएकोलाई व्यङ्ग्यपूर्वक सुनाउँदै मामा घर गएका कम्युनिष्ट भान्जाभान्जीहरु मिलेमा के हुन्छ ? भन्दै नेतृत्वलाई प्रश्न गरेका छन् ।
केन्द्रीय सदस्य बलबहादुर केसीले पनि गठबन्धन गर्नुको उद्धेश्य के हो भनी नेतृत्वलाई सोधेका छन् । उनले पार्टी, देश के बचाउन गठबन्धन गर्ने गर्ने हो यसको उद्धेश्यमाथि छलफल खोइ ? भनी नेतृत्वलाई प्रश्न गरेका छन् ।
उनले भने, ‘पार्टीभित्र एकता नगर्ने अनि सभापति र शेखरजीबीच जुहारीबीच अनि बाहिर गठबन्धन खोज्ने ?’ उनले थपे, ‘यसको विकल्पको लागि गर्न खोजेको हो गठबन्धन ?’
नेता केसीले ‘मतदातालाई कांग्रेसमा ल्याउन फेरि सकिन्छ कि सकिँदैन लामो समय गठबन्धन गर्दा ?’ भनी प्रश्न गर्दैै एमाले र माओवादीबीच एकता भएपछि पार्टी फुट्दा रामबहादुर थापा बादलसमेत माओवादीमै नफर्की एमालेमा बसेको उदाहरणसमेत दिए ।
यता अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँडले कांग्रेसले तीन तहको चुनावमा सहकार्य गर्ने भनेर प्रतिबद्धता जनाको जानकारी दिए । उनले भने, ‘कांग्रेसले आफ्नो विश्वसनीयता गुमाउनु हुँदैन । कांग्रेसलाई राष्ट्रिय राजनीतिमा अलग अलग गराउने गरी जानु हुन्न ।’
उनले शक्तिकेन्द्रले देशभित्र र देश बाहिर कम्युनिष्टलाई एक बनाउन पहल गरिरहेको उल्लेख गर्दै ‘संस्थागत रुपमा गठबन्धन गर्ने सिद्धात पारित गरियोस्’ भनेका छन् ।
सोमबारको बैठकमा सभापति देउवासहित सबै पदाधिकारी र केन्द्रीय सदस्य गरी ४२ जनाले आफ्नो भनाइ राखेका छन् ।
जसमा सहभापतिसहित नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार हुन् ।
त्यस्तै केन्द्रीय सदस्यहरुमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह के।सी।, प्रवक्ता डा प्रकाशशरण महत, डा शेखर कोइराला, बलबहादुर के।सी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाँण, सुशीला थिङ र गणेश लामाले आ–आफ्नो धारणा व्यक्त गरेका हुन् ।
केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्नेछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामै बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
गत शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकको पहिलो दिन २२ तथा दोस्रो दिन ५४ जनाले आफ्नो भनाइ राखेका थिए ।