arrow

ओलीले आँखा चिम्लिदा युवा संघमा बेथिति, चुनावमा अन्तर्घात हुने सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
yuba-sangh.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली एमालेभित्र कुनै पनि प्रकारको गुट बन्न नदिने गरी अघि बढेका छन् । चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनपछि भित्र भित्रै उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, शंकर पोखरेलको गुट निर्माण भएकोमा पार्टी अध्यक्ष ओलीले त्यसलाई न्यूनीकरण गर्न लागि परेका छन् । 

गत माघदेखि युवा संघ भित्रको विवादलाई लिएर पार्टीभित्र स्पष्ट दुई धार देखिएपछि त्यसको असर तलसम्म पर्ने भएकाले ओलीले सो विवादलाई अघि नबढाउन निर्देशन दिएका छन् । गत माघमा युवा संघका इन्चार्ज महेश बस्नेतले महासचिव शंकर पोखरेल निकट रहेका धेरै नेताहरुलाई बिदा गर्दे मनोमानी गरेपछि त्यसले उग्र रुप लिएको थियो । 

उपाध्यक्षहरु रोशन बस्नेत, उर्मिला सुनुवार, अमित लामा लगायतका नेताहरुले संगठनमा बस्नेतले मनोमानी गरेको उजुरी गरेपछि संगठन विभाग प्रमुख खगराज अधिकारीले त्यसलाई सच्याउन निर्देशन दिएका थिए । सो निर्देशनका विरुद्ध महेश बस्नेतले अधिकारीलाई सामाजिक सञ्जालमै गाली गरेका थिए । 

विवाद चर्कदै जाँदा स्थानीय तहको निर्वाचनसमेत प्रभावित हुने देखिएपछि पार्टी अध्यक्ष ओलीले अहिलेलाई सो विवाद थाती राख्दै युवा संघलाई बस्नेतको योजना मुताविक चलाउन निर्देशन दिएका छन् ।

‘युवा संघका अध्यक्ष बस्नेत यतिबेला उपाध्यक्ष विष्णु पौडेलको पक्षमा देखिनुभएको छ, संगठन विभाग प्रमुख खगराज अधिकारी महासचिव शंकर पोखरेलको पक्षमा देखिनुभएको छ जसका कारण विवाद बढ्दा पार्टी र संगठनलाई घाटा हुने अवस्था आएकाले पार्टी अध्यक्षले नै तत्कालै युवा संघको विवाद यथास्थितिमा राख्न निर्देशन दिनुभएको हो’, ओली निकट रहेका एक स्थायी कमिटी सदस्यले भने । 

उनका अनुसार युवा संघको यो रोग अन्य जनवर्गीय संगठनमा पनि सर्ने अवस्था देखिएपछि अध्यक्ष रोकेका हुन् । ‘निर्वाचनको मुखमा युवा नेताहरु परिचालन हुनुपर्नेमा विवाद गरेर बसे भने त्यसको ठूलो असर पर्नेछ, जसले गर्दा पार्टीको माथिल्लो तह पनि विभाजित हुनपुग्छ’, एमालेका एक स्थायी कमिटी सदस्यले भने ‘चितवनमा महेश बस्नेतले महासचिवका विरुद्ध कार्ड प्रयोग गरेका थिए त्यतिबेला पौडेलले नै सहमतिको नाममा सबैलाई धैर्य गर्न आग्रह गरेका थिए । महाधिवेशनपछि युवा संघमा विवाद आयो त्यसमा सबैले खेल्न खोजेका हुन् ।’

युवा संघको एउटा पंक्ति नै महेश बस्नेतका विरुद्ध लागिरहेको र केपी ओली तथा राष्ट्रपति विद्या भण्डारीको पुत्ला जलाउने व्यक्तिलाई संगठनमा ल्याएको भन्दै एउटा समूहले असन्तुष्टि जनाएको छ । 

प्रदेश २ का अध्यक्ष जानी खानलाई बनाएपछि युवा संघभित्र ठूलै विवाद भएको थियो । उनले राष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष ओली विरुद्ध पुत्ला दहन गरेका थिए । बस्नेतले उनै खानलाई  प्रदेश २ को जिम्मेवारी दिएका थिए । त्यस्तै गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई समेटेर युथ फोर्स बनाइएको र त्यसको नाममा पैसा उठाएको आरोप लगाइएको विषयमा पनि बस्नेतको विरोध भएको थियो । 

पार्टी अध्यक्ष ओलीले तत्कालै बस्नेतलाई युवा संघको इन्चार्जबाट हटाउँदा वा बाहिर राख्दा पनि युवा संघमा समस्या आउने भएकाले अहिलेलाई पुरानो विवाद थाती राख्न निर्देशन दिएको बताइन्छ ।

‘देशभर पार्टी प्रवेशको कार्यक्रम चलिरहेको छ तर केन्द्रमा भने विवाद देखाउदा त्यसले राम्रो सन्देश नजाने भएकै कारण युवा संघको विवादमा ओली आँखा चिम्लिएका हुन्’, ओली निकट रहेका एक नेताले भने । 

धेरै जसो युवा संघका कार्यकर्ताहरु ठेक्का पट्टामा संलग्न भएको र उनीहरुले संगठनलाई चन्दा दिने भएकाले पनि बस्नेतले तिनीहरुको संरक्षण गर्दै आएका छन् । 

साथै विभिन्न रेष्टुरेण्ट व्यवसायीहरु र रात्रीकालीन व्यवसायमा संलग्न रहेका व्यक्तिहरुलाई पनि बस्नेतले युथ फोर्समा समेट्ने गरेका छन् । तर पार्टी अध्यक्ष ओलीले यो विषयमा आँखा चिम्लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ