- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । बुद्धभूमि नगरपालिकामा १५ बेडको सुविधा सम्पन्न अस्पताल निर्णय हुन लागेको छ । नगरपालिकाकै गौरवको आयोजना अन्तर्गत बुद्धभुमी नगरपालिकामा १९ करोड बढी लागतको १५ बेडको सुविधा सम्पन्न अस्पताल निर्माण हुन लागेको हो ।
बुधवार नगरपालिका-२ बडहरामा आधारभूत तहको अस्पतालको नगर प्रमुख केशव कुमार श्रेष्ठले पूजा पठा गरी फाउन्डेशमा ५ वटा ढुङ्गा राखेर अस्पतालको शिलान्यास गरेका हुन । बुद्धभुमी नगरपालिकामा १९ करोड १० लाख लागतको अस्पताल निर्माण सुरु गरिएको हो ।
मेयर श्रेष्ठले नगर कै गौरवका आयोजना अन्तर्गत अस्पतालको निर्माण कार्य अघि बढेको बताए । उनले आफ्नो कार्यकालमा नगरपालिकाले भौतिक, शिक्षा, सामाजिक क्षेत्रमा नगरपालिकाले धेरै विकास गरेको दाबी गरे ।
अस्पताल निर्माण भए पछि नगरपालिकाले स्वास्थ्य सेवामा फड्को मार्ने उनले बताए । सामान्य उपचारका लागि समेत जिल्लाको सदरमुकाम तौलिहवा र छिमेकी जिल्ला रुपन्देही र भारत जानु पर्ने बाध्यता अस्पताल निर्माण भए पछि हट्ने प्रमुख श्रेष्ठले बताए । उनले नगरवासीको स्वास्थ्य सेवा आफ्नो पालिकाको पहिलो प्राथमिकता रहेको बताए ।
दुई तले लिफ्ट प्रणालीको भवनमा जनरल फिजिसियन, डेनटल, नेत्र रोग, प्याथोलोजी, ल्याब, प्रसूति, फार्मेसी लागायता सेवा हुने नगरपालिकाका इन्जिनियर कुशल घिमिरेले बताए । यस्तै अप्रेसन थिएटर, एक्सरे, पुरुष र महिलाको छुट्टा छुट्टै वार्ड समेत रहनेछ । अस्पतालको निर्माण कार्य २ वर्ष भित्र पुरा हुनेछ ।
शिलान्यासका कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवराज सुबेदीले नगरवासीको बर्सैको प्रतीक्षा अब भने पुरा हुने बताए । उनले नगर क्षेत्र भित्र निर्माण हुने अस्पतालले नगरवासीहरू लाभान्वित हुने बताए ।
कार्यक्रममा प्रशासन शाखा प्रमुख राजन पोख्रेल,वडा नम्बर १ का अध्यक्ष तेज बहादुर बस्नेत, ४ का अध्यक्ष पवन कुमार चौधरी, ८ का अध्यक्ष कपिलदेव तिवारी, स्वास्थ्य शाखा प्रमुख खुबीराम खनाल लगायतको सहभागिता थियो । अस्पताल बन्ने भएपछि स्थानीयहरू खुसी भएका छन् ।