arrow

स्याङ्जामा पुरुष भन्दा महिला मतदाता सङ्ख्या बढी

३१८ मतदान केन्द्रलाई झण्डै ३२ सय कर्मचारी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ चैत २० आइतबार
syangja-tourisium.jpeg

स्याङ्जा । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारी तिब्र पारेको छ । निर्वाचन आयोगले दिएको निर्देशन बमोजिम जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले तयारीलाई तिब्र पारेको हो । 

स्थानीयतहको निर्वाचनको समय ३९ दिन बाँकी रहदा जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले अन्तिम मतदाता नामावली प्रकाशन सगै मतदान केन्द्रमा खटाउने कर्मचारी विवरण संकलन गरिरहेको जनाएको छ । ३ सय १८ मतदान केन्द्रका लागि आवश्यक पर्ने सुरक्षा र कर्मचारीको विवरण तयारी गर्ने अवस्थामा जुटेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गुरुप्रसाद मरासिनीले बताए । 

एक मतदान केन्द्रमा ६ देखि ८ जना कर्मचारी आवश्यकता पर्छ प्रमुख मरासिनीले भने,‘११ स्थानीयतहको निर्वाचनका लागि झण्डै १६ सय कर्मचारी आवश्यक देखिन्छ ।’ अहिले हरेक सरकारी निकायसगँ कर्मचारी विवरण मागिरहेका छौं उनले भने । 

१ सय ९९ मतदान स्थल रहेको स्याङ्जामा सोही संख्यामा सुरक्षा पनि आवश्यकता देखिन्छ । निर्वाचनको मिति नजिकिदै जादा मतदाता शिक्षा कार्यक्रम भने संचालनमा ढिलाई भएको देखिएको छ । मतदाता शिक्षा समयमै नहुदा धेरै मतपत्र बदर हुनसक्ने आकल गरिएको छ । 

२०७४ को निर्वाचन पछि थपिएका मतादातालाई मतदान शिक्षा दिनु आवश्यक रहने बताइएको छ । कार्यालयले प्रकाशन गरेको अन्तिम नामावली अनुसार २ लाख ४० हजार ५ सय ३५ मतदाता संख्या रहेका छन् । मतदाता संख्यामा सबै भन्दा धेरै वालिङ नगरपालिका र थोरै फेदिखोला गाँउपालिका रहेका छन् । 

निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतदाता नामावलीमा वालिङ नगरपालिकामा ३९ हजार ६ सय ५९ जना र फेदिखोला गाँउपालिकामा १२ हजार १ सय ६५ मतदाताले मतदानमा सहभागी हुन पाउनेछन् । 

११ पालिका मध्ये मतदान स्थल वालिङमा धेरै छन् भने मतदान केन्द्र पुतलीबजारमा धेरै रहेका छन् । मतदान स्थल र मतदाताको संख्या अनुसार कर्मचारी र सुरक्षा व्यवस्था परिचालन हुने निर्वाचन कार्यालयले जनाएको छ । 

थप सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले झण्डै १३ सय महिला पुरुष म्यादी प्रहरीमा भर्ना गरी तालिम दिइरहेको छ । भयरहित वातावरणमा सबै मतादाताहरु निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि जिल्ला स्थित सुरक्षा निकायले पनि आन्तरिक रणनीतिक योजना तयारीमा लागेको बताइएको छ ।

 स्याङ्जामा स्थानीयतहको निर्वाचनमा पुरुषको भन्दा महिलाको संख्या उल्लेख रहेको छ । पुरुषको हकमा ७ हजार २ सय २ संख्याले महिला मतदाताको संख्या बढी रहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । 

१ लाख १६ हजार ६ सय ६६ पुरुष मतदाता रहेका छन् भने १ लाख २३ हजार ८ सय ६८ महिला मतदाता हाल रहेका छन् । ११ पालिका मध्ये अर्जुनचौपारी र आँधीखोला गाँउपालिका बाहेक अन्य पालिकामा महिलाको मतदाता संख्या बढी रहेको छ । 

वालिङमा १५०५, पुतलीबजारमा ११२८, चापाकोटमा १०६६, भीरकोटमा ८१५ र गल्याङ नगरपालिकामा ७५९ महिला मतदाता बढी रहेका छने भने कालीगण्डकीमा ६७८, फेदिखोलामा ५४५, हरीनासमा ४२७ र बिरुवा गाँउपालिकामा ३२१ महिला मतदाता बढी रहेका छन् । मतदाता संख्यामा पनि बृद्धि र स्थानीयतहको नेतृत्वमा महिला आकाक्षीहरु पनि बढी देखिएकाले महिलाहरुलाई नेतृत्वमा सहज हुने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ