arrow

पाँच दलीय चुनावी तालमेल म्याग्दीमा पनि 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
gathabandha-five-parties.jpg

म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा) को बेनीमा बसेको संयुक्त बैठकले जिल्लाका ६ वटै स्थानीय तहमा साझा उम्मेदवार बनाउने निर्णय गरेको हो । 

कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छवि विश्वकर्मा र जनता समाजवादीका अध्यक्ष देवेन्द्रबहादुर विश्वकर्मा सहभागी थिए । 

यसअघिको बैठकले गर्बुजाको संयोजकत्वमा गठन भएको पाँच दलीय संयन्त्रले वडा तहबाट सबै दलको शक्ति आंकलन र अनुमानित मत विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो । 

सबै दलले वडा र पालिकाबाट सङ्कलन गरेको विवरणको विष्लेषण गरेर केन्द्रीय संयन्त्रले बनाउने विधिका आधारमा कहाँ कसको उम्मेदवार बनाउने सम्बन्धि निर्णय गर्ने बैठकमा गरिएको छ । 

सबै दलको सबै वडाबाट आएको रिपोर्टका आधारमा उम्मेदवारी छनोट गरिने बताइएको छ । चुनावी तालमेल गर्न जिल्ला र पालिकास्तरीय संयन्त्र विस्तार गरिएको छ ।  

विसं २०७४ को निर्वाचनमा कांग्रेसले बेनी नगरपालिकामा प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वडामा अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले सात वडामा, एमालेले दुई गाउँपालिकामा अध्यक्ष, तीन गाउँपालिकामा उपाध्यक्ष र २३ वडाध्यक्ष जितेको थियो । बेनी नगरको उपप्रमुखमा राप्रपा विजयी भएको थियो । 

बेनी नगरपालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । रघुगङ्गामा एमाले र माओवादी, बेनीमा एमाले र राप्रपाले तालमेल गरेका थिए भने मालिका र अन्नपूर्ण गाउँपालिकामा तालमेल भएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ