arrow

देउवालाई दबाब दिन कास्की काँग्रेसका नेता काठमाडौँमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
congress-party-office-final.jpg
फाइल तस्बिर

पोखरा। केन्द्रीय नेतृत्वबाटै पोखरा महानगरको प्रमुख पद गुम्ने खतरा देखेपछि कास्की काँग्रेसका नेताहरू काठमाडौँ पुगेका छन्। सभापति किशोरदत्त बरालसहितको टोलीले केन्द्रीय नेताहरूलाई दबाब दिने र पोखराको मेयर आफैले पाउनुपर्ने माग राख्ने छन्। टोलीमा पुर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशमन्त्री विन्दुकुमार थापासहितका नेता छ।

काँग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई बुधवार भेटेर पोखराको जनमतबारे स्पष्ट पारिने सभापति बरालले बताए। ‘अहिलेसम्म निर्णय भएको छैन। काँग्रेसबाहेक अरूले जित्न सक्दैन भन्ने स्थापित गराउन हामी काठमाडौँ पुगेका हौँ,’ उनले भने, ‘जिल्लामा कसैले पनि मेयर छोड्न मान्दैनन्। अरूलाई दिएर चुनाव जित्न पनि सकिँदैन।’

डेढदेखि दुई सय जना नेता कार्यकर्ताले केन्द्रीय कार्यालय घेराउ गर्ने सचिव भानु ढकालले बताए। ‘गठबन्धन गर्ने निर्णय ठिकै छ। तर, जनतमको आधारमा केन्द्रीय समितिले महानगर विभाजन गर्न लागेपछि त्यसको विरोध गरेको हो। जनमतको आधारमा विभाजन हुनुपर्छ,’ उनले भने, ‘हामी मेयर छोडेर जान सक्ने अवस्थामा छैनौँ। डालाको चामल मानामा खन्याउँदा पोखिन्छ। मानोको चामल डालोमा हाल्दा ठिक हुन्छ। पोखरामा काँग्रेस डालो हो, अरू माना हुन्।’

उपमेयर भने गठबन्धनका कुनै दललाई दिन सकिने उनीहरूको सुझाव छ। केन्द्रीय गठबन्धनका नेताहरूको धारणाअनुसार पोखरा नेकपा एकीकृत समाजवादीको भागमा पर्न सक्ने सङ्केत छ। यद्यपि, यसबारे अझै निर्णय भैसकेको छैन। ‘निर्णय सच्याउनुपर्छ, नत्र हामी अस्वीकार गर्छौँ। जबरजस्ती निर्णय लाद्न खोजे आफै निर्णय गरेर पोखरामा काँग्रेस जिताउँछौँ,’ पूर्व मन्त्री यज्ञबहादुर थापा भन्छन्, ‘प्रमुख पद छोड्नु काँग्रेसका लागि महँगो हुनेछ।’

अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार करिब १४ हजार मतान्तरले पराजित भएको पोखरामा अहिले एमालेबाट एकीकृत समाजवादीका रूपमा फुटेपछि काँग्रेसलाई जित्ने आस छ। माओवादी पनि अघिल्लो चुनावमा आफूहरूले काँग्रेसलाई सहयोग गरेको भन्दै पैँचो फिर्ता हुनुपर्ने माग राखेको छ। समाजवादीले समेत मेयरमा  जित्ने दाबी पेस गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ