arrow

सशस्त्रमा आइजिपी बन्न आकाङ्क्षीहरूको दौड : अर्याल, पौडेल र गौतममा को बलियो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
APF.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सम्मुखमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तर्फ नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) को नियुक्ति गर्नेछ। आउँदो वैशाख १९ गते दुवै प्रहरी सङ्गठनका आइजिपीहरू ३०वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएकाले सरकारले दुवै प्रहरी सङ्गठनमा नयाँ आइजिपी  नियुक्ति गर्नुपर्ने भएको हो। निर्वाचनको १० दिन पहिले मात्र अर्थात् वैशाख १९ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी सङ्गठनका प्रहरी प्रमुखको जिम्मेवारीमा हुने परिवर्तन अहिले सुरक्षा चासोको विषय बनेको छ।

चुनावी सुरक्षामा अहम् भूमिका निर्वाह गर्ने अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बलमा चुनावी मितिको एक महिनाभित्र हुने तीन प्रमुखको परिवर्तनले आसन्न निर्वाचनको  सुरक्षामा के कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले बहसको विषय बनेको छ। हालका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल यही चैत २८ गते ४ वर्षे पदावधिका कारण अवकाश पाएपछि उनले पुष्पराम केसीलाई सङ्गठनको जिम्मेवारी बुझाएका थिए। उनको पनि आउँदो वैशाख १९ गते अवकाश हुने भएपछि अहिलेका डिआइजीहरू मध्येबाट आइजिपी नियुक्ति गर्नुपर्नेछ।

सशस्त्रको नेतृत्वका लागि भने कडा प्रतिस्पर्धा हुने देखिएको छ। आइजी लागि हालका डिआइजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम दौडमा रहेका छन्। पुष्पराम केसी वा रामरशरण पौडेलमध्ये एक जना १९ दिनको लागि आइजी नियुक्त भएपछि रिक्त रहेको एआइजी पदमा उनीहरूमध्ये जो बढुवामा पर्नेछन् उनै सशस्त्रको भावी आइजी हुने निश्चित जस्तै छ। सशस्त्र प्रहरी ऐनमै एआइजीहरू मध्येबाट आइजिपी हुने उल्लेख भएका कारण अब रिक्त हुने एआइजी पदमा जो बढुवा हुन्छन् उनै आइजिपी हुने निश्चित भएको हो।

ज्येष्ठताका साथै कार्य कुशलता, कार्यसम्पादन क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता, आफ्नो मातहतका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यलाई मूल्याङ्कन गरेर उपयुक्त उम्मेदवारलाई नेपाल सरकारले बढुवा गर्न सक्ने व्यवस्था गरिएकोले डिआइजीमा बढुवामा एक नम्बरका रहेका राजु  अर्याल नै एआइजी हुनसक्ने सम्भावना रहेको छ।

अर्याल र पौडेल २०५४ चैतमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। गौतम २०५२  वैशाखमा नेपाली सेनाको सहायक सेनानीबाट आएको भए पनि उनी एसएसपी र डिआइजी बढुवामा अर्यालभन्दा पछि रहेका छन्।

सशस्त्र मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत अर्यालसँग प्रदेश–२ बाहिनी र उपत्यका बाहिनीको कमान्ड सम्हालेको अनुभव छ। त्यस्तै विभिन्न देशको शान्ति मिसनमासमेत उनले नेतृत्व गरेका छन्। विगतमा सशस्त्र प्रहरी बल प्रवक्ताको रूपमा काम गरिसकेका अर्याल कमान्ड कन्ट्रोलमा निकै सक्षम रहेको सशस्त्र प्रहरी बलका अधिकारीहरूले बताउने गरेका छन्। प्रदेश २ मा बस्दा अर्यालले सङ्गठनको साखलाई उच्चो बनाएको सशस्त्र प्रहरी बलका अधिकारीहरूले बताउने गरेका छन्।

सशस्त्र प्रहरीमा नेपाली सेनाकै जस्तो अहिलेसम्म ज्येष्ठतालाई प्राथमिकता दिँदै आएका कारण कम विवाद हुने सम्भावना छ। यद्यपि तीन डिआइजीले नै आइजी हुन प्रयास गरिरहेका छन्। अर्याल पहिलो, पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा डिआइजी बढुवा भएका थिए। तीन वर्षको कार्यसम्पादन मूल्याङ्कन हेरेर सरकारले तीनमध्ये एक जनालाई एआइजी बनाउनेछ। १९ दिनभित्र जो एआइजी हुन्छ, उही आइजी हुने निश्चितजस्तै छ।

विन्ध्यवासिनी बाहिनी र मुक्तिनाथ बाहिनी पोखराको कमान्ड सम्हालिसकेका पौडेल सशस्त्रको नेतृत्वका लागि दाबी गरिरहेका छन्। सङ्गठन भित्र निकै चतुर खेलाडी रहेका पौडेल भावी नेतृत्वका लागि तीव्र लबिङमा छन्।

राजनीतिक पार्टीसँग पनि राम्रो सम्पर्क रहेका उनी नेतृत्वका लबिङ गरिरहेको स्रोतको दाबी छ। त्यसै गरी उपत्यका बाहिनी र प्रदेश २ को कमान्ड गरेका गौतमले पनि आफूले सकेको राजनीतिक लबिङ गरिरहेका छन्। उनी पनि अहिले एआइजी बन्ने दौडमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ