arrow

लोसपाको अस्तित्व सङ्कटामा

आधा दर्जनभन्दा बढी कार्यकारिणी सदस्यहरूले पार्टी छाडे

लोसपाको अस्तित्व सङ्कटामा

logo
आकाश शर्मा,
प्रकाशित २०७८ चैत ३० बुधबार
losapa-mahantha-rajendra-2078-12-21.jpg
फाइल तस्बिर

काठमाडौँ। चुनावको सङ्घारमा तराई मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा पहिरो गएको छ। करिब ७ महिना अघि गठन भएको लोसपाका आधा दर्जन भन्दा बढी कार्यकारिणी सदस्यहरू पार्टी छाडेर अन्य पार्टीमा गएका छन्। लोसपाले अहिलेसम्म कार्यकारिणी समिति मात्र बनाएको छ। केन्द्रीय समिति, प्रदेश समिति तथा भातृ सङ्गठनहरू बनाउन सकेको छैन। निर्वाचन आयोगमा लोसपाले ३१ सदस्यीय कार्यकारिणी सदस्यको सूचि बुझाएको छ। त्यो बाहेक लोसपाले सङ्गठन विस्तार गर्न सकेको छैन।

केही दिन अघि मात्र लोसपाका कार्यकारिणी सदस्य कृष्ण सिंह लोसपा छाडी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। उनलाई नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सदस्यता दिई पार्टी प्रवेश गराएका छन्। यसअघि, सिंहले सुरु देखि नै लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई साथ दिएका थिए। उनी तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको प्रवक्ता थिए।

२०७४ बेशाखामा तत्कालीन तराई मधेस केन्द्रित ६ दलवीच एकीकरण भई राजपा गठन भए पछि उनी राजपाका प्रवक्ता थिए। सिंहले सप्तरीका विजय यादवलाई पनि आफूसँगै काँग्रेसमा लगेका छन्। २०७४ को प्रतिनिधि सभाको चुनावमा यादवले सप्तरीबाट उम्मेदवारी दिएका थिए। अबको केही दिनमै लोसपाका माथिल्लो तहका केही नेताहरू नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारी भइरहेको र यसकोलागि कुराकानी भइरहेको सिंहले बताए।

नेपाली काँग्रेसमा प्रवेश गर्न लागेका नेताहरूको बारेमा भने उनले खुलाउन चाहेनन्।‘अब केही दिन मात्र पर्खनुहोस्। नाम थाहा हुनेछ’उनले भने।

लोसपाका २जना कार्यकारिणी सदस्य राजेशमान सिंह र शिव पटेलले पनि केही दिन अघि लोसपा छाडेका छन्। सिंह र पटेल सुरुमा एमालेमा प्रवेश गरेका थिए। पछि सिंह एमालेबाट जनता समाजवादी पार्टीमा प्रवेश गरे। पटेल भने एमालेमै बसेका छन्।

अघिल्लो महिना लोसपाका अर्का २जना कार्यकारिणी सदस्य विर्खेशचन्द्र लाल र विजय सिंहले औपचारिक रूपमै लोसपा छाडेर पुरानो तराई मधेस लोकतान्त्रिक पार्टीलाई सक्रिय बनाएका छन्। लोसपा एक नेता भन्छन्,‘लोसपाका अरू एक दुई जना सांसदले पनि पार्टी छाड्ने सम्भावना देखिएको छ। ती नेता भन्छन्,‘नेताहरूले पार्टी छाड्नुमा नेतृत्व जिम्मेवार छ।’ उनले बिलम श्रीवास्तव र उमाशङ्कर अरगरैयालाई इङ्गित गरेका छन्।

जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगे पछि महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा,सर्बेन्द्रनाथ शुक्ल  भदौ १ गते निर्वाचन आयोगले पार्टी दर्ताकोलागि निवेदन दिएका थिए। त्यसको ९ दिन पछि आयोगले लोसपालाई दलको रूपमा मान्यता दिएको थियो।

लोसपालाई अर्को पनि धक्का लागेको छ। लोसपाका अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँग गठबन्धन गर्न खोजेका थिए। यसकोलागि उनले काँग्रेस सभापति शेरबहादुर देउवासँग ४ पटक कुराकानी गरेका थिए। लोसपाका शीर्ष नेताहरूले पनि देउवासँग संयुक्त कुराकानी गरेका थिए तर सत्तारुढ दलहरूले गठबन्धन गर्ने घोषणा गरे पछि काँग्रेससँग गठबन्धन गर्ने ठाकुरको योजना भत्किएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ