arrow

आचारसंहिता उल्लङ्घन भए जोसुकैमाथि कारबाही : निर्वाचन अयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
sagun-shumsher -rana-ec.jpg
फाइल तस्बिर

बुटवल। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जो सुकैलाई कारबाही गर्ने चेतावनी दिएको छ। रुपन्देहीका सञ्चारकर्मीहरूसँग शनिवार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना गर्नुपर्ने र कहीँ कतैबाट उल्लङ्घन भए कारबाही हुने प्रतिबद्धता जनाएको हो।

आचारसंहिता उल्लङ्घन भए त्यसबारे जानकारी गराउन र आचारसंहिता पालनामा सचेत गराउन पनि आयोगले सञ्चारकर्मीलाई आग्रह गरेको छ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले निर्वाचन आचारसंहिता कसैले पनि उल्लङ्घन गर्न नहुने बताए। आचारसंहिता उल्लङ्घनबारे सम्पूर्ण कुरा आयोगले मात्र अनुगमन गर्न सक्दैन, उल्लङ्घन भए सञ्चारमाध्यमले निगरानी गरेर जानकारी गराउनुपर्ने हुन सक्छ,’ उनले भने।

पत्रकारिता क्षेत्रले पनि आचारसंहिता पालना गर्नुपर्नेमा पनि जोड दिँदै उनले सुरक्षा निकाय जस्तै सञ्चार माध्यमको भूमिका पनि महत्त्वपूर्ण रहेको बताए। नागरिकले सबैभन्दा बढी विश्वास मिडियाको गर्ने र मिडिया नै नागरिकमा सूचना पुग्ने पहिलो माध्यम भएकाले त्यसलाई अझ बढी विश्वस्त बनाउन उनले आग्रह गरे। उनले निर्वाचनको माहौल सिर्जना गर्न मिडियाको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिए। आयोग संविधान ऐनमा रही नयाँ कार्य गर्न गर्न खोजिरहेको उनले बताए।

‘निर्वाचन आयोगका क्रियाकलाप, नागरिकका विचार र दलका गतिविधिसम्मलाई अनुगमन गरेर सत्य तथ्य समाचार आउन जरुरी छ,’ उनले भने, ‘यसले आयोगलाई समेत गल्ती कमजोरी पत्ता लगाउन र सुधार्न सहज हुनेछ।’

निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुनुपर्ने बताए।

सूचना आयोगका पूर्व आयुक्त यशोदा तिम्सिनाले निर्वाचनमा सञ्चारकर्मीहरू मिथ्या सूचना र दुष्प्रचारबाट बच्नुपर्ने बताइन्। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले निर्वाचन तोकिएकै मितिमा हुँदैन भन्ने भ्रम चिर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ