arrow

लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचन महत्त्वपूर्ण :  निर्वाचन आयुक्त डा. तुलाधर

logo
रासस,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
janaki-kumari-tuladhar-ec.jpg

गोदावरी। निर्वाचन आयुक्त डा.जानकी तुलाधरले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। आज धनगढीमा आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिडियाको भूमिका महत्त्वपूर्ण भएको बताइन्।

आयुक्त डा तुलाधरले सङ्घीय शासन प्रणालीमा जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले वैशाख ३० गते हुन लागेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वासिलो, भयरहित ढङ्गले सम्पन्न गराउन सबैको साझा दायित्व भएको बताइन्।

उनले संविधानले तोकेको जिम्मेवारी पूरा गर्न आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै हरेक स्थानीय तहमा कार्यालय स्थापना भइसकेकाले पत्रकारले आचारसंहिता उल्लङ्घनका घटनालाई निगरानी गर्नुपर्नेमा जोड दिइन्। आम मतदातालाई निर्वाचनमा सहभागिता गराउन आवश्यक रहेको बताउँदै उनले मत बदर हुन नदिन मतदाता शिक्षालाई प्रभावकारी रूपमा अघि बढाउन सरोकारवाला पक्ष अघि बढ्नुपर्छ भने।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता र दुई हजार १०३ मतदान केन्द्र रहेको जानकारी दिइएको थियो।



नयाँ