- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताइरहेका बेला धेरै जसो स्थानमा माओवादीकै नेता कार्यकर्ताले गठबन्धन उल्लङ्घन गर्ने देखिएको छ। प्रचण्डले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताए पनि पूर्वका धेरै जिल्लामा माओवादीका नेताहरूले गठबन्धन नगर्ने रिपोर्टिङ गरेका छन्।
उनीहरूले जितेका स्थानीय तहमा काँग्रेसलाई कुनै पद नदिने गरी अघि बढेपछि माओवादीले गठबन्धनको संस्कृति उल्लङ्घन गरेको हो। कतिपय स्थानमा नेकपा एसले आफ्नो क्षमताभन्दा बढी सिट दाबी गर्ने र कतिपय स्थानमा माओवादीले गठबन्धन नगर्ने भन्दै आन्तरिक सर्कुलर जारी गरेपछि माओवादीकै कारण यो गठबन्धन धराप परेको छ।
सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका पहाडी जिल्लामा माओवादीले आफ्नो बचश्व रहेको भन्दै गठबन्धन उल्लङ्घन गरेको हो। सङ्खुवासभामा त विज्ञप्ति नै निकालेर गठबन्धन नगर्ने भनिसकेको छ भने ओखलढुङ्गा र सोलुखुम्बुमा पनि गठबन्धन नगर्ने भन्दै आन्तरिक सर्कुलर जारी गरिसकेको छ। माओवादी अध्यक्ष प्रचण्डले आफूहरूलाई फाइदा पुग्ने गरी गठबन्धन गर्ने बताउँदै आएका छन्। ‘हामीले निर्णय गर्छौँ ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै केन्द्रमा गठबन्धनको निर्णय आउँछ, अरू तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ। त्यसमा तपाईँहरू ढुक्क हुनुहोस्।
सोलुमा लिखुपिके, थुलुङ दूधकोकी, महाकुलुङ, माप्या दूधकोकी र सोताङ गाउँपालिकामा माओवादीले दाबी गरेपछि कुरा मिल्न सकेको छैन। त्यसमध्ये लिखुपिके, सोताङ र महाकुलुङमा काँग्रेसको राम्रो सङ्गठन रहेकाले त्यहाँ मिलेर जान प्रस्ताव गर्दा माओवादीले नमानेको स्रोतको दाबी छ।
गठबन्धन राष्ट्रिय आवश्यकता हो। महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ’, प्रचण्डले भने। उनले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरूबिच चुनावको तालमेल हुने पनि दाबी गरे पनि स्थानीय स्तरमा नेताहरूले त्यसको उल्लङ्घन गरिरहेका छन्। ‘माओवादी आफूले जितेको स्थान छाड्न तयार छैन, कतिसम्म भने उपाध्यक्ष वा उपप्रमुख पनि दिन तयार छैन, वडाध्यक्षमा पनि सहमति गर्न तयार छैन,उनीहरू आफूले जितेको स्थानमा अहिले पनि जितिन्छ भन्ने सोचका साथ अघि बढेका छन्’, गठबन्धनका एक शीर्ष नेताले भने।
माओवादीले यो निर्वाचनलाई ठुलो लडाइँको रूपमा लिएको भन्दै प्रचण्डले आफ्ना कार्यकर्तालाई पहिले निर्वाचित भएको स्थानीय तह नछाड्न प्रेरित गरेका कारण पनि पूर्वी पहाडी जिल्लामा गठबन्धन उल्लङ्घन भएको हो। यसअघि नै माओवादीले भरतपुर महानगरपालिका लिन खोजेपछि त्यहीबाट गठबन्धनको संस्कृति उल्लङ्घन सुरु भएको थियो। अहिले पूर्वी पहाडी जिल्लामा मात्रै होइन रुकुम, रोल्पा, दाङ, सल्यान, नवलपरासी जस्ता जिल्लामा पनि माओवादीले एक्लै निर्वाचन लड्न खोजिरहेको छ।
त्यसै गरी बाग्मती प्रदेशको सिन्धुपाल्चोकमा पनि माओवादीहरूले गठबन्धन नगर्ने बरु एमालेसँग मिल्ने तयारी गरेका छन्। त्यहाँ माओवादीले एकलौटी ढङ्गले उम्मेदवार चयन गरी माथिल्लो कमिटीमा पठाइसकेको छ। सिन्धुपाल्चोकमा माओवादीले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी, जुगल, भोटेकोसी र लिसंखु पाखर गाउँपालिका आफूले पाउनु पर्ने अडान राखेपछि गठबन्धन भाँडिने अवस्थामा पुगेको हो।