- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी। चुनावी तालमेलका लागि पाँच दलीय गठबन्धनबिच पटक पटक भएको छलफल निष्कर्षविहीन बन्दै जाँदा कैलालीमा दलहररुबीच थप अविश्वासको वातावरण बन्न थालेको छ।
मुख्य गरी नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तहमा आ-आफ्नो दाबीबाट पछि नहटेपछि सहमतिको वातावरण बन्न नसकेको हो। सहमति नहुँदा गठबन्धनमा आबद्ध दलहरू नै एकर्का प्रति शङ्का उपशङ्का गर्न थालेका छन्।
कैलालीमा नेकपा एसले तुलनात्मक रूपमा धेरै स्थानीय तहमा भाग खोजेको भन्दै काँग्रेस र माओवादी रुष्ट बनेको हो। जसका कारण नेकपा एस पनि दुई दल मिल्न सक्ने भन्दै त्रसित बन्न थालेको छ। यही कारण नेकपा एसले अन्य साना वाम दलसँग चुनावी तालमेलका लागि छलफल गर्न थालेको छ।
राष्ट्रिय जनमोर्चालगायतका दलसँग नेकपा एसले गठबन्धन बनाएर अघि बढौँ भन्ने प्रस्ताव समेत गरेको स्रोतको दाबी छ। श्रोतका अनुसार नेकपा एसले आइतबार मात्रै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायत कम्युनिस्ट पार्टीसँग वाम एकता गरेर चुनावमा जाने प्रस्ताव राखेको छ। त्यसका लागि नेकपा एसले आन्तरिक छलफल पनि अघि बढाएको छ।
‘काँग्रेस र माओवादी मिल्न सक्ने नेकपा एसको आशङ्का पनि छ। गठबन्धनको संयुक्त बैठकमा पनि काँग्रेस र माओवादी केन्द्रको कुरा एउटै हुने गरेको थियो,’ नेकपा एसका एक नेताले भने, ‘यसबाट उनीहरू मिले जस्तो देखिन्छ, दुई पार्टी मिले हामी पनि आफ्नै तरिकाले अघि बढ्छौँ।’
तालमेल सम्मानजनक हुनुपर्छ : नेकपा एस
नेकपा एकीकृत समाजवादी पार्टी कैलालीका अध्यक्ष भैरव रावलले चुनावी तालमेल गर्दा सम्मानजनक व्यवहार हुनु पर्ने बताए। नेकपा एस पहिलो पटक चुनावमा जान लागेको भन्दै उनले अहिले नै हामीलाई कमजोर ठान्नु काँग्रेस माओवादीको गलत आङ्कलन हो। ‘२०७४ सालको स्थानीय चुनावमा कैलालीका १३ मध्ये एमालले मात्रै सात पालिकामा जित हात पारेको थियो,’ उनले भने एमालेलाई जिताउन भूमिका खेल्ने धेरै नेता कार्यकर्ता नेकपा एसमा छन्, जिल्लामा हाम्रो उपस्थिति बलियो छ, त्यसैले हामीलाई कमजोर नठाने हुन्छ ।’ काँग्रेस र माओवादीलाई स्थापित गर्न नेकपा एसले गरेको त्यागको पनि सम्मान हुनुपर्ने उनको भनाइ छ।
गठबन्धनमै रहेको नेपाली काँग्रेस पनि वाम गठबन्धन हुन सक्ने भन्दै सशङ्कित देखिन्छ। गठबन्धनका हरेक बैठकमा काँग्रेस र माओवादी केन्द्र एउटै कित्तामा उभिए पनि कम्युनिस्टहरू जतिसुकै बेला मिल्न सक्ने भन्दै काँग्रेस एक्लै चुनावमा जान समेत आन्तरिक तयारीमा रहेको श्रोतको भनाइ छ।
काँग्रेस कैलालीको निर्वाचन प्रचारप्रसार समितिका एक सदस्यका अनुसार वाम गठबन्धनका लागि भित्रभित्रै नेकपा एस, माओवादी केन्द्र र अन्य कम्युनिस्ट पार्टीबिच छलफल भइरहेको खबर आएपछि काँग्रेसले एक्लै चुनाव लड्ने गरी आन्तरिक तयारी थालेको हो। केन्द्रबाट सहमति भएर आएका स्थानीय तहबाहेकमा काँग्रेस एक्लै चुनाव लड्न सक्ने ती नेताले बताए। तर, केन्द्रले सहमति गर्न ढिलाइ गर्दा जिल्लामा योजना बनाउन समस्या भइरहेको उनको भनाइ छ।
पर्ख र हेरको स्थितिमा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र भने पर्ख र हेरको स्थितिमा छ। आफूले जितेका स्थानमा अरूलाई नेतृत्व नदिने स्पष्ट पारेर बसेको माओवादी केन्द्र अन्य पालिकाको हकमा बढी भन्दा बढी स्थानको नेतृत्व लिन दाउमा छ। तर, अहिलेसम्म गठबन्धन बाहेक तालमेलका लागि अन्य छुट्टै दलसँग छलफल नभएको नेकपा माओवादी केन्द्रका कैलाली संयोजक हरि ज्ञवाली बताउँछन्। ‘दलहरू आ-आफ्नै अडानमा रहेका कारण कैलालीमा सहमति हुन सकिरहेको छैन,’ संयोजक ज्ञवालीले भने, ‘सहमति नभए हामी एक्लै पनि चुनाव लड्न सक्छौँ वा अन्य पार्टीसँग पनि तालमेल हुन सक्ला तर अहिलेसम्म त्यतातर्फ छलफल भएको छैन।’
कैलालीका १३ स्थानीय तह मध्ये नेपाली काँग्रेसले ११, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक स्थानीय तहमा नेतृत्व दाबी गर्दै आएका छन्।
केन्द्रमा सत्तारुढ पार्टीको गठबन्धनमै रहेको जनता समाजवादी पार्टी (जसपा)ले कैलालीमा भने गठबन्धन तोडेर अन्य केही क्षेत्रीय पार्टीसँग गठबन्धन गरेर जाने निर्णय नै गरिसकेको छ।