arrow

'फिनल्याण्डमा रूसी भय', हप्तादिन भित्रै नेटोमा सामेल हुने टुङ्गो लाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
Finland-sweden-nato-finlandnato.jpg

काठमाडौं । फिनल्याण्ड संसदले दुई दिनअघि बुधवारदेखि नेटोमा सामेल हुने विषयमा बहस सुरु गरेको छ । पहिलो दिनको बहसमै संसदको बाहुल्यताले नेटोमा सामेल हुने भन्ने पक्षमा सहमति देखाएको छ ।

प्रधानमन्त्री सान्ना मारिनको सोसल डेमोक्रेट दलले पनि नेटोको नाम नलिएरै सैन्य गठबन्धनलाई समर्थन गर्ने सङ्केत गरेका छन् ।

सोसल डेमोक्रेटका नेता एन्टी लिन्डम्यानले रुसी गतिविधिले फिनल्याण्डलाई सैन्य गठबन्धन आवश्यक रहेको भन्ने कुरासम्म ल्याएको बताएका छन् ।

नेटोको निकट साझेदार भए पनि फिनल्याण्ड अहिलेसम्म सैन्य रूपमा असंलग्न स्थिति कायम राखेको छ। तथापि, अहिले फिनल्याण्डले आफ्नो रक्षा र सुरक्षा स्थिति बलियो बनाउन आवश्यक ठानेसँगै सम्भवतः हप्ता दिन भित्रमै नेटोमा सामेल हुने कि नहुने भन्ने निर्णय लिन सक्ने बताइएको छ ।

फिनल्याण्डले नेटोमा सामेल हुने कि नहुने भनेर जनताको समर्थन जनमत सङ्ग्रहबाट नभई संसदीय मतदानबाट गर्ने भएको छ । यद्यपि, संसदीय मतदानको मिति भने तय भइसकेको छैन ।

सोसल डेमोक्रेट नेतृत्वको पाँच दलीय गठबन्धन सरकार अन्तर्गतको अर्को ठूलो दल सेन्टर पार्टीले पनि नेटोमा सामेल हुने प्रस्तावलाई समर्थन गर्ने भएको छ ।

सेन्टर पार्टीका नेता जुहा पिभाल्सले भनेका छन्, नेटोको सदस्यताका लागि आवेदन दिनेलगायत फिनल्याण्डको सुरक्षालाई आवश्यक पर्ने सबै निर्णयहरूका लागि सेन्टर पार्टी समूह... तयार छ ।

फिल्याण्डका १० संसदीय समूह मध्ये आठ संसदीय समूहका नेताले नेटोमा सामेल हुने या सैन्य गठबन्धनमा सामेल हुने विषयमा सहमति जनाएका छन् । 

लेफ्ट अलायन्सका नेता जुसी सारामोले यसका लागि व्यापक छलफल आवश्यक रहेको बताएका छन् । कुल २०० सिटको संसदमा १६ सिट भएको सत्ता गठबन्धनमा रहेको लेफ्ट अलायन्सले नेटोको विरोध गरेको छ । तथापि, संसदको बहुमतले समर्थन गरे पनि सरकार नछोड्ने उसले जनाएको छ । नेटोको खुलेर विरोध गर्ने भनेको संसदमा एक मात्र सिट भएको समूहका राष्ट्रवादी सांसद थिए ।

एकाएक यति ठूलो समर्थन कसरी ?

युक्रेनमा रुसले आणविक हतियार प्रयोग गर्ने सम्भावनाले नै फिनल्याण्डलाई नेटोमा सामेल हुनेतर्फ धकेलेको विदेशमन्त्रीको भनाइ छ ।

फिनल्याण्डका विदेशमन्त्री पेक्का हाविस्टोले ईयुमा सामेल भएको तीन दशकपछि देशमा ठूलो परिवर्तन हुनसक्ने र त्यो भनेको फिनल्याण्ड नेटोमा सामेल हुनसक्ने बताएका छन् ।

'फेब्रुअरी २४ मा युक्रेनमा रुसले आक्रमण गरेपछि हाम्रो सुरक्षा वातावरण नाटकीय रूपमा परिवर्तन भएको छ,' ग्रीन पार्टीका अनुभवी राजनीतिज्ञसमेत रहेका हाविस्टोले भने ।

रुसले अहिले अप्रत्याशित कदम चाल्न थालेको प्रति फिनल्याण्ड सचेत भएको छ । सन् २००८ को रुस जर्जियाूयुद्ध होस् या सन् २०१४ को क्रिमिया कब्जा रुसले त्यति बेला केही न्यून जोखिमपूर्ण कदम चालेको थियो ।

तर, ४ करोड बढी जनसङ्ख्या भएको ठूलो मुलुक युक्रेन सिङ्गैमाथि आक्रमण गर्नुले रुस जतिसुकै ठूलो जोखिम उठाउन सक्ने कुरालाई झल्काएको छ । 

यति मात्रै हैन, हाभिस्टोले भनेका छन् कि रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्छ भन्ने रिपोर्टहरू बाहिर आएको विषयले आफूलाई गम्भीर रूपमा चिन्तित बनाएको बताएका छन् ।

रूसका छिमेकीहरूका लागि, रणनीतिक आणविक हतियार, रासायनिक हतियार लगायतका अपरम्परागत हतियार प्रयोगको कुराले फिनल्याण्डमा युरोपमा आफ्नै सुरक्षा स्थिति कस्तो छ भन्ने बहस उठाएको विदेशमन्त्रीको भनाइ छ ।

युक्रेनसँगको युद्धका क्रममा रुसले सहज सफलता पाइरहेको छैन । र यसबीच रुसले आणविक या अन्य कुनै खतरनाक हतियार प्रयोग गर्न सक्ने चिन्ता एवं चेतावनी पश्चिमी गुप्तचर अधिकारीहरूले दिएका छन् ।

बुधबार, ब्लूमबर्गले केही वरिष्ठ रूसी अधिकारीहरू र राज्य सञ्चालित व्यवसायका वरिष्ठ प्रबन्धकहरूले पनि यो चिन्ता व्यक्त गरेको रिपोर्ट गरेको छ ।

रुसको यस्तो अप्रत्याशित कदमले फिनल्याण्ड आउँदा केही हप्ता भित्रै नेटोमा सामेल हुनका लागि आवेदन दिन सक्ने ठानिएको छ । ३० सदस्य रहेको सैन्य गठबन्धनलाई यो स्वीकृत गर्न चारदेखि १२ महिनाको समय लाग्नेछ ।

रुस र फिनल्याण्ड तनाव

फिनल्याण्ड र रुसबीच करिब १ हजार ३ सय ४० किलोमिटर लामो सीमा छ । यसअघिको इतिहास हेर्दा ३० नोभेम्बर १९३९ मा तत्कालीन सोभियत सङ्घले फिनल्याण्डमाथि आक्रमण गरेको थियो ।

शीतकालीन युद्ध भनिने प्रथम सोभियत फिनिश युद्ध करिब तीन महिनापछि १३ मार्च १९४० मा मस्को शान्ति सन्धि भएर समाप्त भएको थियो ।

शान्ति सम्झौताका क्रममा फिनल्याण्डले सोभियत सङ्घलाई आफ्नो क्षेत्रको ९ प्रतिशत भूभाग दिएको थियो । तथापि, सोभियत सङ्घले ठूलो मानवीय र अन्य क्षति व्यहोरेको थियो भने, अन्तर्राष्ट्रिय प्रतिष्ठामा समेत आँच आएको थियो ।

दुवै मुलुकबीच त्यसयता कुनै किसिमको सतही विवाद नभए पनि अहिले रुसले युक्रेनमाथि गरेको आक्रमणपछि फिनल्याण्डले देखिइरहेको चिन्ताले त्यहाँ सोभियतको छायादार रुसी भय भने पक्कै रहेको देखिन्छ ।

रुसी चेतावनी

केही दिनअघि रुसले स्विडेन र फिनल्याण्डलाई नेटोमा सामेल भएमा आफ्नो सेनाको उपस्थिति बलियो बनाउने र बाल्टिक क्षेत्र वरिपरि आणविक एवं हाइपरसोनिक मिसाइल तैनाथ गर्ने चेतावनी दिएको छ ।

पुटिनका सहयोगी र रूसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले स्विडेन र फिनल्याण्ड नेटोमा सामेल भएमा स्वाभाविक रूपमा रुसले यी सीमाहरू बलियो बनाउनुपर्ने बताएका छन् ।

अस्ट्रिया, फिनल्याण्ड, आयरल्याण्ड, स्विडेन र स्विट्जरल्याण्ड नेटोमा सामेल नरहेर तटस्थ रहेका युरोपेली मुलुक हुन् । तथापि, अब फिनल्याण्ड र स्विडेन नेटोमा सामेल भए भने, यस विरुद्ध रुसले देखाउने आक्रोशले युरोपेली क्षेत्रमा एक अर्को पराकम्प ल्याउन सक्ने समेत देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ