arrow

किन कालिदास बन्दैछ कांग्रेस ?

logo
मनोज लामिछाने, 
प्रकाशित २०७९ वैशाख १० शनिबार
278575178_678200790059480_6353374387569082512_n.jpg

राष्ट्रियता, लोकतन्त्र र समाजवादको लागि सात दशकदेखि निरन्तर संघर्ष गर्दै आइरहेको गौरवमय इतिहास बोकेको पार्टी हो नेपाली कांग्रेस । जिम्मेवार वर्तमान र सुनिश्चित भविष्यको लागि २००६ साल चैत २७ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट स्थापना भएको यो पार्टीको एकीकरणको नेतृत्व वीपी कोइरालाले गरेका थिए । मातृकाप्रसाद कोइरालालाई सभापति बनाइयो । 

सन् १९४६ अक्टुबर २ तारिखमा भारतको पटनाबाट प्रकाशित हुने द सर्च लाइट पत्रिकालाई आधार मान्ने हो भने तत्कालीन समयमा भारतमा रहेका नेपालीहरूलाई संगठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय संगठन निर्माणका निम्ति गरेको आह्वानबाट नेपाली कांग्रेसको जन्मको प्रारम्भ भएको पाइन्छ । 

सन् १९४६ अक्टुबर ३१ मा बनारसमा बस्ने नेपालीहरूलाई संगठित गरी देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक संस्थाको बनारसमा स्थापना भयो भने यो पार्टीको सिद्धान्त, यसको संगठनको ढाँचा र कार्यप्रणालीको निर्माण गर्न २००३ साल माघ १२ र १३ गतेका दिन वीपी कोइराला, गणेशमान सिंह, डा. डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्य लगायतका नेताहरु तथा जुझारु नेपालीहरुको सहभागीतामा यस पार्टीको नामको नामाकरण गरियो । यो नेपाली कांग्रेस पार्टीको पहिलो अधिवेशन थियो । यो अधिवेशनले ३३ वर्षीय युवालाई कार्यकारी सभापतिमा चयन गर्यो । ती तिनै वीपी थिए ।

‘नेपाल र नेपाली जनताका सार्वभौम अधिकारको स्थापनाका लागि आफ्नो कर्तव्य नबुझ्ने राजा प्रजाको शत्रु हो’ भन्ने मूल मान्यतालाई आत्मसाथ गर्दै देशमा प्रजातन्त्र स्थापनाका लागि अहिंसात्मक आन्दोलन गर्ने उद्देश्य राखी सबै जात, धर्म, लिङ्ग, वर्ण विभिन्न आर्थिक हैसियत भएका नेपालीहरू यो संस्थाको सदस्य र पदाधिकारी हुन सक्ने व्यवस्था गर्यो ।

नेपालको राजनीतिमा यो पार्टीको सधै अग्रणी भूमिका रह्यो । राणा शासनको अन्त्य र पञ्चायती ब्यवस्था ढाल्नेदेखि राजदरबारबाट ज्ञानेन्द्र शाहको बहिर्गमनसम्म तथा प्रजातन्त्र, लोकतन्त्र र  गणतन्त्र स्थापना गर्नका निम्ति महत्वपूर्ण भूमिका रह्यो । तत्कालीन माओवादीलाई हतियार बिसाएर संसदीय ब्यवस्थामा ल्याउनेदेखि २०४७ सालको संविधान र २०७२ सालको संविधान निर्माणमा पनि यो पार्टीको नेतृत्वदायी भूमिका रह्यो । 
         
युगपुरुष वीपी कोइरालाको विचार र संस्कारको जगमा हुर्किएको र राणा शासनको अन्त्यका निम्ति ज्यानको आहुति दिने गङ्गालालको ‘मेरो रगत खेर जान नदिनू है’ भन्ने वाक्यलाई आदर्श मान्दै भद्रगोल जेल फोरी भागेका लौहपुरुष, प्रजातन्त्रका पिता तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता सादगी, सुवर्ण शमशेर जस्ता त्यागी, गिरिजाप्रसाद कोइराला जस्ता नेतृत्वकर्ता र शुशील कोइराला जस्ता अडिक नेताहरुको अगुवाइमा हुर्किएको कांग्रेस अहिले आएर कुनै पार्टी विशेषको आन्तरिक जुँगाको लडाइँमा गठबन्धनको नाममा कुनै पार्टीको स्वार्थमा होस्टेमा हैँसे मिलाउनु उचित होला ? यो प्रश्नको उत्तर हरेक नेपाली कांग्रेस पार्टीमा आस्था राख्ने नेपालीहरुको हो भन्दा अत्युक्ति नहोला । 

‘गठबन्धन गर्ने बहानामा कुनै दिन जनयुद्धको नाममा नेपाली कांग्रेसलाई आफ्नो पहिलो दुस्मन मान्ने र कुममा चढेर टाउकोमा मुक्का हान्नु पर्छ र नेपालको राजनीतिमा सधै नेपाली कांग्रेसलाई शत्रुको रुपमा हेर्ने कम्निष्टहरुसँग चुनावी एकता राम्रो हो बाबु ?’ यो प्रश्न सँगै यात्रा गर्ने क्रममा ७९ वर्ष उमेर काटेका एक अपरिचित वृद्धको हो । उनको यो प्रश्नको उत्तर दिन त्यति सजिलो थिएन यो स्तम्भकारलाई र योे विषय पनि थिएन ।

,त्यसैले उनको यो प्रश्नको हल्का जवाफ फर्काउनु पर्यो ‘यो प्रश्नको उत्तर मैले कसरी दिन सक्छु र बा ?’ उनले थपे, ‘आजका दिनसम्म मैले आफ्नो मताधिकारको प्रयोग गरिरहेको छु । यसपालि मेरो मत हाल्ने अधिकारको हनन हुने भयो बाबु । यत्रो वर्ष कांग्रेसलाई मत हालियो । अब मर्ने बेलामा कुनै पार्टीको स्वार्थको लागि गरेको गठबन्धनका उम्मेदवारलाई कसरी मत हाल्न सक्छु म ? बैशाख ३० गते मत हाल्ने दिन जति नजिकिदै छ त्यति नै वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरुको अनुहार, चारतारे झन्डा र रुख झल्झली सम्झन्छु ।’

ती वृद्धको भनाइलाई सापटी लिएर भन्ने हो भने अहिले हरेक नेपाली कांग्रेसका ईमान्दार, कर्मठ, जुझारु कार्यकर्ता र नेपाली कांग्रेसप्रति आस्था राख्ने हरेक नेपालीको प्रश्न हो यो । सन् १९५९ देखि सन् २०१७ सम्मको चुनावी परिणामलाई हेर्ने हो भने पनि नेपाली कांग्रेसले सन् १९५९ मा ३७.२ प्रतिशत, सन् १९९१ मा ३७.७५ प्रतिशत, सन् १९९४ मा ३३.३८ प्रतिशत, १९९९ मा ३७.२९ प्रतिशत, सन् २००८ मा २२.७९ प्रतिशत, सन् २०१३ मा २९.८० प्रतिशत र सन् २०१७ मा ३५.७५ प्रतिशत मत प्राप्त गरेको देखिन्छ ।

सन् १९५९ मा ११९ सिटमा ७४ सिट, सन् १९९१ मा २०५ मा ११० सिट, सन् १९९४ मा २०५ मा ८३ सिट, सन् १९९९ मा २०५ मा १११ सिट, सन् २००८ मा ५७५ मा ११५ सिट, सन् २०१३ मा ५७५ मा १९६ सिट र २०१७ मा २७५ मा ६३ सिट हासिल गरेको देखिन्छ ।

नेपाली कांग्रेसले चुनावमा ४ पटक पहिलो स्थान हासिल गरेर सरकार गठन गरेको देखिन्छ भने ३ पटक दोश्रो स्थान हासिल गरेको देखिन्छ । जनताले दिएको यो परिणामलाई हेर्ने हो भने कांग्रेसको मतदाताको संख्यालाई हेर्दा सन्तोषजनक मान्नु पर्ने देखिन्छ । किनकि नेपाली कांग्रेसले आफ्नै बलबुँताबाट  प्राप्त परिणाम हो यो । नेपाली कांग्रेसको आफ्नै पार्टी भित्रको आन्तरिक कलहकै कारण विगतमा ३ पटक संसदमा दोश्रो स्थानमा बस्नु पर्यो । अन्यथा नेपाली कांग्रेसप्रति जहिले पनि जनताको विश्वास र सहानुभूति देखिन्छ ।  

हिजोका दिनमा एकै थालमा खाएर हुर्केका कम्निस्टहरु आ–आफ्नो स्वार्थका कारण सधै अस्थिर रहने र पटक पटक टुट्ने, फुट्ने र एक अर्काका कट्टर विरोधीको रुपमा आफूलाई चित्रण गरेको देखिन्छ । जनताले ५ वर्षका लागि दुई तिहाई बहुमतको सरकार बनाउने सुनौलो अवसर दिँदा पनि आफ्नो पार्टी भित्रको सत्ता होडबाजीका कारण विपक्षी दल कांग्रेसलाई सरकारको नेतृत्व सुम्पने राजनैतिक दलसँगको अहिलेको गठबन्धनको लगन गाँठो कांग्रेसको हितमा छ ? 

यो नेपाली कांग्रेसका लागि अत्यन्त गहन प्रश्न हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका सभापतिका प्रत्यासी डा. शेखर कोइराला र महामन्त्री एवं जुझारु नेता गगनकुमार थापाले वर्तमान गठबन्धनबारे बारम्बार प्रश्न उठाउनु पनि विद्यमान राजनैतिक अवस्था, नेपाली कांग्रेसको इतिहास, विचार र संस्कारको उपज हो भन्न सकिन्छ । 

एउटा सिंगो इतिहास बोकेको पार्टी कसैको स्वार्थका लागि गठबन्धनको सहारा लिएर चुनावमा जानुपर्ने वााध्यता के पर्यो ? नेपाली जनताले विगतमा पाँच वर्षका लागि दुई तिहाई बहुमतको सरकार बनाउन दिएको अवसर र त्यसपछिका घटनाक्रमलाई सजिलै भुल्न सक्छन् र ? 

यो चुनावी गठबन्धनले इतिहासमा पढिएको कतै कालिदासले आफू बसेको रूखको हाँगामा आफैंले बञ्चरो हानिरहेको कथा जस्तो हुने त होइन ? किन कालिदास बन्दैछ कांग्रेस ?      
 



नयाँ