arrow

मधेसी पार्टीलाई मधेसी समुदायकै नेता जोगाउन धौ धौ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
losapa-mahantha-rajendra-2078-12-21.jpg
तस्बिर– फाइल

काठमाडौं । मधेसलाई अधिकार नपुगेको भन्दै मधेसको हक हित र अधिकारको लागि भनेर गठन गरिएका तराई–मधेस केन्द्रित दलहरुलाई मधेसी समुदायका नेताहरुलाई नै जोगाउन धौ धौ परेको छ ।

पछिल्लो एक डेढ महिना यता तराई मधेसमा जति पार्टी प्रवेश कार्यक्रम हुन्छन् । ती सबै कार्यक्रमहरु  मधेस केन्द्रित दलका नेताहरु अन्य दलमा प्रवेश गर्न आयोजना गरिएका हुन्छन् ।  धेरैजसो नेता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्छन् भने केही नेता एमालेमा प्रवेश गरेका छन् । 

तराई मधेसमा नेपाली कांग्रेस या एमाले छाडेर मधेस केन्द्रित पार्टीमा प्रवेश गरेको उदाहरण एकदमै कम छ । ७ महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेपाली कांग्रेस प्रवेश गर्ने लहर नै शुरु भएको छ । 

फाट्टफुट्ट एमालेमा प्रवेश गरेका उदाहरण छन् । हालै लोसपाबाट नेपाली काग्रेसमा प्रवेश गरेका कृष्ण सिंहले लोसपाका अरु धेरै नेताहरु कांग्रेसमा प्रवेश गर्ने तयारी भएको बताएका छन् । 

त्यसो त जसपामा पनि पहरो गरेको छ । जसपा छाड्नेहरु पनि नेपाली कांग्रेस र एमालेमै प्रवेश गरेका छन् । जसपाका वीरगञ्जका नेता विजय सरावगी एमालेमा गएका छन् । यसैगरी जसपा नेपालगञ्जका लोकप्रिय नेता कमरुद्धिन राईले पनि जसपा छाडेर एमालेमा गएका छन् । 

पछिल्लो निर्वाचनमा बारामा तत्कालीन समाजवादी पार्टीबाट निर्वाचन जितेका जनप्रतिनिधिहरु नै जसपा छाडेका छन् । पछिल्लो एक–डेढ महिना यता लोसपाका संजय यादव, राजकुमार लेखी, विजय सिंह, विर्खेशचन्द्र लाल लगायतका नेताहरुले लोसपा छाडेका छन् । 

यीमध्ये कोही नेपाली कांग्रेस र कोही एमालेमा प्रवेश गरेका छन् । मधेस केन्द्रित दल छाडेर नेपाली कांग्रेस–एमाले प्रवेश गर्ने नेताहरुको भनाइ एउटै हुन्छ, ‘मधेस केन्द्रित भनिएका दलहरुले मधेसको मुद्दा बिर्से, आफ्नो  र आफ्नो परिवारको स्वार्थमा मात्र केन्द्रित भए ।’

तराई मधेस केन्द्रित दलहरु झण्डै आधा दर्जन जति तराई मधेसमा सक्रिय छन् । जसपा र लोसपा बाहेक सिके राउतको जनमत पार्टी, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी तथा जेलबाटै पार्टी घोषणा गरेका नागरिक उन्मुक्ति पार्टी तराई मधेसका विभिन्न जिल्लामा सक्रिय छन् । 

यसैगरी लोसपा फुटाएर एक थरी नेताहरुले पुरानो तमलोपालाई सक्रिय बनाएका छन् । तराई मधेसको नारा दिए पनि यी पार्टीहरुले आफ्नै कार्यकर्ता जोगाउन सकेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ