arrow

कांग्रेस घोषणापत्र :

प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
congress-ghosana-patra-1221.jpg

काठमाडौं । नेपाली कांग्रेसले प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’को अवधारणा अघि सारेको छ । कांग्रेसले सो अवधारणाअनुसार बालबालिकाका लागि खेल्ने स्थान, ज्येष्ठ नागरिकलाई विश्रामस्थल र आम नागरिकलाई पार्क एवं विशेषतः शहरी क्षेत्रमा जमिनमुनि पानी ‘रिचार्ज’ गराउन मद्दत गर्ने खुला क्षेत्र निर्माण वा विद्यमान खुला क्षेत्रको स्तरोन्नति गर्ने सङ्कल्प गरेको छ ।

कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी गरेको ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणापत्रमा सो कुरा उल्लेख छ । साथै वातावरण संरक्षणका लागि वातावरण संरक्षण विद्युत्लगायत स्वच्छ ऊर्जा यातायातको प्रवद्र्धन गर्ने, सबै घरपरिवारले विद्युत्बाट खाना पकाउने वातावरण सिर्जना गर्ने, स्थानीय तहलाई हरित पालिकाका रुपमा विकास गर्ने; रुखको संरक्षण, वृक्षरोपण, घाँसे मैदान वृद्धि, पोखरीको संरक्षण र विस्तारलगायत चोकको संरक्षण गर्ने; सिँचाइका लागि नहर र नदी पनि यसैको अङ्ग बनाउने उल्लेख गरेको छ ।

सबै स्थानीय तहमा प्रदूषण मापन केन्द्र
सबै स्थानीय तहमा प्रदूषण मापन केन्द्रको स्थापना गर्ने, सरोकारवालासँगको सहकार्यमा प्रत्येक टोलमा सुलभ, सफा र व्यवस्थित शौचालय निर्माण गर्ने, सौर्यलगायत नवीकरणीय ऊर्जाको प्रवद्र्र्धन गर्ने कांग्रेसको योजना छ । 

यसैगरी हरेक घरमा विद्युतीय ऊर्जाबाट खाना पकाउने प्रविधिको प्रयोग बढाउने गरी कार्यक्रम लागू गर्ने, बिजुली, टेलिफोन, इन्टरनेट आदिलाई भूमिगत गराउन सुरु गर्ने, आकाशे पानीलाई पोखरी बनाएर वा ससाना नदी वा खोल्सीमा बहाव नियन्त्रित गरी भूक्षय कम गर्दै उचित व्यवस्थापन गरी पानी रिचार्ज गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ । नदी खोलामा अप्रशोधित ढल जोड्ने परिपाटीलाई क्रमशः नियन्त्रण गर्दै लग्ने, एक स्थानीय तह एक पोखरी, एक बस्ती एक पार्क, एक घर एक नर्सरी, एक घर फूलवारी अभियानलाई हरियाली प्रवद्र्धन गर्न बिरुवा निःशुल्क वितरण गरी बिरुवा रोप्न स्थानीयलाई आह्वान गर्ने योजना अघि बढाएको कांग्रेस महामन्त्री एवं घोषणपत्र तयारी समितिका संयोजक गगनकुमार थापाले जानकारी दिए ।

पुरातात्विक महत्वका संरचनाको वर्गीकरण गरी संरचनाको जीर्णोद्धार एवं संरक्षण गर्ने, पुराना बस्तीमा पुरानो नेपाली शैलीको घर बनाउन प्रोत्साहन गरी पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने, स्थानीय सामग्री प्रयोगलाई प्रोत्साहन गरी स्थानीय वातावरणअनुसार भवन तथा पूर्वाधार निर्माण गर्ने कांग्रेसको सङ्कल्प छ ।

यसैगरी कांग्रेसले आगामी तीन वर्षभित्र आवश्यक झोलुङ्गे पुलको निर्माण सम्पन्न गर्ने र आवश्यकता तथा मागअनुसार विशेष प्रकृतिका पर्यटकीय महत्वका झोलुङ्गे पुल बनाउने जनाएको छ ।

यसैगरी ग्रामीण केन्द्रलाई बजारसम्म जोड्ने तथा शहरी केन्द्र बीचको सडक स्तरीकरणलाई विशेष प्रथामिकता दिने, सबै गाउँ नगरपालिका केन्द्रमा पक्की सडकको पहुँच पुर्‍याउने, सबै गाउँनगर पालिका केन्द्रबाट वडा केन्द्रसम्म सडक पुर्‍याउने कांग्रेसको योजना छ । सडक दुर्घटनाको न्यूनीकरणका निम्ति ‘सडक सुरक्षा निर्देशिका’लाई कडाइका साथ लागू गर्ने, सडकमा अनिवार्य फुटपाथ र साइकल लेनको व्यवस्था गरी स्थानीय तहलाई पैदल यात्रु र साइकल मैत्री बनाउने, निजीक्षेत्रको समेत सहयोगमा पर्यटकीय स्थानमा केबल कार, रोप-वे निर्माण तथा सञ्चालन गर्ने योजना रहेको कांग्रेसले जनाएको छ ।

एक गाउँ एक व्यावसायिक उत्पादन
सबै स्थानीय तहमा आधारभूत अस्पाताल भवन र सबै वडामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न गर्ने, एक गाउँ एक व्यावसायिक उत्पादन र कृषिउपज सङ्कलन केन्द्रको निर्माण गर्ने, टोलका सबै सार्वजनिक क्षेत्र, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था आदि अपाङ्गतामैत्री बनाउने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

एक वडा एक खेल मैदान निर्माण गर्ने, प्रत्येक गाउँमा सामुदायिक भवन र गाउँ मिलनकेन्द्र निर्माण गर्ने, ससाना कुटिर उद्योगका लागि स्थानीय तहमा बजारको व्यवस्था गर्ने तथा विद्युतीकरण हुन बाँकी सबै गाउँमा विद्युतीकरण गर्ने र उज्यालो गाउँ सहरका लागि सडक बत्तीलाई व्यापक बनाउने सो घोषणापत्रमा उल्लेख गरिएको छ । 

कांग्रेसले खानेपानी र सिँचाइ जमीनमुनिको पानीको सतहको मूल्याङ्कन गरी डिप बोरिङमार्फत तथा नजिकै रहेको स्रोतलाई उपयोग गरी घर घरमा शुद्ध खानेपानी वितरण प्रणालीको व्यस्थापन र सार्वजनिक धाराको संरक्षण तथा व्यवस्था गर्ने, सिँचाइ हुन सम्भाव्य सबै जमिनमा बाह्रै महिना सिँचाइ हुनेगरी कृषिमा विशेष कार्यक्रम सञ्चालन गर्नेछ ।

सूचना र सञ्चार अन्र्तगत हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्‍याउने, सबै सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको व्यवस्था गर्ने, सरकारी कार्यालयमा प्रविधिको उच्च प्रयोग गराउने जनाइएको छ । भविष्यमा आइपर्ने विपद् व्यवस्थापन र पूर्वतयारीको लागि हरेक वडामा ‘विपद् कोष’को स्थापनालगायत व्यवस्थापनका लागि चाहिने उपकरण, औजार एवं दक्षजनशक्ति सहितको ‘द्रुत सहायता कक्ष’ को स्थापना गर्ने पार्टीको घोषणापत्रमा उल्लेख छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ