arrow

वडाध्यक्षसहित चार सदस्यको एकल उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
humla-1620220975.jpg

हुम्ला । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लामा दुई वडाध्यक्ष र चार सदस्यको एकल उम्मेदवारी परेको छ । जिल्लाको उत्तरी नाम्खा र सिमकोट गाउँपालिकामा उक्त पदका लागि दल तथा स्वतन्त्रका एकल उम्मेदवारी परेको हो । 
 
  नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीबाट वडाध्यक्ष पदमा पाल्जोर तामाङ र सिमकोट गाउँपालिका-१ बाट गोर्ख लामाको एकल उम्मेदवारी परेको हो । दरखास्त फारम माथिको छानबिन गर्ने कार्यतालिका अनुसारको समय र दाबी विरोधको कार्यक्रम बाँकी रहेको कारण वैशाख १५ गतेपछि मात्र निर्विरोध निर्वाचितको बारेमा जानकारी गरिने भएको जानकारी प्राप्त भएको छ । 
  
लामा नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ भने तामाङ स्वतन्त्रका उम्मेदवार । लिमिकै वडा सदस्यमा महिला सदस्यमा कुन्ज्योकबुटी लामा, खुल्ला सदस्यमा छिरिङतन्डुप तामाङ र तुण्डुप तामाङको पनि एकल उम्मेदवारी परेको छ । सिमकोट-१ को दलित महिला सदस्यमा कांग्रेसका नानी कोइला सुनारको एकल उम्मेदवारी परेको छ । 

उजुरी न्यून
निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता गरेका उम्मेदवारमाथि न्यून उजुरी परेको बताएको छ । खार्पुनाथ गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिकाका कूल १०८ उम्मेदवारमध्ये दुई जना उम्मेदवारमाथि उजुरी परेको जानकारी दिनुभयो । 
  
 मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२७ वटा उम्मेदवारीमा कुनै पनि उजुरी परेको छैन । स्थानीय तहको निर्वाचनमा हुम्लामा विभिन्न पदमा उम्मेदवारी दिनेको सङ्ख्या ९३६ रहेको छ । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार हुम्लाका सातवटा स्थानीय तहमा अध्यक्ष पदमा ३६, उपाध्यक्षमा ४३, वडाध्यक्षमा २३०, महिला सदस्यमा १७३, दलित महिला सदस्यमा १०९ र सदस्यमा ३५० जनाले उम्मेदवारी दिएको बताए । 
    
सातवटा गाउँपालिकाबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरेर २३४ जना निर्वाचित हुने भए पनि हुम्लामा विभिन्न पदका लागि ९३६ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत पौडेलले बताए। 
   
यस्तै विभिन्न पदका लागि अदानचुलीमा १०४, खार्पुनाथमा १०८, चङ्खेलीमा १७६, ताँजकोटमा ११३, नाम्खा ८३, सर्केगाड २२५ र सिमकोटमा १२७ जनाले दर्ता गराएको जानकारी प्राप्त भएको छ । गाउँपालिका अध्यक्षका लागि सबै भन्दा बढी ताँजकोटमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न पदका सर्केगाडमा २२५ जनाको उम्मेदवारी दर्ता भएको छ भने सबै भन्दा कम नाम्खा गाउँपालिकामा ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ