arrow

नवलपुरमा कांग्रेसलाई विजयी गराउन विनोद चौधरीको आव्हान 

आर्थिक समृद्धिको नेतृत्व गर्ने अभिभारा कांग्रेसको काँधमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
binod-chaudhary-sir.PNG

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य विनोद चौधरीले आसन्न स्थानीय तहको निर्वाचनमा नवलपुर जिल्लाको आठ वटै पालिकामा विजय हासिल गर्ने गरि निर्वाचनमा सक्रिय रहन नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई आव्हान गरेका छन् ।

उम्मेदवारी चयनका क्रममा कांग्रेसजस्तो विशाल पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु स्वाभाविक रहेकाले उम्मेदवारी दर्तापछि यो प्रक्रिया सकिएको र पार्टी एक ढिक्का भएर चुनावमा होमिनुपर्नेमा उनले जोड दिएका छन् । 

‘अहिले कोही साथीहरू उम्मेदवार हुनुहोला । कोही उम्मेदवार हुन योग्य साथीहरू छुट्नु भएको होला । अहिले छुट्नु भएका साथीहरूले आगामी दिनमा फेरी अवसर पाउनुहुनेछ । भोलिका दिनमा म उहाँहरूको न्यायका लागि लड्नेछु’, नेता चौधरीले भने, ‘अब हामी सबैको दायित्व उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयी बनाउनु हो । र, नवलपुर लोकतान्त्रिक शक्तिको अभेद्य किल्ला हो भनेर प्रमाणित गर्नु हो ।’

स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्तापछि नवलपुरको चुनावी अभियान अगाडि बढाउँदै नेता चौधरीले २०७४ को स्थानीय तह निर्वाचनमा नवलपुरमा अधिकांश पालिका जितेको कांग्रेसले यस पटक जिल्लाका सबै पालिकामा जित निकाल्दै विकास र समृद्धिको राजनीतिक यात्रा शुरू गर्नु पर्नेमा जोड दिएका छन् । यसका लागि कांग्रेसका स्थानीय नेताहरूको नेतृत्वदायी भूमिका रहने भन्दै आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्न नेताहरूलाई आग्रह गरेका छन् ।

नवलपुर जिल्लामा मध्यविन्दू, कावासोती, देवचुली र गैडाकोट गरि चार नगरपालिका रहेका छन् भने बौदीकाली, हुप्सेकोट, बिनयी त्रिबेणी र वुलिङ्गटार गरि चार गाउँपालिका रहेका छन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट बौदीकाली गाउँपालिकाको प्रमुखमा के.बी राना, हुस्पेकोटमा लक्ष्मीदेवी पाण्डे, विनय त्रिवेणीमा डम्बर बहादुर जिसी, वुलिङटारमा शशि किरण बस्ताकोटीले टिकट पाएका छन् भने मध्यविन्दु नगरपालिकामा सूर्यबहादुर गुरुङ, कावासोती नगरपालिकामा महेन्द्र पोखरेल, गैँडाकोटमा मदनभक्त अधिकारी, देवचुलीमा अशोक बस्ताकोटीले मेयरको टिकट पाएका छन् ।

केन्द्रीय सदस्य चौधरीले स्थानीय तहको सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकोले जनताको सेवा गर्ने प्रतिबद्धता पुरा गर्न पनि नेपाली कांग्रेसको जित आवश्यक रहेकोमा पनि जोड दिएका छन् । राजनीतिक स्वतन्त्रता र आर्थिक विकासका एजेण्डालाई राजनीतिको केन्द्रमा राख्ने पार्टीले मात्रै नेपालमा आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सक्ने भन्दै नेता चौधरीले कांग्रेसको नेतृत्वमा मात्रै यो सम्भव रहेको बताएका छन् ।

‘हाम्रो अबको मुख्य प्राथमिकता समृद्ध नेपालको निर्माण हो । त्यसका लागि स्थानीय तहदेखि केन्द्रसम्म विकासको स्पष्ट भिजन भएको राजनीतिक पार्टीले सरकार चलाउनुपर्छ ।’, आम मतदातालाई आव्हान गर्दै नेता चौधरीले भने, ‘बितेको पाँच वर्ष कसरी खेर गयो भन्ने बारेमा प्रत्येक मतदाताले समीक्षा गर्नु आवश्यक छ । राजनीतिक स्वतन्त्रताको नेतृत्व कांग्रेसबाट सम्भव भए जस्तै आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेसबाट मात्रै सम्भव छ । त्यसका लागि स्थानीय तहदेखि नै कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ ।’ 

केन्द्रीय सदस्य चौधरीले हालै आफ्नो नवलपुर भ्रमणका क्रममा विभिन्न गाउँपालिकामा कार्यकर्ता भेटघाट र अन्तरक्रिया गरि जिल्लामा आफू कुनै गुटको नभएर एक जिम्मेवार कांग्रेस नेताको रूपमा रहने बताएका थिए । आफू पार्टीलाई तोड्न नभई जोड्न आएको भन्दै उनले कार्यकर्ताहरूलाई गुटको राजनीति छाडी पार्टीको राजनीति गर्न आग्रह गर्नुका साथै आफुले सबैलाई गोलबन्द गरि नवलपुरमा कांग्रेस पार्टीलाई नमुना बनाउने पनि प्रतिबद्धता जनाएका थिए । उनले आफू बलियो, स्वच्छ र निष्पक्ष कांग्रेस निर्माणमा लागेको पनि बताउँदै आएका छन् । चौधरी पछिल्लो समय आफ्नो गृह जिल्लाको राजनीतिमा निकै सक्रिय देखिएका थिए। 

उम्मेदवारी दर्तापछि नवलपुरमा कांग्रेसलाई विजय बनाउन नेता चौधरी सक्रिय रूपमा क्रियाशील हुनुभएको छ । उनले समग्र पार्टीलाई जिल्लामा सक्रिय रूपमा परिचालन गरेका छन् । गएको निर्वाचनमा गण्डकी प्रदेशमा कांग्रेसले हार व्यहोर्न पर्दा पनि नवलपुरमा भने सम्मानजनक नतिजा प्राप्त गरेको थियो । नवलपुरको आर्थिक विकासमा फड्को मार्न विनोद चौधरीको राजनीतिक सक्रियताले ठुलो भूमिका खेल्न सक्नेमा नवलपुरवासी विश्वस्त देखिन्छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ