arrow

रुसले ग्यास आपूर्ति रोक्दा युरोपमा त्रास

रुसले ग्याँस आपूर्ति रोक्दा युरोपमा विभाजनको तरङ्ग, ऊर्जा आपतकालसम्मको स्थिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
europe-power-crisis.png

काठमाडौं । रूसी सरकारी स्वामित्वको उर्जा उद्योग कम्पनी ग्याजप्रोमले पोल्याण्ड र बुल्गेरियालाई ग्यास आपूर्ति रोकेको छ। यसले क्रेमलिन र युरोपबीच तनाव बढाएको मात्रै छैन उर्जामा युरोपको परनिर्भरतालाई उदांगो पारेको छ भने रुसमाथिको निर्भरता रोक्न युरोपलाई तीव्र काम गर्न सचेत गराएको छ।

मुख्य कुरा के हो ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएको निर्देशन अनुसार पोल्याण्ड र बुल्गेरियाले ग्यासका लागि रुबलमा भुक्तानी नगरेपछि ग्याजप्रोमले आपूर्ति रोकेको हो ।

युरोपेली नेताहरूले ग्यास सम्झौताले युरो वा डलरमा भुक्तानी गर्ने व्यवस्था गरेको र यसलाई अचानक एकपक्षीय ढंगले परिवर्तन गर्न नसकिने भन्दै आएका छन् ।

पोल्याण्डले यस्ता भावी तनावबाट जोगिन जहाजबाट आउने तरल ग्यासको लागि आयात टर्मिनल निर्माण गर्ने कार्य अघि सारेको छ भने यस वर्षको अन्त्यमा ग्याजप्रोमसँगको आपूर्ति सम्झौता रद्द गर्ने तयारी गरेको छ ।

बुल्गेरियाले अहिलेका लागि आफुसँग पर्याप्त ग्यास रहेको बताएको छ । 

रुसले रुबलमा भुक्तानी नगरे उर्जा आपूर्ति रोक्ने चेतावनी त दिएको थियो । तथापि पश्चिमा प्रतिबन्धहरुबाट निचोरीएको रुस आफ्नो अर्थव्यवस्थालाई चलाउन उर्जा बिक्रीमा नै निर्भर छ ।

रुसी नयाँ निर्देशन अनुसार उर्जा आयातकर्ताहरुले रुसको तेस्रो ठूलो बैंक ग्याजप्रोम बैंकमा डलर वा युरो र रुबलमा गरी दुई खाता खोल्नु पर्छ । डलर या युरोमा भुक्तानी गरेर र बैंकलाई रुबलमा साट्न निर्देशन दिनुपर्छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले बुधबार 'रुबलमा भुक्तानी गर्दा युरोपेली संघका प्रतिबन्धहरूको उल्लङ्घन हुने भन्दै सम्झौता भएका कम्पनीहरूले रूसी मागहरू स्वीकार गर्न नहुने' बताएकी छन् ।

पुटिनको यो निर्णय किन ?

रुबलमा भुक्तानी गर्नु पर्ने आदेश पुटिनले मित्रहीन देशहरूका लागि दिएको हो । त्यसकारण पहिलो कुरा भनेको त यो पश्चिमा प्रतिबन्धहरुको प्रतिशोध हो ।

पश्चिमा मुलुकहरुले धेरै रूसी बैंकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय लेनदेन प्रणालीबाट हटाएको छ भने, केही पश्चिमी कम्पनीहरूले रुसमा व्यावसाय ठप्प पारेका छन् ।

रुबलमा भुक्तानी गर्नु पर्ने मागको आर्थिक उद्देश्य भने स्पष्ट छैन । एक अमेरिकी डलर बराबर ७० भन्दा बढी रुबल छ, यसकारण यसले रुबलको मुल्य धेरे बढाउने भने देखिँदैन ।

यसको एउटा कारण पुटिनले ग्यास निर्यातको  सर्तहरु फेर्न सक्छ भन्ने कुरा सर्वसाधरणलाई देखाउने राजनीतिक उद्देश्य हुनसक्छ ।

यस्तै ग्याजप्रोमबैंकमा भुक्तानी गर्नु पर्ने भएका कारण त्यो बैंकमाथिका प्रतिबन्ध निरुत्साहित हुन सक्छन् । 

यस्तै यसबाट युक्रेनलाई समर्थन गरिरहेका मुलुकहरु छानिन सक्छन् । जस्तो कि हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान पुटिनको भुक्तानी व्यवस्थामा सहमत भएका छन्  । सोही पाइपलाईनबाट त्यहाँ ग्यास निर्यात जारी छ ।

ऊर्जा विशेषज्ञ र ब्रुगेल थिंक ट्याङ्क ब्रसेल्सका वरिष्ठ फेलो सिमोन ट्याग्लियापित्राले यो रणनीतिबाट रुसले ईइु विभाजनको फाइदा उठाइरहेको समेत बताएका छन् । 

उनले भनेका छन्,  'यसरी अघि बढ्दा रुसले ईयु विभाजनको फाइदा उठाउँदै छ, यो विभाजन र शासन रणनीति हो, त्यसैले हामीलाई ईयुको समन्वयसहितको प्रतिक्रिया चाहिन्छ ।'

युरोपमा ग्यास आपूर्तिको अवस्था कस्तो छ?

संयुक्त राज्य अमेरिका र युरोपेली संघका प्रतिबन्धहरूले तेल र ग्यासको भुक्तानीमा भने छुट दिएको छ। यो एक किमिसले उर्जामा रुसमाथि बढी निर्भर रहेका युरोपेली सहयोगीहरूलाई ह्वाइट हाउसले दिएको छुट हो।

युरोपको ४० प्रतिशत ग्यास र २५ प्रतिशत तेल रुसले दैनिक ८५ करोड अमेरिकी डलरमा आपूर्ति गर्दै आएको छ । अमेरिकी तथ्यांक अनुसार रुसको सन् २०११ देखि सन् २०२० सम्म कुल राजस्वको ४३ प्रतिशत उर्जाबाटै आएको छ ।

युरोपले रुसबाट तेल र ग्यास आयात गरेकोमा बढी जसो तीनका सहयोगी असन्तुष्ट छन् । तर, युरोपसँग अर्काे कुनै विकल्प भने छैन, तत्कालका लागि ।

युद्ध अघि लामो अवधिको सम्झौता बाहेक रुसले ग्यास बिक्री घटाएकै कारण जाडो याममा युरोप ऊर्जा संकट उत्पन्न भएको थियो । यसले उर्जामा रुसमाथि युरोपको निर्भरतालाई झनै पराकाष्ट पारेको थियो ।

तर, युरोपलाई ग्यास नबेच्नुले रुस आफुलाई पनि फाइदा भने गर्दैन । जब तेलको कुरा आउँछ रूसले सैद्धान्तिक रूपमा ट्याङ्करबाट अन्य ठाउँमा तेल पठाउन सक्छ, उर्जाका भोका देश जस्तै भारत र चीन ।

तर, ग्यासको मामिलामा यो साध्य हुँदैन । उत्तरी रुसको यमाल प्रायद्वीपका प्रमुख निक्षेपहरूबाट युरोपसम्मको ग्यास पाइपलाइन प्रणाली चीनतर्फ जाने पाइपलाइनसँग जोडिएको छैन।

यसबाहेक रुससँग जहाजबाट तरल ग्यास निर्यात गर्ने सुविधाहरु सीमित मात्र छन् ।

पूर्ण ग्यास कटौती भए युरोप बच्न सक्छ ?

युरोपको अर्थतन्त्रले रूसी ग्यास बिना बच्न निकै संघर्ष गर्नुपर्ने छ । यद्यपि, युरोपेली देशहरुले यसविरुद्ध कसरी लड्नेछन् भन्ने कुराले बढी महत्व राख्नेछ ।

मूडीजका विश्लेषकहरूले हालैको अध्ययनमा भनेका छन् कि, कुल ऊर्जा कटौती (ग्याँस र तेल) ले युरोपलाई मन्दीमा फ्याँक्नेछ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी नै उर्जाका लागि रुसमा बढी निर्भर छ । जमर्नीको केन्द्रीय बैंकले उर्जाको कुल कटौतीले उच्च मुद्रास्फीति र अर्थतन्त्रमा छ प्रतिशत अंकको ह्रास ल्याउने भनेको छ ।

बढ्दो ग्यास र तेलको मुल्यले किराना पसलदेखि कच्चा सामग्रीसम्म मुद्रास्फीति पहिले नै कीर्तिमानी विन्दुमा छ । 

ब्रुगेल थिंक ट्याङ्कले आउँदो हिँउदमा युरोपले १० देखि १५ प्रतिशतसम्म ग्यासको अभाव देख्ने अनुमान गरेको छ । यसको अर्थ अहिलेदेखि नै ग्यासको प्रयोग घटाउन असाधारण उपायहरु अपनाउनु पर्ने देखिन्छ ।

रुसी ग्यासमा निर्भरता घटाउन युरोपले के गरिरहेको छ?

युरोपेली नेताहरूले तत्काल रुसी उर्जा बहिष्कार गर्न नसक्ने बताइका छन् । यसको सट्टा, उनीहरूले सकेसम्म छिटो रूसी ग्यासको प्रयोग कम गर्ने योजना बनाएका छन् । 

युरोपेली मुलुकहरुले जहाजबाट आउने थप ग्यास खरिद गरिरहेका छन्  । नर्वे र अजरबैजान जस्ता ठाउँहरूबाट पाइपलाइनहरूबाट आउने ग्यासको बढी खोजिरहेका छन् भने, हावा र सौर्य उर्जाको प्रयोगलाई गति दिने र संरक्षणका उपायहरू अपनाउन थालेका छन् ।

सन् २०२२ को अन्त्यसम्म रुसी ग्यासको प्रयोगलाई दुई तिहाइले र सन् २०२७ सम्ममा पूर्ण रूपमा घटाउने लक्ष्य राखिएको छ। यो लक्ष्य पूरा हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ। 

सीमित आयात निर्यात टर्मिनल क्षमताका कारण तरल ग्यास आपूर्तिको हकमा सीमा छ । जर्मनीसँग त कुनै आयात टर्मिनल छैन । अहिले जमर्नीले दुई टर्मिनल निर्माण गर्न खाजेको छ तर, यसका लागि वर्षाैं लाग्ने छ ।

रुसबाट ४० प्रतिशत ग्यास लिने इटालीले अल्जेरिया, अजरबैजान, अंगोला र कंगोबाट करिब आधा ग्यास प्रतिस्थापन गर्ने सम्झौता गरेको छ र कतारबाट आयात बढाउन खोजिरहेको छ। 

आउँदो हिउँदको मागलाई ध्यानमा राख्दै अहिले भूमिगत भण्डारहरूमा पुनः भण्डारण गर्ने दबाबमा युरोप छ । स्थिति यति गम्भीर छ कि जर्मनीले तीन चरणको ऊर्जा आपतकालमध्ये पहिलो अर्थात् प्रारम्भिक चेतावनी घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ