arrow

लथालिङ्ग काठमाडौँ महानगरपालिकालाई सुव्यवस्थित गर्न प्रमुखमा मेरो उम्मेदवारी – सिर्जना सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १७ शनिबार
srijana-singh-congress-prakashman.jpg
तस्बिर– फाइल

काठमाडौं । लोकतान्त्रिक गणतन्त्रको आन्दोलनबाट प्राप्त नेपालको संविधानलाई कार्यान्वयनमा ल्याउन र जनताका आवश्यकताको परिपूर्तिका लागि आसन्न स्थानीय तहको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी गराउन बुद्धिजीवी एवं पेशाकर्मीले आग्रह गरेका छन् । 

काठमाडौँ महानगरपालिका बुद्धिजीवी एवं पेशाकर्मी परिचालन समितिद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा सहभागी बुद्धिजीवी एवं पेशाकर्मीले काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी प्रत्यासी सिर्जना सिंहसहित ३२ वटै वडाका गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पहल गर्ने निर्णय गरेका हुन् । 

सो अवसरमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी प्रत्यासी सिंहले २५ वर्षदेखि लथालिङ्ग अवस्थामा रहेको काठमाडौँ महानगरपालिकालाई सुव्यवस्थित गर्नका लागि आफूले नगरप्रमुख पदमा उम्मेदवारी दिएको बताइन् ।

“कांग्रेस पार्टीले सार्वजनिक गरेको घोषणापत्र र मेरो प्रतिबद्धतापत्रलाई समावेश गरेर म जनताको घरदैलोमा पुग्छु, महिला अधिकार मेरो प्रमुख मुद्दा हुनेछ”, उनले भनिन् । 

“म राजनीतिमा लागेको आज होइन तर मैले कहिल्यै पद लिइन, राजनीति गर्न पनि छोडिन, अब पद लिनका लागि अगाडि बढेको छु, सारा काठमाडौँवासीले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु”, उनले भनिन् । 

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा सुरेज आचार्यले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएकाले यसमा फरक धारणा राख्न नहुने बताउँदै निर्वाचनमा विजय हासिल गर्न आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालको सही ढङ्गबाट परिचालन गर्नुपर्नेमा जोड दिए । 

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले महानगरको प्रमुखजस्तो कार्यकारी पदमा महिलालाई उम्मेदवार बनाउनु सम्पूर्ण महिलाप्रतिको सम्मान भएको बताए । 

सो अवसरमा नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष प्रेमबहादुर खडका, नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा आनन्द श्रेष्ठ, नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष डा रामेश्वर उपाध्यायलगायत विभिन्न बुद्धिजीवी एवं पेशागत सङ्घसंस्थाका प्रतिनिधिले लोकतन्त्रको संस्थागत विकास र जनताको जीवनस्तर माथि उठाउन नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेकाले यसका लागि सबैले आआफ्नो ठाउँबाट सक्रियतापूर्वक जनमत बढाउन पहल गर्नुपर्ने बताए ।

बुद्धिजीवी एवं पेशाकर्मीले काठमाडौँ महानगरपालिकासँग साधन स्रोत धेरै रहे पनि अहिले तिनको परिचालन गरी विकास गर्न नसकिएको भन्दै नेतृत्वमा पुगेपछि यससम्बन्धी योजना बनाउन गठबन्धन आबद्ध उम्मेदवारसँग आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ