arrow

केशव स्थापित आफैंले खनेको खाल्डोमा एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १७ शनिबार
keshav-stapit-2022-aggression.jpg

काठमाडौं । काठमाडौं महागरपालिकालाई हाँक्न अब्बल नेतृत्व चाहिन्छ भन्ने आवाज राष्ट्रिय विषय बनिरहेको थियो । मुलुक हाँक्ने नेताहरुले नै काठमाडौं महानगरपालिकाको नेतृत्व लिनुपर्छ भन्ने आवाज उठिरहेको थियो । त्यही सन्दर्भमा मुलुकका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले आ–आफ्ना उम्मेदवारहरु मैदानमा ल्याए । 

लामो रस्साकस्सी गरेर एमालेले विवादास्पद पात्र केशव स्थापितलाई उम्मेदवार बनायो भने नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनायो । सिंह राजनीतिक र पारिवारिक विरासत बोकेकी हुन् भने स्थापित पटक पटक विवादमा आइरहने पात्र हुन् । कुनै न कुनै सन्दर्भमा उनी विवादमा आइरहन्छन् । 

एमालेको तर्फबाट २०५४ सालमा मेयर हुँदा पनि उनी विवादमा थिए । त्यसपछि राजाको शासनकालमा मेयर हुँदा पनि झन् धेरै विवादमा परे । २०७४ सालपछि प्रदेश सांसदबाट मन्त्री हुँदा पनि विवादमा मुछिएका थिए । केशव स्थापित भन्ने बित्तिकै कुनै न कुनै विषयमा विवाद गरिरहने मानिसको रुपमा देखिन्छन् । 

गत बिहीबार दिउँसो पनि उनी त्यही रुपमा प्रस्तुत भए । दिउँसो स्थापितले महिलाबारे दिएको अभिव्यक्तिलाई साँझ उनकै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ढाकछोप गरिदिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितको पक्षमा अभिव्यक्ति दिएर ढाकछोप गरे । 

एमालेबाट मेयरका उम्मेदवार बनेका स्थापितमाथि ‘मीटू’ को आरोप उत्कर्षमा पुगेको अवस्थामा ओलीले उनको पक्षमा अभिव्यक्ति दिएपछि स्थापितलाई हाइसन्चो भएको छ ।  

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मीटू केही नभएको बताए । ‘चुनावको बेलामा यस्ता आरोपहरू आउँछन्, ‘मीटू’ का कुरा आउँछ,’ अध्यक्ष ओलीले भने, ‘के हो मीटू भनेको ? हामीले काठमाडौंको मेयरमा केशव स्थापित जस्तो अनुभवीलाई नेतृत्व दिन लागेका छौं ।’ 

यस्तै उनले मीटूको कुनै जवाफ नआउने भन्दै एमाले महिलाको अस्मिताको विषयमा गम्भीर हुने एक मात्र पार्टी भएको बताए । तर यो विषयलाई ओलीले त्यतिमै टुंग्याउन चाहे । 

प्रतिरक्षा गर्न असजिलो 
सर्वाधिक चासोको सूचीमा रहेको महानगरपालिका हाँक्ने उम्मेदवारमाथि लागेको ‘मीटू’ आरोपलाई प्रतिरक्षा गर्न स्थापितलाई निकै अप्ठेरो परेको छ । काठमाडौंको धुम्बाराहीस्थित नेसनल कलेजमा आयोजित एक कार्यक्रममा सहभागीहरुले मीटूबारे स्थापितलाई सोधिएको प्रश्नमा उनी आक्रोशित बनेपछि  प्रतिरक्षाका लागि अप्ठेरो परेको प्रष्ट भएको थियो ।  

उनले बिहीबार जे अभिव्यक्ति दिए त्यसको सामाजिक सञ्जालमा धेरै विरोध भएको छ । शुक्रबार दिनभर पनि त्यो ट्रोल बन्यो । यो क्रम सम्भवतः केही समय चल्नेछ । बिहीबार नेसनल कलेजमा भएको कार्यक्रममा भावना राउतले मीटू आरोपबारे  स्थापितलाई प्रश्न सोध्दा स्थापित जंगिएका थिए । ‘यु आर नाइस लेडी तर तपाईको थुतुनो ठीक छैन’, स्थापितले भनेका थिए । 

उनले जे शब्द बोलेका थिए त्यसमा आम नागरिकले सामाजिक सञ्जालमा अहिले पनि आपत्ति जनाइरहेका छन् । राउतले निर्दोष छु भनेर कि प्रमाणित गर्नुस् अथवा प्रमाणित गर्न सक्नुहुन्न भने तपाईं यो ठाउँमा बस्ने नैतिकता राख्नुहुन्छ र ?’ भन्ने प्रश्नको उत्तरमा उनी निकै आक्रोशित भएका थिए । 

काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका स्थापितलाई त्यहीँ काम गर्ने एक महिला कर्मचारी एवं संचारकर्मी रश्मिला प्रजापती र अर्की एक जना पत्रकार उज्ज्वला महर्जनले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए । 

यसबारे कुनै पनि न्यायालयमा मुद्धा परेको थिएन । त्यसबेला स्थापितले प्रमाणित गर्न चुनौती दिएका थिए । लामो यो विषय सेलाएको थियो । उनी प्रदेश सांसद हुँदा पनि यो विषयलाई उछालिएको भए पनि सामान्य बनाइएको थियो । अरुको मामिलामा निकै उत्तेजित बनेर आक्रामक अभिव्यक्ति दिने स्थापित बिहीबार दिउँसो भने आफ्नो बारेमा निकै कमजोर रुपमा प्रस्तुत भए । 

त्यतिमात्र होइन उनले प्रश्नकर्ता राउतलाई ‘थुतुनो ठीक छैन’, भन्दै अपशब्दसमेत प्रयोग गरे । उम्मेदवारको हिसाबले जुन शब्द निकै पेचिलो र अपशब्दको रुपमा प्रयोग भएको थियो । 

विवादको भारी 
जसलाई पायो त्यसलाई अपशब्द प्रयोग गर्ने, आफूलाई संसारको अब्बल नागरिक ठान्ने केशव स्थापित विवादै विवादमा मुछिने गरेका छन् । बागमती प्रदेशमा भौतिक पूर्वाधार मन्त्री हुँदा पनि उनी विवादमा परेका थिए । तत्कालीन मूख्यमन्त्री डोरमणी पौडेललाई तथानाम गाली गरेका थिए । 

त्यसपछि केपी ओलीलाई नै भनेर जिम्मेवारीबाट मुक्त गरिएको थियो । त्यति धेरै विवादित भएकै अवस्थामा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा टिकट दियो । मेयरको उम्मेदवारी दिएकै दिन उनलाई मिटुबारे प्रश्न सोधिएको थियो । त्यसदिन उनले विवादमा नआउने पनि केशव स्थापित हुन्छ भन्दै आफू विवादमा आउन चाहने व्यक्ति भएको सन्देश दिएका थिए । 

३० बैैशाखमा हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा एमालेले केशव स्थापितलाई टिकट दिँदै गर्दा महिला हिंसाप्रति एमाले जिम्मेवार नभएको टिप्पणी गरिएको छ । 

यसबारेमा एमालेले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । पोखरामा महानगरपालिकामा दीपक पौडेललाई उम्मेदवार बनाउँदा सामाजिक सञ्जालमै विरोध भएको थियो । त्यतिबेला एमालेले मेयरको टिकट नै अर्कालाई दिएको थियो । 

तर काठमाडौं महानगरपालिकामा भने एमाले मौन बसेको छ । काठमाडौंका पूर्वमेयर समेत रहेका स्थापितलाई २५ वर्षपछि एमालेले टिकट दिएपछि पार्टीभित्रकै नेता र कार्यकर्ताहरुले पनि प्रश्न उठाएका छन् । उनको अस्थिर स्वभाव र भावलाई पार्टी कार्यकर्ताहरुले प्रश्न उठाइरहेका छन् । 

विगतमा एमालेकै तर्फबाट महानगरपालिकाको नेतृत्व गरिसकेका स्थापितले काठमाडांैबासीलाई धेरै सपना मात्रै बाँडेका थिए । एमाले विभाजनपछि मालेमा लागेका उनी माले हुँदै राजावादी, प्रजापरिषदको अध्यक्ष, एमालेबाट विभाजित भएको अशोक राईको पार्टीमासमेत आवद्ध हुँदै पुनः एमालेमा फर्केका थिए । 

एमालेमा फर्केपछि २०७४ सालमा पनि मेयरको आकांक्षी रहेका स्थापितलाई प्रदेश सभाको टिकट दिइएको थियो । नागरिकहरुले नरुचाएको पाइएपछि एमालेले स्थापितलाई मेयरको टिकट नदिएको थियो । उनी विवादित छन् भन्ने थाहा पाउँदा पाउदै पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थापितलाई उम्मेदवार बनाएका थिए । उनीमाथि महिला हिंसा तथा यौन दुर्व्यवहारको आरोप यथावत नै छ । 

स्थापितका कारण डंगोललाई अप्ठेरो 
एमाले अध्यक्ष केपी शर्मा ओलीले केशव स्थापितसँगै काठमाडौको उपमेयरमा पूर्व मिस नेवा सुनिता डंगोललाई टिकट दिए । पार्टीका सयौं कार्यकर्ताहरु हुँदा हुँदै पनि सुनितालाई टिकट दिएको आन्तरिक असन्तुष्टि भएपनि बाहिर प्रकट भने भएको छैन । 

सुनिताको सामाजिक व्यक्तित्व भएका कारण पनि स्थापितको अभिव्यक्तिले उनलाई असहज महसुस भएको छ । उम्मेदवार मनोनयनको दिन पनि मिटूबारे सोधिएको प्रश्नमा स्थापितले दिएको जवाफबाट उनले लज्जित महसुस गरेकी थिइन् । महिला अधिकारको पक्षमा र महिला हिंसाको विरुद्धमा समेत क्रियाशील रहेकी सुनिताले स्थापितको अभिव्यक्तिबारे कुनै टिप्पणी गरेकी छैनिन् । तर एउटा मिडियामा भने उनले ‘प्रमाणित त भएको छैन नि’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । सम्भवतः यति प्रतिक्रियाले पनि उनलाई अप्ठेरो पर्न सक्छ । तर धेरैजसो मौन बस्ने उनको यो मौनताले कहीँ कतै अप्ठेरोमा त परेकी छैनिन् भन्ने शंका उब्जाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ