arrow

निलम्बित मल्ल र देउवाको अन्तरसम्बन्ध :

देउवाकै गृह जिल्लामा निवर्तमान सभापति मल्लद्वारा एमालेसँग गठबन्धन

logo
राम धामी,
प्रकाशित २०७९ वैशाख १८ आइतबार
deuba-malla.jpg

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसकै एक समूहले नेकपा (एमाले)सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक बन्न पुगेको छ । जिल्लाका सात वटै स्थानीय तहमा एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको नेपाली कांग्रेस डडेल्धुराका असन्तुष्ट नेता कार्यकर्ताहरूको नेतृत्व नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्लले गरेका छन् । 

पछिल्लो एक दशक नेपाली कांग्रेस डडेल्धुराको नेतृत्व गरेका मल्ल डडेल्धुराको जिल्ला राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन् । २०४७ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय मल्ललाई हाल नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ । १६ वर्ष पहिले तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को साधारण सदस्यसमेत नरहने गरि कारबाही गरिएका नेता मल्ललाई प्रधानमन्त्री देउवाले दोस्रो पटक कारबाही गर्दा स्पष्टीकरणको मौकासमेत दिइएको छैन ।

बिहेवारि सम्बन्धका कारण नजिकैको दाजु नाता पर्ने प्रधानमन्त्री देउवाबाटै प्रभावित भएर कांग्रेसको राजनीतिमा सक्रिय भएका मल्लले २०४७ सालमा पहिलो पटक देउवासँग भेटघाट गर्ने अवसर पाएका थिए । त्यति बेला देउवा गृह जिल्ला डडेल्धुरामा सङ्गठन बिस्तार गर्न सक्रिय थिए । नेपाल विद्यार्थी सङ्घ डडेल्धुरा जिल्ला कार्यसमितिको उपाध्यक्ष रहेका मल्लले जनता मावि सकायलको प्राङ्गणमा कांग्रेसले आयोजना गरेको आमसभामा पहिलो पटक देउवासँग भेटघाट भएको बताए ।
 
बाल्यकालमै बुबा गुमाएका मल्लले जेठो छोरा हुनुका कारण पारिवारिक जिम्मेवारी छदाँछदै पनि देउवाकै सल्लाहमा नेपाली कांग्रेसको पूर्ण कालिन कार्यकर्ता भएर राजनीतिमा होमिने निर्णय गरेको बताउँछन् । सङ्गठन विस्तारका क्रममा किशोरावस्थामै सांस्कृतिक टोलीको नेतृत्व गरेर सुदूरपश्चिम प्रदेशका सबै जिल्लासम्म पुगेका मल्लले देउवाका चुनावी आमसभाहरूमा गीत गाएर मतदाता प्रभावित पार्ने गरेको नेपाली कांग्रेस डडेल्धुराका पाका नेता भरत नेपालीले बताए ।
 
२०५३ सालमा नेपाली कांग्रेस डडेल्धुराबाट पार्टीको नवौँ महाधिवेशनमा लागि सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिमा छनौट भएका मल्लले २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा डडेल्धुरा जिल्ला विकास समितिको उपसभापति पदमा प्रतिस्पर्धा गरेका थिए । राप्रपा र एमालेबीच चुनावी तालमेल भएपछि झिनो मतले पराजित मल्ल नेपाली कांग्रेस डडेल्धुराको तेस्रो जिल्ला अधिवेशनबाट पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा निजी सचिवालयमा सहसचिव र दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिवको जिम्मेवारी निर्वाह गर्ने अवसर मल्लले पाएका थिए । 

२०६७ सालमा पाँचौँ जिल्ला अधिवेशनमार्फत नेपाली कांग्रेस डडेल्धुराको सभापतिमा निर्वाचित मल्लसँग प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाको दुरी बढ्न थालेपछि प्रधानमन्त्री देउवा र मल्लबीच खटपट शुरु भएको जानकारहरू बताउँछन् । जिल्लामा कांग्रेसको सङ्गठन निर्माणमा कुनै भूमिका नभएका तर चाकडी चाप्लुसी गरेर राजनीति गरिरहेका केही नेता कार्यकर्ताहरूले मल्लविरुद्ध डा. आरजुलाई अनावश्यक कुरा लगाएर दुरी बढाउन सफल भएको नेपाल महिला सङ्घ डडेल्धुराकी निवर्तमान सभापति कमला विष्ट बताउँछिन् । 

देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा निजी सचिवालयमा सहसचिव र दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिवको जिम्मेवारी निर्वाह गर्ने अवसर मल्लले पाएका थिए ।  बिहेबारी सम्बन्धका कारण नजिकैको दाजु नाता पर्ने प्रधानमन्त्री देउवाबाटै प्रभावित भएर कांग्रेसको राजनीतिमा सक्रिय भएका मल्लले २०४७ सालमा पहिलो पटक देउवासँग भेटघाट गर्ने अवसर पाएका थिए । 

‘उसो त २०३६ सालदेखि २०५३ सालसम्म नेपाली कांग्रेस डडेल्धुराको नेतृत्व गर्नुभएका हिरादत्त भट्ट, २०५३ देखि नेपाली कांग्रेस डडेल्धुराको सभापति हुनुभएका रामचन्द्र चटौत र पूर्व सभापति शेरबहादुर ढाँट सबै प्रधानमन्त्री देउवाबाट पेलिएकै हुन,’ नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले भने,‘जिल्ला स्तरमा सम्भावना बोकेका नेताहरूलाई प्रधानमन्त्री देउवाले उँभो लाग्न दिनुभएको छैन ।’ 

प्रधानमन्त्री देउवाले नचाहेर पनि नेपाली कांग्रेस डडेल्धुराको छैटौँ जिल्ला अधिवेशनबाट पुनः जिल्ला सभापतिमा निर्वाचित मल्ल २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. ख बाट निर्वाचित भएका थिए । बाम गठबन्धन भएकाले प्रधानमन्त्री देउवालाई समेत चुनाव जित्न मुस्किल परेका बेला प्रदेश सभामा निर्वाचित मल्ललाई प्रधानमन्त्री पत्नी डा. आरजुले सार्वजनिक कार्यक्रममै ‘वीर’ भन्दै डडेल्धुरामा कांग्रेसको सङ्गठन सुदृढ बनाउन निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन । 

नेपाली कांग्रेस डडेल्धुराको सातौँ जिल्ला अधिवेशनका क्रममा मल्लले आफू निकटस्थ नेताहरूलाई नेतृत्व हस्तान्तरण गर्ने र देउवाले मल्ल निकटस्थ नेता कार्यकर्ताहरूलाई पाखा लगाउने खेल खेलेकाले डडेल्धुरा कांग्रेस विभाजनको अवस्थामा पुगेको युवा नेता सन्तोष देउवा बताउँछन् । ‘जिल्ला कार्यसमितिबाट सिफारिस भएका चार सय ६० क्रियाशील सदस्यहरूको नामावली हटाएर केन्द्रबाटै तीन सय १२ जनालाई थप्ने काम भयो ।’ 

मल्ल नेतृत्वको जिल्ला कार्यसमिति सदस्य रहेका युवा नेता देउवाले भने,‘क्रियाशील सदस्यता विवाद अन्त्य गरेर मात्रै जिल्ला अधिवेशनमा जाने निर्णय जिल्ला कार्यसमितिले गरेको थियो, तर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले सत्ता र शक्तिको आँडमा सुदूरपश्चिमभरिका प्रहरीलाई डडेल्धुरामा खटाएर गाउँ, स्थानीय र जिल्ला अधिवेशन एकपक्षीय रूपमा सम्पन्न गर्नुभएपछि असन्तुष्टि चुलिएको हो ।’

विधिसम्मत रूपमा जिल्ला अधिवेशन हुनुपर्ने माग राख्दै नेपाली कांग्रेस मुख्यालयसम्म अनसनसहितका विरोध कार्यक्रम सम्पन्न गरेको मल्ल समूहले सातौँ जिल्ला अधिवेशनबाट चयन भएको नेतृत्वलाई अस्वीकार गर्दै समानान्तर गतिविधि सञ्चालन गर्दै आएको थियो । आसन्न स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा आफू निकटस्थ नेता कार्यकर्ताहरूलाई पनि टिकट दिएर उम्मेदवार बनाउनुपर्ने माग अघि सारेको मल्ल समूहका नेता कार्यकर्ताहरूलाई उपेक्षा गरिएपछि सिङ्गो समूहलाई नेपाली कांग्रेस (विपी) मा समाहित गराएर एमालेसँग चुनावी तालमेल गरिएको हो । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले विजयी भएका सदरमुकामस्थित अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका साथै प्रधानमन्त्री देउवाको गृह गाउँपालिका गन्यापधुरामा मल्ल समूहका नेताहरूलाई नेतृत्व दिइएको छ भने कांग्रेस विजयी भएका परशुराम, भागेश्वर र माओवादी विजयी भएको अजयमेरु गाउँपालिकामा एमालेको नेतृत्वमा साझा उम्मेदवारहरू अघि सारिएका छन् । 

 

०६७ सालमा पाँचौँ जिल्ला अधिवेशनमार्फत नेपाली कांग्रेस डडेल्धुराको सभापतिमा निर्वाचित मल्लसँग प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाको दुरी बढ्न थालेपछि प्रधानमन्त्री देउवा र मल्लबीच खटपट शुरु भएको जानकारहरू बताउँछन् ।
 

‘मल्ल समूहले यसअघि एमाले निर्वाचित स्थानीय तहमा आफ्ना हेविवेट उम्मेदवारहरूलाई एमालेसहितको तालमेलमा उम्मेदवार बनाएको छ,’ नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाका अध्यक्ष हिकमतबहादुर सिंहले भने,‘सत्तारुढ दलहरुबीच गठबन्धन नभएकाले डडेल्धुराको स्थानीय तह निर्वाचनमा कांग्रेसको असन्तुष्ट मल्ल समूह र एमालेबीचको गठबन्धन बलियो बन्ने सम्भावना देखिएको छ ।’

मल्ल समूह सम्बद्ध नेपाली कांग्रेस (विपी)बाट अमरगढी नगरपालिकाका लागि अधिवक्ता हरिप्रसाद भट्टलाई नगरप्रमुखमा अघि सारिएको छ भने नेकपा (एमाले)का पाका नेता प्रदेश समिति सदस्य यज्ञराज भट्ट नगर उपप्रमुखको उम्मेदवार बनेका छन् । नवदुर्गा गाउँपालिकामा नेपाली कांग्रेस (विपी)बाट गोकुलबहादुर शाही अध्यक्ष र नेकपा (एमाले) बाट वीरबहादुर विष्ट उपाध्यक्षका उम्मेदवार बनेका छन् । 

प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरामा नेपाली कांग्रेस (विपी) का सुरेन्द्रबहादुर माली अध्यक्ष र एमालेका इन्द्रबहादुर महरा उपाध्यक्षका उम्मेदवार बनेका छन् भने अजयमेरु गाउँपालिकामा एमालेका अधिवक्ता पदम पाल अध्यक्ष र नेपाली कांग्रेस (विपी) का रामचन्द्र ऐर उपाध्यक्षका उम्मेदवार बनेका छन् । 

भागेश्वर गाउँपालिकामा एमालेका रामबहादुर शाही अध्यक्ष र नेपाली कांग्रेस (विपी) का नरेन्द्र ठकुराठी उपाध्यक्षका उम्मेदवार बनेका छन् । परशुराम नगरपालिकामा एमालेका केशव बोहरा नगर प्रमुख र नेपाली कांग्रेस (विपी)की गोपा थापा नगर उपप्रमुख उम्मेदवार बनेका छन् । आलिताल गाउँपालिकामा भने एमाले र नेपाली कांग्रेस (विपी) का उम्मेदवारहरूले छुट्टाछुट्टै प्रतिस्पर्धा गरिरहेका छन् । 

‘सात वटै स्थानीय तहमा मात्रै नभई ५२ वटै वडासम्म एमाले र नेपाली कांग्रेस (विपी) को चुनावी तालमेल भएको छ,’ नेकपा –एमाले) डडेल्धुराका अध्यक्ष प्रकाशबहादुर साउँदले भने, ‘कर्ण मल्लजीको अदम्य साहस र जुझारु सङ्गठनसँग चुनावी तालमेल भएकाले स्थानीय तह निर्वाचनमा हामी सहजै जित्ने सुनिश्चित जस्तै भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ