arrow

कांग्रेस बोगटान फुड्सिलका उम्मेदवारको प्रतिबद्धता पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
bugtan-congress.PNG

डोटी । आसन्न वैशाख ३० गते हुने पालिका चुनावको लागि नेपाली कांग्रेसबाट वोगटान फुड्सिल गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दिल बहादुर बम र उपाध्यक्ष पदका उम्मेदवार बिस्ना देउवा बमले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । वोगटान फुड्सिल गाउँपालिका –१ सिमचौरमा घरदैलो अभियानका क्रममा एक कार्यक्रमकाबीच प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । 

प्रतिबद्धता पत्रमा गगुडा, सातफरी, चवराचौतारा, सिमचौर, केदार अखडा हुँदै कानाचौर सडक र बडीकेदार हुँदै बोगटान जोड्ने सडकलाई स्तरोन्नति गर्दै कालोपत्रे गर्न पहल गर्ने देखि रोजगारीको अवसर प्रदान गर्ने सम्म प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

कांग्रेसले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सडकलाई विशेष प्राथमिकतामा राखेर सबै वडा कार्यालय तथा टोलमा सडक पुर्‍याउने, सबै घरमा शुद्ध पिउने पानीको व्यवस्था गर्ने ,खेतीयोग्य जमिनमा सिँचाइ आयोजनाको अवधारणा ल्याउने, गाउँपालिका स्वास्थ्य संस्था सम्म सडक निर्माण गरी ७ वटै वडामा एम्बुलेन्सको व्यवस्था गर्ने, प्रत्येक स्वास्थ्य संस्थालाई श्रोत साधन र सुविधा सम्पन्न तथा जनशक्तिको व्यवस्थापन गर्ने, दिपायल देखि चवाराचौतारा, सिमचौर हुँदै बडिकेदार सम्म बस सेवा सञ्चालनका लागि पहल गर्ने ,बोगटान सडकलाई सेती लोकमार्गसँग जोड्न पहल गर्ने, निःशुल्क स्वास्थ्य परीक्षण देखि स्वास्थ्य बिमालाई गाउँपालिका भित्रका प्रत्येक व्यक्तिसम्म पुर्‍याउने कुरा प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ ।

यस्तै स्थानीय साना लघु जलविद्युत तथा सोलार विद्युत् सेवाको विस्तारका साथै पालिका अन्तर्गत सबै वडामा राष्ट्रिय प्रसारण लाइन जोड्ने, वृद्ध वृद्धाले असहज महसुस गरिरहेको सामाजिक सुरक्षा भत्ताको बुझ्न गाह्रो मानिएको महसुसलाई बैङ्क सँग सहकार्य गर्दै वडा बाट सामाजिक सुरक्षा भत्ता लिन सक्ने व्यवस्था मिलाउने, एक गाउँ एक उत्पादन पकेट क्षेत्र घोषणा गर्दै कृषि क्षेत्रको विकास गर्ने, कृषकलाई विशेष अनुदानको व्यवस्था गर्ने, धार्मिक स्थललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, स्थानीय स्तरमा लोप हुँदै गएका पञ्चेबाजा, हुड्केली, सनई, नरसिंहजस्ता परम्परागत बाजाहरूको सरंक्षणार्थ पहलकदमी गर्ने, पालिका र वडा बाट प्रदान गरिने सेवा सुविधालाई सर्वसुलभ र सहजै सेवा दिने कुरालाई महत्त्वका साथ प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै माध्यमिक विद्यालयको अवस्था हेरी प्राविधिक शिक्षा सञ्चालन गर्ने र पालिका भित्रका प्रत्येक विद्यालयमा पुस्तकालय निर्माण गरी पुस्तक उपलब्ध गराउनुका साथै ई लाइब्रेरीको व्यवस्था गर्ने, फरक क्षमता भएका विद्यार्थीका लागिका पठन पाठनकाको व्यवस्था गर्ने , गाउँपालिका भित्रका सबै बालबालिकाहरूलाई अनिवार्य विद्यालय भर्ना गराउने रणनीति तर्जुमा गरी गुणस्तरीय तथा बालमैत्री शिक्षाको व्यवस्था गर्ने , शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था तथा प्रोत्साहनको व्यवस्था, प्रत्येक विद्यालयको भौतिक पूर्वाधारमा सुधार गरी खानेपानी, शौचालय र छात्राहरूका लागि गुणस्तरीय सेनटरी प्याडको व्यवस्था गर्ने प्रतिबद्धता पत्रमा उल्ले गरिएको छ ।

यस्तै सभ्यता, भेसभुसा, रहनसहन लगायत डोटेली सांस्कृतिक, इतिहास झल्किने किसिमको एउटा नमुना सङ्ग्रहालयको निर्माण गर्ने, पालिकाभित्रका केही बस्तीलाई नमुना बस्तीका रूपमा घोषणा गरी बढी भन्दा बढी पर्यटक भित्र्याउने सोचका साथ होमस्टे सञ्चालनार्थ आवश्यक तालिमको व्यवस्था गर्ने , पालिका भित्रका वनको संरक्षण तथा रक्षा गर्ने , विशेष गरी ओखर, सुन्तला, मौसमी, अदुवा, मह उत्पादनका साथै पशुपालन गर्ने कृषकहरूको उत्पादनलाई मध्यनजर गरी सरकारी कृषि सङ्कलन केन्द्र बनाई बजारीकरण गर्न पहल गर्ने, पशु बिमालाई विस्तार गर्ने, आधुनिक औजार तथा उपकरणहरूको व्यवस्था गर्ने लगाएका प्रतिबद्धता समेत अध्यक्ष पदका र उपाध्यक्ष पदका उम्मेदवारले प्रतिबद्धता पत्रमा उल्लेख गरिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ