arrow

हेटौंडामा एमालेको चुनावी फन्डा : सडक विस्तार गर्न नदिने आश्वासनसहित मतदातालाई चेतावनी

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ वैशाख २५ आइतबार
sadak.jpg

हेटौंडा । नेकपा एमालेले वर्षौंदेखि विवादित पूर्व–पश्चिम राजमार्गको हेटौंडामा २५–२५ मिटर सडक विस्तारको विषयलाई आफ्नो चुनावी फन्डा बनाएको छ । स्थानीय तहको निर्वाचनको मतदानको दिन नजिकिदै जाँदा एमालेले शुक्रबार साँझ हेटौंडामा हेटौंडा बजार क्षेत्रका घरधनी र व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम गर्यो ।

उक्त कार्यक्रममा एमालेका नेतादेखि पूर्वमुख्यमन्त्रीसम्मले हेटौंडा बजार कुनै पनि हालतमा भत्काउन नदिने भन्दै आश्वासन दिए । कार्यक्रममा राष्ट्रिय सभा सांसद रामचन्द्र राई, एमाले नेता कृष्ण दाहाल, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेलगायत उपस्थित थिए ।

उनीहरुले हेटौंडाको २५ मिटर कुनै पनि हालतमा भत्काउन नदिने र यसमा एमाले पहिलेदेखि नै लागेको र अब पनि लाग्ने दाबी गरे । पूर्व मुख्यमन्त्री पौडेलले बजारमा २५ मिटर सडक फराकिलो पार्न जरुरी छैन भन्दा आफूलाई विकास विरोधी भनेको गुनासो गरे । उनले वैकल्पिक उपाय हुँदा हुँदै मुख्य शहरको बीचबाट २५–२५ मिटर सडक चौडा गर्दा हेटौंडाको अस्तित्व नै मेटिने भन्दै एमालेले २५ मिटर बजारबाट लान नदिने प्रतिवद्धता जनाए ।

उद्योग बाणिज्य संघ मकवानपुरका पुर्व अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चुनावको मुखमा २५ मिटर सडक विस्तारलाई देखाएर अप्रत्यक्ष रुपमा भोटको अपेक्षासहित एमालेले आश्वासन थुपारेको प्रष्ट देखियो ।

अन्तरक्रिया कार्यक्रम भने पनि कार्यक्रममा लगातार एमाले नेताहरुले आफ्ना कुरामात्र राख्न थालेपछि हेटौंडा राप्ती रोडका बासिन्दाले आफ्ना समस्या र प्रश्न जवर्जस्ती राखेका थिए । 

२५ मिटर सडक विस्तार हुँदा समस्यामा पर्ने पीडितहरु अधिकांशले एमालेले सधै आश्वासनमात्र बाँडेको आरोप लगाए । उनीहरुले चुनावको मुखमा एमालेले बाँडेको आश्वासनमा विश्वास नगर्ने भन्दै कुरा भन्दा काम पहिले गर्न सुझाव दिए ।

कार्यक्रममा हेटौंडा १० का दिनेश लामाले प्रश्न राखे, ‘मकवानपुरकै जनताले जिताएका नेता मन्त्री, मुख्यमन्त्री बने, प्रतिनिधि सभा, राष्ट्रिय सभामा पुगे तर हाम्रो समस्या कसैले देखेन, हाम्रै ठाउँको मुख्यमन्त्री बन्दा त केही भएन भने अब एमालेले गर्छ भन्ने विश्वास कसरी गर्ने ?’

अर्का स्थानीय सुदीप क्षेत्रीले एमालेका डोरमणि पौडेल मेयर हुँदाको बेलादेखिको समस्या आजसम्म पनि समाधान हुन नसकेको गुनासो गरे । उनले तीन पुस्तासम्म आइपुग्दा पनि एमालेले हेटौंडाको मुख्य सडक छेउँका घरधनीको समस्या समाधान गर्न नसकेको बताए । 

उनले पूर्व मुख्यमन्त्री पौडेललाई भने, ‘उहाँलाई पान निकै मन पर्छ, उहाँसँग बसेर पान खाना मन छ र हाँसी हाँसी प्रश्न गर्न मन छ, तपाई मुख्यमन्त्री हुँदा के गर्नुभो ?’

कार्यक्रममा सडक छेउँका घरधनीले आफ्ना समस्या राख्दै एमालेले आश्वासनमात्र बाँडेको र आफ्नो समस्या ज्यूँका त्यूँ रहेको भन्दै असन्तुष्टि पोखे ।

उता पूर्व मुख्यमन्त्री पौडेलले भने आफू मुख्यमन्त्री हुँदा हेटौंडाको लागि धेरै गरेको तर हेटौंडाबासीले जस नदिएको भन्दै जंगिए । उनले प्रदेश राजधानी हेटौंडा आफूले बनाएको र त्यसको खुशीयालीमा एक हप्ता उत्सव मनाउनु पर्नेमा यहाँ कसैले त्यसो नगरेको भन्दै आक्रोश पोखे । 

उनले भने, ‘हामी हाम्रो कर्तब्यबाट च्युत हुँदैनौं तपाईहरु रिसाए पनि खुसाए पनि, यहाँ काम जति सबै एमालेले गर्नु पर्छ, भोट जति अरुलाई दिनुहोला, जहाँ दिए नि दिनुस् केही हुँदैन ।’

उनी एमालेले काम गर्देको छ, भोट एमालेलाई नै चाहिन्छ भन्न खोजेजस्तै गरी प्रस्तुत भए । उनले हेटौंडाको सडक १६–१६ मिटर कायम गर्ने र बाइपासबाट वैकल्पिक सडक निकाल्ने कुरामा प्रतिबद्ध रहेको बताए । 

केही समयअघि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यहाँको सडक २५ मिटर फराकिलो बनाउनुपर्छ भनेको विषयमा उनले उपमहानगरपालिकाको अधिकार नै नभएको विषयमा मेयरले अभिव्यक्ति दिएको भन्दै हेटौंडा उपमहानगरपालिकाले यो सडक केही गर्न नसक्ने बताए ।

कार्यक्रममा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार रहेका अनन्त पौडेलले एमाले हेटौंडाको बजार भत्काएर २५ मिटर सडक कायम गर्ने पक्षमा नरहेको बताए । उनले सडक विस्तार २५ मिटर नै गर्नुपर्छ भन्दा आफूले तत्कालीन क्षेत्रिय प्रशासक विनोद केसीको कार्यकक्षमा गएर विरोध जनाएको बताए । उनले आफूले जिते हेटौंडाको सडक १६–१६ मिटर कायम गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

हेटौंडा बजार क्षेत्रको राजमार्ग विस्तार र सार्ने विषय पटक पटक राजनीतिक विषय बन्दै आएको छ । २०७४ सालको संसदीय चुनावअघि पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको रुट परिर्वतन गरेर हेटौंडा बजार छल्ने निर्णय भएको प्रचार पनि भएको थियो । २०७५ फागुनमा प्रदेश सरकारले बजार क्षेत्रको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई दायाँ–बायाँ १६–१६ मिटर कायम गर्ने गरी संघीय सरकारसमक्ष सिफारिस गरेको थियो ।

तर संघीय सरकारले प्रदेश सरकारले गरेको सिफारिस कार्यान्वयन नगर्ने भन्दै हेटौंडाको मुख्य राजमार्गमा पर्ने सडक भत्काउन भन्दै संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले पटक–पटक सूचना जारी गर्ने गरेको छ ।

घर जग्गाको मुआब्जा नदिई निजी संरचना भत्काउन नहुने भन्दै हेटौंडाको मुख्य सडक छेउँका घरधनी अधिकांशले अदालतमा मुद्दा दायर गरी स्टे अर्डर (रोक्का आदेश) लिएर बसेकाले अहिले सडक विस्तार त्यसै रोकिएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ