arrow

बेलबारीकी उपमेयरकी उम्मेदवार नितु भन्छिन् –मैले बेलबारीबासीको चाहना र यथार्थ बुझेकी छु 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ वैशाख २४ शनिबार
nitu-thapa-belbari-congress.jpg

मोरङ । समाजसेवामार्फत आफ्नो छवि बनाएकी नितु थापा (कोइराला) यतिबेला मोरङको बेलबारी नगरपालिकामा उपमेयरको पदमा उम्मेदवार बनेकी छिन् । सानैदेखि समाजसेवा र राजनीतिप्रति रुची राख्ने उनले शुरुआती दिनमा समाजसेवाबाट नै आफूलाई बेलबारीमा अब्बल सावित गरेकी हुन् ।

मोरङको तत्कालीन बेलबारी गाँउविकास समिति (हाल मोरङको बेलबारी नगरपालिका ३) हाल भगवती माध्यमिक विद्यालय रहेको स्थानमा २०३४ साल माघ २ गते टंकबहादुर र मायादेकी कान्छी सन्तानका रुपमा उनको जन्म भएको थियो । उनका दुई आमामध्ये कान्छी आमाको कोखबाट उनको जन्म भएको हो । जेठी आमातर्फ ५ जना दाइ र २ दिदी रहेका छन् भने उनीतर्फ एक दाइ रहेका छन् । 

सानैदेखि दुः खी र गरिब मानिसहरु देख्दा उनलाई दया लागेर आउँथ्यो । उनले आफूले सकेको सहयोग सानैदेखि गर्न थालिन् । भगवती माविबाट २०५० सालमा प्रवेशिका उत्तीर्ण गरेकी उनले त्यसपछि सुकुना बहुमुखी क्याम्पसमा अध्ययन गरिन् । सोही क्रममा २०५५ सालमा बेलबारीमा शारदा चलचित्र मन्दिर सञ्चालन गरिरहेका सुनसरीको इनरुवाका विकास कोइरालासँग उनको प्रेम विवाह भयो । उनीहरुका वरदान र मानव गरी दुई छोराहरुसमेत छन् ।

समाजमा ब्याप्त कुरीति, कुसंस्कार, अन्याय, अत्याचार र भ्रष्टाचारले आक्रान्त भएको समाजमा केही न केही राम्रो काम गरौँ भन्ने सोचका साथ उनले बेलबारी १ मा (चेली च्वाइस कलेक्सन) नाममा ब्यवसायसमेत सञ्चालन गरिरहेकी छिन् । 

एक्लै गर्दा कुनैपनि काम सम्भव नहुने देखेपछि उनले बेलबारीका केही महिलाहरुलाई एकीकृत गरी उनीहरुलाई आत्मनिर्भर र दक्ष बनाउने उद्धेश्यका साथ श्रमिक महिला समूह नामको संस्था दर्ता गरिन् । जुन संस्थाले हरेक वर्ष महिलाहरुको क्षमता विकास र दक्षताका लागि विभिन्न तालिम लगायतका विविध कार्यहरु गर्दै आएको छ । 

उनले सोही क्रममा केही समयदेखि बन्द अवस्थामा रहेको शारदा चित्र मन्दिरको सञ्चालक भइ सञ्चालनसमेत गरिन् । नेपालमा प्रजातन्त्र स्थापना भएपछि उनमा पनि अलिअलि राजनीतिक चेतना पलाएको थियो । 

उनलाई थिचोमिचो र अन्याय पटक्कै मन पर्दैन्थ्यो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उनलाई समाजसेवासँगै राजनीतिक नेतृत्व पनि गर्नुपर्छ भन्ने लाग्यो । उनी उपसभापतिको उम्मेदवार बनिन् र बेलबारी कांग्रेसको इतिहासमै पहलोपटक महिला उपसभापति त्यसमा पनि अत्याधिक मतका साथ विजयी बनिन् । 

उनी कांग्रेसको उपसभापति भए पनि राजनीतिक आस्थाका कारण कसैलाई फरक दृष्टिले हेर्दिनन् । अन्याय, अत्याचार र शोषणमा परेकाहरुलाई उनले समान रुपमा सहयोग गर्ने गर्छिन् । स्वच्छ राजनीति पनि एकप्रकारको समाजसेवा नै भएको उनको बुझाइ रहेको छ । 

कतिपय अवस्थामा समाजसेवाबाट मात्र सम्भव नहुने कुराहरु राजनीतिमार्फत सम्भव हुने उनको बुझाइ रहेको छ । उनले गरिब र असहायहरुलाई अहिलेसम्म कहिल्यै कुन पार्टीको भनेर सोधेकी छैनिन् । 

उनी कोही दुःखमा परेको सुन्ने र देख्ने बित्तिकै त्यस स्थानमा पुगेर आफूले सकेको सहयोग गर्छिन् । रानीतिक आस्थाकै कारण पीडितहरु झन् पीडित बनिरहेको देख्दा उनलाई दुःख लाग्छ । 

उनी त्यस्ताखाले अन्याय र थिचोमिचो पटक्कै रुचाउँदिनन् । हरेक दिन सामाजिक र रानीतिक कामले गर्दा उनलाई एकक्षण पनि फुर्सद मिल्दैन । तर उनी अलिकति पनि थकित छैनिन् । उनी आफ्नो सपनाको गन्तब्य भेट्ने होडमा निरन्तर लागिरहेकी छिन् । 

अब उनी बेलबारी नगरको उपमेयर बनेर थप पीडितहरुको सहारा बन्ने ध्येयका साथ चुनावी मैदानमा उत्रिएकी छिन् । उनी भन्छिन्, ‘मैले बेलबारीबासीको चाहना र यथार्थ बुझेकी छु । त्यसलाई पूरा गर्न यो पटक मैले बेलबारीको उपमेयर पदमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ