arrow

प्रहरीको नजरमा फरार सूचीमा रहेका एमालेका उम्मेदवारहरु प्रहरीकै संरक्षणमा मत माग्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
prakash-adhikari-kumar-bista.jpg
तस्बिर – प्रकाश अधिकारी (बायाँ) र मिलनकुमार विष्ट (दायाँ) ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विवादास्पद व्यक्तिहरुलाई उम्मेदवार बनाएको छ । प्रहरीको नजरमा फरार सूचीमा रहेका व्यक्तिहरुलाई उम्मेदवार बनाएको हो । उनीहरु यतिबेला प्रहरीकै संरक्षणमा मत मागिरहेका छन् । 

प्रहरी साथमै रहे पनि उसले पक्राउ गर्ने आँट गरेको छैन । निर्वाचन आयोगलेसमेत उनीहरुको उम्मेदवारी खारेज नगर्दा निर्धक्क भोट मागिरहेका छन् । एमालेले धनुषाको बटेश्वर गाउँपालिकामा बैंकिङ कसुरमा फरार रहेका श्यामसुन्दर महतो यादवलाई गाउँपालिका अध्यक्षमा उठाएको छ । 

प्रहरीको फरार सूचीमा रहेका महत्तो अहिले चुनावी घरदैलोमा व्यस्त छन् । उनी विरुद्ध २०७७ सालमा लालबहादुर क्षेत्रीले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका थिए । क्षेत्रीको उजुरीपछि प्रहरीले यादवलाई पक्राउ गर्न उच्च अदालत पाटनमा २०७६ साउन ७ गते पक्राउ पूर्जी माग गरेको थियो। 

प्रहरीको माग बमोजिम उच्च अदालत पाटनले साउन १३ गते यादवविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । अदालतको पक्राउ पूर्जी जारी भएपछि यादव फरार भएका थिए । धनुषामा राजनीतिक पहुँचकै आधारमा उनले उन्मुक्ति पाउँदै आएका थिए । 

प्रहरी वृत्त सिंहदरबारले यादवलाई पक्राउ गर्नको लागि २०७६ साउन २९ गते इलाका प्रहरी कार्यालय ढल्केबरलाई पत्राचार गरेको थियो । बैकिङ कसुरमा पक्राउ पुर्जी जारी भएका यादव राजनीतिक आडमा बच्दै आएका थिए । 

उनै यादवलाई एमाले धनुषाले गाउँपालिका अध्यक्षको उम्मेदार बनाएको हो । फरार यादवका बारेमा अदालतमा बुझ्ने काम भइरहेको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले बताए । ‘पक्राउ पूर्जी जारी रहेको कुरा जानकारीमा आएको छ, मुद्दा पुरानो रहेछ, हामी बुझ्दै छौं,’ उनले भने । 

त्यसैगरी ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार मिलनकुमार विष्टविरुद्ध दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । 

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट मिलनकुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यलयबाट होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको भन्दै काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको हो । 

ओखलढुङ्गाका डीएसपी सुकदेव खनालले अध्यक्ष उम्मेदवार विष्टविरूद्ध काठमाडौं प्रहरी परिसर र भक्तपुर जिल्ला अदालतबाट पक्राउका लागि पत्र आएको जानकारी दिए पनि उनलाई पक्राउ गर्ने आँट गरेका छैनन् ।

भक्तपुर जिल्ला अदालतले सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा  विष्टलाई जेल सजाय सुनाएको छ । यस्ता विवादित ब्यक्तिलाई एमालेले अध्यक्षका उम्मेदवार बनाएकोविरुद्व उजुरी परे पनि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थिएन ।

त्यस्तै टोखा नगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका प्रकाश अधिकारी उच्च अदालत पाटनबाट सहकारीको नाममा २ सय २ जनालाई ठगी गरेको अभियोगमा दोषी ठहर गरेका व्यक्ति हुन् । 

उनलाई उच्चले २०७५ फागुन १९ मै ठग ठहर गरेको हो । उनीसहितले नाङ्लो दीप सेभिङ एन्ड क्रेडिट को अपरेटिभ प्रालि मार्फत निक्षेपकर्तालाई ठगी गरेको ठहर गर्दै अदालतले एक महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ बुझाउन फैसला गरेको थियो। 

उनी टोखाका निवर्तमान मेयरसमेत हुन । उच्चको फैसलाको विरुद्धमा उनी सर्वोच्च अदालतमा पुनरावेदन गएका छन् । तर उनको पुनरावेदनमा फैसला भइसकेको छैन । उनको मुद्धा अहिले सर्वोच्च अदालतमा पनि रहेको छ । 

तत्कालीन गोंगबु गाविस वडा नम्बर ६ मा रहेको नाङ्लो दीप सेभिङ एन्ड क्रेडिट सञ्चालन गर्ने सञ्चालकविरुद्ध २०७१ मा जाहेरी परेको थियो । जाहेरी दिनेमा अप्सरा पौडेल, प्रदीपकुमार बन्जारा लगायत २ सय २ जना थिए। 

उनीहरूले सुवासचन्द्र बीसी, धनमाया श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह, देउमाया लिम्बु र प्रकाश अधिकारीविरुद्ध जाहेरी दिएका थिए । 

जाहेरीमा आकर्षक ब्याज दिने, तीजमा साडी उपहार दिने लगायतका प्रलोभनमा पारेर रकम जम्मा गर्न लगाएर सहकारीमार्फत १ करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ ठगी गरेको उल्लेख थियो । तर उनी निर्वाध रुपमा मत मागिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ